मिशिगन, अमेरिका । मिशिगनको ग्रान्ड ब्लान्क (Grand Blanc) सहरमा रहेको ‘चर्च अफ जीसस क्राइस्ट अफ ल्याटर-डे सेन्ट्स’ (Church of Jesus Christ of Latter-day Saints) मा भएको गोलीकाण्ड र आगजनीको घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने थुप्रै अन्य घाइते भएका छन्। ग्रान्ड ब्लान्क डेट्रोइटबाट लगभग 60 माइल (100 किलोमिटर) उत्तरपश्चिममा अवस्थित छ।
प्रहरीका अनुसार, घटना आइतबार बिहान स्थानीय समयअनुसार करिब 10:25 बजे (१५:२५ GMT) भएको थियो, जब चर्चमा सयौँ मानिसहरू प्रार्थना सभामा सहभागी थिए।
ग्रान्ड ब्लान्क टाउनशिपका प्रहरी प्रमुख विलियम रेन्येले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, थोमस ज्याकब स्यानफोर्ड (Thomas Jacob Sanford) नामक 40 वर्षीय एक बन्दुकधारीले चर्चको भवनमा गाडी जोताए र त्यसपछि असल्ट-शैलीको राइफल प्रयोग गरी चर्चभित्र रहेका व्यक्तिहरूमाथि अन्धाधुन्ध गोली चलाए ।
प्रहरी प्रमुख रेन्येका अनुसार, आक्रमणकारीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरी तत्काल घटनास्थलमा पुगेर कारबाही गर्यो र गोलीबारीमा संलग्न ती व्यक्तिसँग दोहोरो भिडन्त भयो। प्रहरीले 10:33 बजे अर्थात् गोलीकाण्ड सुरु भएको आठ मिनेटभित्रै शंकास्पद व्यक्तिलाई चर्चको पार्किङ क्षेत्रमा गोली हानी निष्क्रिय (neutralise) पारेको थियो।
आगजनीका कारण भवनमा ठुलो क्षति पुगेको र अझै केही मानिस बेपत्ता रहेको प्रमुख रेन्येले बताए । उनले आगजनी शंकास्पद व्यक्तिले जानाजानी गरेको हुनसक्ने विश्वास व्यक्त गरे । अधिकारीहरूले यस घटनालाई ‘लक्षित हिंसाको कार्य’ (act of targeted violence) को रूपमा अनुसन्धान गरिरहेका छन्, तर मनसाय (motive) भने अझै खुल्न सकेको छैन ।
एफबीआई (FBI) ले अनुसन्धानको नेतृत्व गरिरहेको छ र डेट्रोइट फिल्ड अफिसका कार्यवाहक विशेष एजेन्ट-इन-चार्ज रूबन कोलम्यानका अनुसार, घटनास्थलमा संकट प्रतिक्रिया टोली (crisis response teams) र बम प्राविधिकसहित 100 जना एफबीआई एजेन्ट परिचालन गरिएको छ। मनसाय पत्ता लगाउनका लागि शंकास्पद व्यक्तिको सम्पत्तिमा खानतलासी र सेलफोन रेकर्डको जाँच भइरहेको छ । यसैबीच, मिशिगन राज्य प्रहरीकी प्रवक्ता किम वेटरले अन्य धेरै स्थानहरूमा आएका बमका धम्कीहरू (bomb threats) लाई पनि अधिकारीहरूले जाँच गरी सुरक्षित घोषणा गरिसकेको जानकारी दिइन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गर्दै यसलाई “संयुक्त राज्य अमेरिकामा क्रिश्चियनहरूमाथि गरिएको अर्को लक्षित आक्रमण” भनी उल्लेख गरेका छन् । अमेरिकी महान्यायाधिवक्ता पाम बन्दी (Pam Bondi) ले पूजास्थलमा भएको यस्तो हिंसालाई “हृदयविदारक र चिसो पार्ने” बताउँदै पीडितहरूका लागि प्रार्थना गर्न आग्रह गरेकी छन्।
मिशिगनका गभर्नर ग्रेटचेन ह्विटमर (Gretchen Whitmer) ले “कहीँ पनि, विशेष गरी पूजास्थलमा हिंसा हुनु अस्वीकार्य छ” भन्दै घटनाको निन्दा गरेकी छन् । मोर्मोन समुदायका एक प्रमुख राजनीतिज्ञ तथा पूर्व अमेरिकी सिनेटर मिट रम्नी (Mitt Romney) ले यसलाई “दुःखद घटना” भन्दै प्रार्थनाका लागि आह्वान गरेका छन् । ‘चर्च अफ जीसस क्राइस्ट अफ ल्याटर-डे सेन्ट्स’ ले पनि हमलामा धेरै व्यक्ति घाइते भएको पुष्टि गर्दै सबैको शान्ति र स्वास्थ्य लाभको लागि प्रार्थना गरेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend