बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अधिकारको लडाइँ: किन आन्दोलित छन् लद्दाखवासी र सोनाम वाङ्चुक ?

अधिकारको लडाइँ: किन आन्दोलित छन् लद्दाखवासी र सोनाम वाङ्चुक ?

82
Shares
82
Shares

पृष्ठभुमि
चर्चित भारतीय अभियन्ता सोनाम वाङ्चुकको पक्राउपछि भारतको हिमाली क्षेत्र लद्दाख फेरि एकपटक विश्वव्यापी चर्चामा छ। संस्कृति, पर्यावरण र संवैधानिक अधिकारको माग गर्दै सुरु भएको यो आन्दोलनले हिंसात्मक रूप लिएको छ, जसमा चार जनाको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन्।

आन्दोलनको जरो
यो विवाद सन् २०१९ मा भारत सरकारले संविधानको धारा ३७० खारेज गरी जम्मु र कश्मीरको विशेष राज्यको दर्जा खोसेपछि सुरु भएको हो। सोही निर्णयअनुसार लद्दाखलाई जम्मु र कश्मीरबाट छुट्याएर केन्द्र शासित प्रदेश बनाइयो। सुरुमा यस निर्णयको स्वागत गरिए पनि चाँडै नै स्थानीयमा असन्तुष्टि बढ्यो। विधायिका र संघीय प्रतिनिधित्व नहुँदा केन्द्रीय शासनले आफूहरूलाई बेवास्ता गरेको लद्दाखवासीको गुनासो छ।

मुख्य मागहरू के हुन् ?
‘लेह अपेक्स बडी’ (ल्याब) र ‘कारगिल डेमोक्रेटिक एलायन्स’ (केडीए) जस्ता स्थानीय संगठनहरूको नेतृत्वमा लद्दाखले दुई प्रमुख माग अघि सारेको छ:
१. छुट्टै राज्यको दर्जा: स्थानीय प्रतिनिधित्व र निर्णय प्रक्रियामा स्वायत्तता सुनिश्चित गर्न।
२. संविधानको छैटौँ अनुसुचीमा समावेश: यसले आदिवासी क्षेत्रहरूलाई भुमि, वन र सांस्कृतिक पहिचानको संरक्षणका लागि विशेष अधिकार दिन्छ।

सरकारको उदासीनता र वाङ्चुकको अनशन
भाजपा नेतृत्वको केन्द्र सरकारले यी मागहरूमा स्पष्ट जवाफ दिएको छैन। वार्ताका लागि उच्चस्तरीय समिति गठन भए पनि कुनै ठोस प्रगति हुन सकेको छैन। गत मार्चमा गृहमन्त्री अमित शाहले लद्दाखका प्रतिनिधिहरूको मुख्य माग अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी उदासीनतापछि अभियन्ता सोनाम वाङ्चुक आन्दोलनको प्रमुख अनुहार बनेका छन्। उनले लद्दाखको संवैधानिक सुरक्षाको माग गर्दै पछिल्लो तीन वर्षमा पाँच पटक भोक हडताल गरिसकेका छन्।

आन्दोलन कसरी हिंसात्मक बन्यो ?
यस वर्ष ३५ दिने अनशन घोषणा गरेका वाङ्चुकको समर्थनमा स्थानीय युवाहरू पनि सडकमा उत्रिए। सेप्टेम्बर २४ मा लेह सहरमा भएको प्रदर्शन हिंसात्मक बन्न पुग्यो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा चार जनाको मृत्यु भयो र सयौँ घाइते भए।

झडपपछि असोज १० मा वाङ्चुकलाई पक्राउ गरी राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा चलाइएको छ। हाल लेहमा इन्टरनेट सेवा बन्द गरी कर्फ्यु लगाइएको छ।

राजनीतिक आरोप-प्रत्यारोप
यो घटनाले भारतमा राजनीतिक तापमान बढाएको छ। भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो स्थानीय कार्यालयमा आगजनी भएकोमा कांग्रेसलाई दोष दिएको छ र प्रदर्शनलाई विदेशबाट सञ्चालित भएको आरोप लगाएको छ।

अर्कोतर्फ, कांग्रेस नेता राहुल गान्धीले भाजपाले लद्दाखको संस्कृतिमाथि आक्रमण गरेको र शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको बताएका छन्। आम आदमी पार्टी (आप) र जम्मु-कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लाहले पनि वाङ्चुकको गिरफ्तारीको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् । वाङ्चुकको गिरफ्तारीले लद्दाखको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको छ, तर सरकारको अस्पष्ट नीतिका कारण यो आन्दोलन थप जटिल बन्ने देखिन्छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend