अमेरिका, अमेरिकी सङ्घीय सरकारको लामो ‘शटडाउन’ (सरकारी कामबन्दी) को प्रत्यक्ष असर हवाई सेवामा देखिएको छ। सरकारी एजेन्सीहरूले वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि शनिबार मात्रै अमेरिकाभरि १,४०० भन्दा बढी उडान र अवतरण रद्द भएका छन् ।
फ्लाइट ट्र्याकर ‘फ्लाइटअवेयर’का अनुसार, शनिबार करिब छ हजार उडानहरू ढिलाइ भए भने त्यसअघि शुक्रबार पनि सात हजारभन्दा बढी उडान प्रभावित भएका थिए। यसरी लगातार उडान प्रभावित हुँदा यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ।
एफएएद्वारा उडान कटौतीको घोषणा
सङ्घीय उड्डयन प्रशासन (एफएए) ले साताको सुरुमै देशका ४० वटा व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म हवाई सेवा कटौती गर्ने घोषणा गरेको थियो। एफएएका अनुसार, एयर ट्राफिक कन्ट्रोलरहरूले शटडाउनका कारण बिना तलब काम गर्नुपरेको छ। उनीहरूको कामको बोझ र अत्यधिक शारीरिक तथा मानसिक थकान लाई ध्यानमा राखेर हवाई सुरक्षा कायम राख्नका लागि यो कटौती गर्नु परेको हो ।
यातायातमन्त्री सन डफीको भनाइ: “हामीले व्यस्त विमानस्थलमा निजी विमान उडान घटाएका छौँ – त्यसको साटो निजी जेटहरूले साना विमानस्थल वा एयरफिल्डहरू प्रयोग गर्छन् ताकि व्यस्त कन्ट्रोलरहरूले व्यावसायिक उड्डयनमा ध्यान केन्द्रित गर्न सकुन्।”
विमानस्थलमा यात्रुको लामो प्रतीक्षा
‘थ्याङ्क्सगिभिङ’ बिदा (नोभेम्बर २७) नजिकिँदै गर्दा यो वर्षभरिकै सबैभन्दा धेरै यात्रा हुने समय हो। यस्तो बेला उडान रद्द हुँदा यात्रुको यात्रा योजना बिग्रिएको छ।
अमेरिकन एयरलाइन्स ले विज्ञप्ति जारी गर्दै नेताहरूलाई शटडाउन अन्त्य गर्न तत्काल सहमतिमा पुग्न आग्रह गरेको छ । न्यु जर्सी अन्तर्राष्ट्रिय विमानस्थल मा शनिबार अवतरण सरदर चार घण्टा र उडान औसत डेढ घण्टा ढिलो भएको थियो । एटलान्टा र न्युयोर्कका अन्तर्राष्ट्रिय विमानस्थलमा पनि एकदेखि तीन घण्टासम्म उडान ढिलो भएका छन् । ‘फ्लाइटअवेयर’का अनुसार न्युजर्सी, सिकागो र नर्थ क्यारोलाइनाका विमानस्थलमा शनिबार सबैभन्दा बढी उडान रद्द भएका छन् ।
‘शटडाउन’को कारण: राजनीतिक गतिरोध
यो वर्तमान ‘शटडाउन’ अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म चलेको छ । अक्टोबर १ तारिखदेखि जारी रहेको यो गतिरोध अन्त्य गर्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट पार्टीबीच गहन विभाजन कायम छ।
माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल भएपछि ‘गभर्न्मन्ट शटडाउन’को अवस्था उत्पन्न भएको हो, जसले गर्दा धेरै सरकारी कामकाज अस्थायी रूपमा स्थगित भएका छन् । रिपब्लिकन र डेमोक्र्याटबीचको विवाद: राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टी बजेटसम्बन्धी विधेयकलाई कुनै थपघट नगरी पारित गर्न चाहन्छ। तर विधेयक पारित हुन सिनेटमा ६० सदस्यको समर्थन आवश्यक पर्छ । ५३ रिपब्लिकन मात्र हुँदा डेमोक्र्याटको सहयोग अनिवार्य छ ।
डेमोक्र्याटको अडान: डेमोक्र्याटिक पार्टीले यसलाई मौकाको रूपमा लिँदै स्वास्थ्य सेवासहितका विषयमा आफ्ना एजेन्डा स्वीकार गर्न सरकारलाई दबाब दिएको छ। ट्रम्प सरकारले मेडिकएड, सीडीसी र न्याश्नल इन्स्टिट्यूट अफ हेथलगायत स्वास्थ्य निकायको बजेटमा गरेको कटौती उनीहरूलाई मान्य छैन।
शटडाउनले हवाई सेवाका साथै खाद्य सहायता भुक्तानीमा समेत कटौती गरेको छ, जसले गर्दा थुप्रै अमेरिकीहरूको जनजीवन प्रभावित भएको छ। यस गतिरोधको अन्त्यका लागि अमेरिकी सिनेटरहरू सप्ताहान्तमा पनि छलफलमा व्यस्त छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend