वाशिङ्टन, अमेरिका । एक फेडरल (संघीय) न्यायाधीशले बिहीबार ट्रम्प प्रशासनलाई आगामी शुक्रबारसम्म पुरक पोषण सहायता कार्यक्रम (SNAP) का लागि पुर्ण कोष उपलब्ध गराउन आदेश दिएका छन् ।
अमेरिकी जिल्ला न्यायाधीश जोन जे. म्याककोनेल जूनियरले प्रशासनको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै भने, “मानिसहरू धेरै लामो समयदेखि वञ्चित छन्, उनीहरूलाई एक दिन पनि भुक्तानी बिना राख्नु अस्वीकार्य छ ।”
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सरकारको बन्द (shutdown) अन्त्य नभएसम्म SNAP कोष रोक्ने मनसाय व्यक्त गरेका थिए। तर, न्यायाधीश म्याककोनेलले यो कदमलाई अदालतको आदेशको स्पष्ट अवज्ञा भएको बताए।
गत हप्तामा उनले सरकारलाई नोभेम्बर १ का लागि आकस्मिक कोष प्रयोग गरी SNAP भुक्तानी समयमै गर्न आदेश दिएका थिए। तर प्रशासनले बाल पोषण कार्यक्रमका लागि रकम बचाउने कारण देखाउँदै आंशिक कोष मात्र उपलब्ध गराएको थियो।
म्याककोनेलले भने, “नोभेम्बर महिनाको SNAP कोष बिना १ करोड ६० लाख बालबालिकाले भोकै बस्नुपर्ने स्थिति आउन सक्छ, जुन अस्वीकार्य छ। अमेरिकामा यस्तो कहिल्यै हुनु हुँदैन।”
वादी पक्षका वकिलले प्रशासनले राजनीतिक स्वार्थका कारण अदालतको आदेश अवज्ञा गरेको आरोप लगाएका छन्। न्यायाधीश म्याककोनेलले पनि प्रशासन र ट्रम्प आफैंमाथि राजनीतिक कारणले SNAP लाभ रोकिएको भन्दै तीव्र आलोचना गरे।
उनले थप स्पष्ट पारे कि बाल पोषण कार्यक्रमहरू मे महिनासम्मका लागि पर्याप्त कोषित छन्, त्यसैले SNAP रोक्नुको कुनै औचित्य छैन। उनका अनुसार SNAP का लागि करिब ४ अर्ब डलर छुट्याए पनि बाल पोषणका लागि अझै १९ अर्बभन्दा बढी कोष बाँकी रहन्छ।
म्याककोनेलले प्रशासनको कदमले लाखौं अमेरिकीहरूलाई “अपुरणीय क्षति” पुर्याइरहेको टिप्पणी गरे। यसबीच, न्याय विभाग (DOJ) ले उक्त आदेशविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend