अरोरा, कोलोराडो – संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित अरोरा-सेण्टिनियल क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले हिजो शुक्रवार साँझ भव्य देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उत्साहजनक रूपमा सम्पन्न गरेको छ । स्थानीय नेपाली संस्कृतिलाई जगेर्ना गर्ने र सामुदायिक ‘नेपाली घर’ (नेपाल सांस्कृतिक केन्द्र) का लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ आयोजित सो कार्यक्रम साँझ ६ बजे सुरु भई राती ९:३० बजे समापन भएको थियो ।

कार्यक्रमको सुरुवात स्थानीय नेपाली स्कुल पाठशालाका विद्यार्थीहरूले नेपाली राष्ट्रिय गान प्रस्तुत गरेर गरिएको थियो । राष्ट्रिय गानले उपस्थित सबैलाई देश प्रेमको भावनाले जोडेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रम संयोजक राज ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य ‘नेपाल सांस्कृतिक केन्द्र’ (नेपाली घर) का लागि आर्थिक सहयोग जुटाउनु रहेकोमा सो बारे नेपाली घरका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गङ्गा चौलागाईंले प्रस्ट पारेका थिए । उनले नेपाली संस्कृति, भाषा र पहिचानलाई भावी पुस्तामा हस्तान्तरण गर्नका लागि तथा समुदायको साझा थलोको रूपमा नेपाली घरको स्थापना किन आवश्यक छ र यसका लागि किन आर्थिक सहयोग चाहिएको हो भन्ने बारेमा विस्तृत जानकारी दिएका थिए ।
देउसी-भैलो कार्यक्रम विभिन्न मनमोहक सांस्कृतिक प्रस्तुतिहरूले भरिपुर्ण थियो । यस क्रममा गायक श्याम घिमिरेले लोक गीत प्रस्तुत गरेर सबैलाई नचाएका थिए । देबाश्री बस्यालको समुहले मौलिक भैलिनी गीत प्रस्तुत गरेका थिए भने ओजस्वी र सर्बग्यको नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो भने सानभि पन्त, विभा लुइटेल र सदिक्षा बगालेको सामुहिक नृत्य पनि निकै आकर्षक रहेको थियो । गायक मनोज तुलाधरले नारायण गोपालको गीतको धुन सेक्सोफोन (saxophone) बाट बजाएका थिए ।

यस कार्यक्रमको विशेष आकर्षण ८५ वर्षीय ज्येष्ठ नागरिक उत्तरा श्रेष्ठको साङ्गीतिक प्रस्तुति थियो । उनको जोशपुर्ण गीतले सबैलाई उत्साहित बनाएको थियो । उनलाइ हारमोनियममा गायक मनोज सिवाकोटिले साथ दिएका थिए। साथै, दीपक गौतमले देउसी-भैलो गीत प्रस्तुत गरेका थिए भने अनया कार्कीको नृत्य र योगराज गौतम समुहको देउसी प्रस्तुतिले कार्यक्रमलाई पुर्णता दिएको थियो । भैलो र देउसी सामुहिक गीतमा हार्मोनियममा गायक मनोज सिवाकोटी र मादलमा श्याम घिमिरेले साथ दिएका थिए।

कार्यक्रममा ९३ वर्षीय ज्येष्ठ नागरिक तथा समाजसेवी रामप्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो, जसले समुदायमा ज्येष्ठ नागरिकहरू प्रति सम्मान र संस्कृतिको निरन्तरताको महत्त्व दर्साएको थियो ।
कार्यक्रमलाई नेपाली घरका कोशाध्यक्ष राजु खनालले सहज र रोचक ढङ्गले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी कलाकारहरूलाई समाजका विभिन्न अगुवाहरूबाट प्रमाणपत्र पनि वितरण गरिएको थियो।

सामुदायिक भावना र उदारताको नमुना प्रस्तुत गर्दै उक्त कार्यक्रमबाट जम्मा $६,४४८ (छ हजार चार सय अठचालीस डलर) चन्दा सङ्कलन भएको आयोजकले जनाएको छ। कार्यक्रममा भएको खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम नेपाली घर (नेपाल सांस्कृतिक केन्द्र) को लागि प्रयोग गरिनेछ।

यस सफल कार्यक्रमले अरोरा सेण्टिनियल क्षेत्रका नेपालीहरू बिचको एकता, संस्कृति प्रेम र सामुदायिक विकासप्रतिको समर्पणलाई उजागर गरेको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend