बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दक्षिणी चीनमा तुफान ‘माट्मो’ ले २.७१ लाख मानिसलाई गर्‍यो विस्थापित

दक्षिणी चीनमा तुफान ‘माट्मो’ ले २.७१ लाख मानिसलाई गर्‍यो विस्थापित

40
Shares
40
Shares

काठमाडौं । दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

२०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै दक्षिण चीनका विभिन्न क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

ग्वाङ्डोङ मौसम सेवा अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय न्यूनतम वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो । आँधीको प्रभावका कारण ग्वाङ्डोङले आफ्नो तुफान आपतकालीन प्रतिक्रिया प्रणालीलाई सबैभन्दा उच्च स्तरमा बढाएको छ ।

राष्ट्रिय दिवस र मध्य–शरद उत्सवको आठ दिने विदा आइतबार पाँचौँ दिनमा प्रवेश गर्दा रेलवे प्राधिकरणले यात्रु सुरक्षाका लागि रेल मार्गमा अस्थायी परिवर्तन, सञ्चालन स्थगन लगायतका कदम चालेको छ ।

ग्वाङ्सी झुवाङ स्वायत्त क्षेत्रमा सबै तटीय यात्री डुङ्गा मार्गहरू बन्द गरिएका छन् । उक्त क्षेत्रमा रहेको वेइझोउ टापुबाट करिब २६ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । त्यहाँका तटीय आयोजना र बन्दरगाहका काम पनि रोकिएका छन् ।

ग्वाङ्सी समुद्री प्रशासनले आइतबार बिहानै सबैभन्दा उच्च स्तरको आपतकालीन प्रतिक्रिया सक्रिय गर्दै २० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाह फर्काएको छ भने ८८९ वटा अन्य जहाजलाई बन्दरगाहमै सुरक्षित गरेको छ ।

हाइनान प्रान्तमा मात्र आइतबार दिउँसोसम्म १ लाख ९७ हजारभन्दा बढी नागरिकलाई उच्च जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । हाइनानका पानी आपूर्ति विभागहरूले बिजुली आपूर्ति सुनिश्चित गर्न ३ हजार ९०० भन्दा बढी आपतकालीन जेनेरेटर, तेल, बिजुली उत्पादन गाडी र अन्य सामग्री उपलब्ध गराएको छ ।

हाइकोउ सहरका ७१ वटा होटलहरूले प्रभावित पर्यटकका लागि छुटसहितको सेवा उपलब्ध गराइरहेका छन् । यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले ग्वाङ्डोङ र हाइनानमा आपतकालीन पुनःस्थापना कार्यका लागि देशको केन्द्रीय बजेटबाट २०० मिलियन युआन (करिब २८ मिलियन अमेरिकी डलर) उपलब्ध गराएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend