सिक्किम । भारतको सिक्किम उच्च अदालतले नेपाली वर्णमालाको मौलिक शुद्धता र पहिचान जोगाउन महत्त्वपूर्ण आदेश दिएको छ। अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरूलाई पुनस्र्थापना गरी तिनको प्रयोग अनिवार्य गर्न भनेको छ।
के थियो आदेश?
मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले नेपाली वर्णमालाबाट हटाइँदै लगेका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरूको प्रयोग विद्यालय, विश्वविद्यालय, पत्रिका तथा साहित्यिक कृतिहरूमा अनिवार्य गर्न आदेश दिएको हो।
निवेदक अवकाशप्राप्त शिक्षक तथा साहित्यकार धनराज गुरूङले यी अक्षरहरू हटाउँदा भाषिक शुद्धता र पहिचानमा असर परेको भन्दै ७ अगस्त २०२५ मा रिट दायर गरेका थिए।
उच्च अदालतको तर्क:
अदालतले भाषा केवल सम्वादको माध्यम मात्र नभई ‘पहिचान र संस्कृतिको आधार’ पनि भएकाले नेपाली वर्णमालाको संरक्षण गर्न जरुरी रहेको ठहर गरेको छ।
अदालतको आदेश कार्यान्वयन गर्न र पाठ्यक्रमहरूमा ती अक्षरहरूको सही प्रयोग सुनिश्चित गराउन नेपाली भाषाविज्ञहरू सम्मिलित ६ सदस्यीय एक उच्चस्तरीय कमिटी पनि गठन गरिएको छ।
यस आदेशलाई कतिपयले सम्पूर्ण नेपाली भाषीको जितको रूपमा लिएका छन् भने कतिपयले आधुनिक भाषा शिक्षणको अधिकारमा हस्तक्षेप भएको भन्दै विरोध पनि गरेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend