वासिङ्टन – राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आगामी महिना साउदी अरबका युवराज मोहम्मद बिन सलमानको अमेरिका भ्रमणको तयारी गरिरहेको छ । योजनासँग परिचित स्रोतहरूका अनुसार, यो ट्रम्पको दोस्रो कार्यकालमा कुनै विदेशी नेताको पहिलो राजकीय भ्रमण हुनसक्छ ।
अमेरिकी अधिकारीहरूका अनुसार, ट्रम्प र युवराज सलमानबीच सो भ्रमणका क्रममा हस्ताक्षर गर्न वा साक्षी राख्नका लागि सम्झौताहरूको एक प्याकेज तयार गर्ने काम भइरहेको छ । भ्रमण अस्थायी रूपमा नोभेम्बर १७ देखि १९ सम्मका लागि तय भएको छ, यद्यपि यसको समय र अवस्था परिवर्तन हुन सक्छ ।
यो प्रस्तावित भ्रमण, इजरायलले कतारमा हमास नेताहरूमाथि गरेको आक्रमणबाट क्रुद्ध खाडी अरब राष्ट्रहरूसँग सम्बन्ध सुधार्ने ट्रम्पको प्रयासको महत्त्वपुर्ण हिस्सा हो ।
यस भ्रमणलाई सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासभित्र पत्रकार जमाल खशोग्गीको हत्या भएपछिको युवराज सलमानको पहिलो अमेरिकी भ्रमणका रूपमा हेरिएको छ । अमेरिकी गुप्तचर निकायहरूले युवराज सलमानले नै हत्याको निर्देशन दिएको हुनसक्ने बताए पनि उहाँले यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको छ ।
ट्रम्प प्रशासनले इजरायल र केही अरब राष्ट्रहरूबीचको सम्बन्ध सामान्य बनाउने ‘अब्राहम सम्झौता’ मा साउदी अरबलाई पनि ल्याउन चाहेको छ। गाजामा भएको युद्धपछि ट्रम्पले गरेको नाजुक युद्धविरामले अब साउदी अरबलाई यस सम्झौतामा ल्याउन सकिने नयाँ आशा जगाएको छ।
भ्रमणका क्रममा हस्ताक्षर हुने सम्झौताहरूको विस्तृत विवरण तत्काल स्पष्ट नभए पनि धेरैजसो सम्झौता वाणिज्य र व्यापार सम्बन्धी हुने अपेक्षा गरिएको छ। साउदीहरूले लामो समयदेखि चाहेको द्विपक्षीय सुरक्षा सम्झौता बारे पनि छलफल भइरहेको अधिकारीहरूले बताएका छन् ।
Photo: Social Media
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend