(आत्माभिव्यक्ति)
मानिसहरू निबन्ध किन लेख्छन् मलाई थाहा छैन, तर आफैले चाँहि किन निबन्ध लेखेँ त्यो थाहा हुने नै भयो । मन–मस्तिष्कमा अचानक आउने स्ट्रोक्सका कारण पैदा भएका तरङ्गहरु मेरा निबन्धमा अभिव्यक्त भएका छन् । त्यस्ता तरङ्गहरुले निर्बाध निकास खोज्दा रहेछन्, अन्तरबाट अटेसमटेस हुर्रिएर, छचल्किएर, वयेलिएर, मडारिएर आएका तरङ्गहरुमध्ये केही उठाएर अक्षरमा राखेको हुँ, सबै उठाउन न शब्दले सम्मति दिए, न मेरो सामर्थ्यले ।
मेरा लागि निबन्ध भावनाको निर्बाध प्रवाह हो । भावनाहरू स्वच्छन्द दौड मारेर मनमजेरीबाट अक्षरसम्म आइपुगेका हुन् । यसो भन्दैमा यसको संरचना हुँदैन भन्न खोजिएको होइन । यसका निश्चित संरचना, सिद्धान्त, विधि र विचारहरू छन् । तर संरचनाले भावनालाई छेक्यो भने निबन्ध निर्बन्ध दौडिँदैन । त्यसैले निबन्धमा संरचना र सिद्धान्तभन्दा शैली प्रधान हुन्छ । मनका झोक्कालाई मनैदेखि उठाउन सकेपछि मात्र तिनमा अपनत्व र अन्तरवोध हुन्छ । यी नै कुरा मेरा निबन्धका प्रधान भए ।
मोन्तेनले भने झैँ निबन्ध मार्फत निबन्धकार नै स्वाभाविक रूपमा पोखिएको हुन्छ । उनले भनेका थिए–मेरा इच्छा के हुन्छ भने म आप्mना निबन्धमा विना आडम्बर सहज र साधारण तरिकाले रूपायित होऊँ । त्यसमा कुनै किसिमको बाकपटुता वा कृतिम कलात्मकता सजाउन चाहन्न । मेरा निबन्धको विषय म नै हुँ ।’ आफूलाई व्यक्त गर्न मोन्तेन अरू कुरालाई उधृत गर्न पछि पर्दैनन् । फ्रान्सिस बेकन संक्षिप्त, सूत्रात्मक, सूक्तिबद्ध र बिम्बात्मक अभिव्यक्तिका साथ निबन्ध लेख्छन् । नारी अन्तरचेतकि विशिष्ट साधक भर्जिनिया उल्फ निबन्धमार्फत अन्तर्दृष्टि र संवेगहरू पोखेर मुक्तिमार्गको खोजी गर्छिन् । लक्ष्मीप्रसाद देवकोटा एउटा विषय विम्बमा टेकेर भावको अथाह यात्रा गर्छन् र केन्द्रस्थमा आएर विलीन हुन्छन् । मेरा निजात्मक भावभूमिका निबन्धहरूमा पनि त्यसै गरी आत्माभिव्यञ्जना गरेको छु भन्ने लाग्छ । म भन्छु निबन्ध सललल्ल बग्नु पर्छ, पर्वतबाट समथरतिर बगेको खोला जस्तै । मनका भावहरू अक्षरमा तैरिएर सललल्ल वगुन । बिम्ब, उपमा—उपमेयका योजनले निबन्धलाई सलल्ल बग्ने बनाओस् र स्वच्छन्दतामा पैयाँ ठोकोस् । शव्दभार, बाक्यविन्यास र कथानकले बहावमा बाँध लगाउनु हुन्न । त्यसो गरिए निबन्धको खास चरित्र नै मर्न गै अरू नै केही वा प्रबन्ध बन्न सक्छ ।
तर प्रस्तुति, बिम्ब, भाव सादृश्यता, शिल्पसौन्दर्य र विधिविधानमा निवन्धकारहरु कलास्वायत्तताको औधी उपयोग गर्छन् । निजात्मक र भाव प्रधान निबन्धमा यो स्वायत्तता अरू विस्तृत हुन्छ । अक्षरले बोकेको मनले स्वायत्तता र निजत्वको भरपुर उपयोग गर्न सकेको छ छैन पाठक–समालोचकले भन्ने हो । आफैले भन्दा केही निबन्ध पूर्वदिप्तीको स्मृति स्पर्शमा छन्, केहीमा विचार र विचरणहरू छन्, जसले स्वायत्तता र स्वच्छन्दतालाई साँघु¥याएको पनि हुन सक्छ । तर मनमस्तिष्क झोक्काले सिर्जना गरेका तरङ्ग टिप्नै पर्ने आत्म आग्रहले पनि म धेरै तरङ्गित हुन सकिन । प्रवेश सङ्गति मिलाउन भन्दा अप्रत्याशित प्रवेशले अन्तर मनलाई स्पर्श गरोस भन्ने पनि चाहेको छु । विषयले विचार दिने कि भावनाको उन्मुक्त उडान गर्ने ? दर्शन दिने मनमस्तिष्कमा रमाउने ? सोचेर निबन्धहरू लेखिएका छैनन् । कति मन र कति मस्तिष्क राख्ने, कति विचार र बयेली राख्ने सचेत मानस चित्र विना नै निबन्ध लेखिएका छन् । खास समय मनले झोक्का पाएर उब्जिएका तरङ्गलाई सादा रूपमा उठाएको छु ।
अक्षर आकृति, सङ्केत, तरङ्ग र अभिव्यक्ति हुन् । अक्षर अर्थ र आफैमा मन्त्र हुन् । ‘अक्षरको मन’ अन्तर्मनको मानिस हो, अर्थ र अभिव्यक्ति हो । अभिव्यक्ति नबोक्दा पनि अक्षर मनको विम्ब हो, सधैँ जीवन व्यक्तिन कहाँ सक्छ र ? अक्षर जीवन हो । अक्षर चैतन्य हो, ब्रह्म हो ।
अचेल अन्य विधामा नअटेका गैर आख्यानहरू सबैलाई निबन्धभित्र समेट्ने प्रवृत्ति पनि छ । नियात्रा, जीवनी, वृत्तान्त, स्मरण, लेख र कथाहीन प्रस्तुति सबैलाई निबन्ध भनेर निबन्धको परिभाषालाई विस्तार गर्ने र अर्थवत्तालाई भने संकुचन गर्ने प्रवृत्ति पनि छ । आख्यान निरपेक्ष लेख निबन्ध हो भन्न हुन्छ कि हुन्न बहसको विषय हो । मुख्य कुरा के हो भने निबन्धको अर्थवत्ता र परिभाषालाई आघात पार्नु हुन्न । जे हो त्यही भनिदिन किन नहुने ?
वैयक्तिकता, निजात्मकता, आत्माभिव्यञ्जना, बौद्धिकता, विचार प्रधानता निबन्धका आधार तत्त्व हुन् । निबन्धमा भावको सघनता हुनै पर्छ, संवेदना र अनुभूतिको सहजता हुनैपर्छ । अभिव्यक्तिमा सङ्गति र सुष्पष्टता हुनै पर्छ । अन्यथा निबन्धले जीवन पाउँदैन ।
मेरो पहिलो निबन्ध अवसाद अभिनयी (२०४०) उद्दाम रहरको परिणाम थियो । अपेक्षा र अनुभूति (२०७४) मा सामयिकता र संवेगको सरोबरी छ । घाउ आफैलाई दुख्छ (२०७८) मनभित्रका स्वच्छन्द यात्राको तरेली, संवेग–आवेगको मेलानकोली हो । आँखाभरि रमिता मनभरि वेदना (२०६३) र ‘अस्ट्रेलिया–न्यूजिल्याण्डको यात्रा र प्रिन्सेस क्रुजको सानो विश्व’ का धारावाहिक प्रकाशन (२०८०) नियात्रा थिए । रहरले लेख्दा, विचारमा लेख्दा, संवेगमा लेख्दा निबन्धका सार, शैली र संरचनाहरू फरक हुने नै भए । ‘अक्षरको मन’ मनले लेखेँ, मस्तिष्कले लेखेँ । कुनै निबन्धमा मन बढी होला त कुनैमा मस्तिष्क । दुईबीच संयोजित सन्तुलन कायम गर्न सावधान कति रहेँ, यहाँहरूले नै भन्नु हुने छ । अव यो यहाँहरूको हो ।
पछिल्ला समयमा कथा, समालोचना र विचारका सिर्जनातर्फ लागेँ तर निबन्धप्रतिको मेरो अगाध स्नेह छ । निबन्धमा म आफू निर्बाध खुल्न पाउँछु, खेल्न पाउँछु र ससाना कुरालाई अन्तरमनमा फैलाएर प्रकृतिमा पोख्न पाउँछु । अन्तमा साहित्यानुरागी पाठकहरूबाट सदाझैँ माया पाउने विश्वास लिएको छु ।
ज्येष्ठ, १५, २०८२
मैनाली निवास
क्षितिज मार्ग, शङ्खमूल ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend