नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज, सेप्टेम्बर १७ मा आफ्नो ७५औं जन्मदिन मनाइरहेका छन्। उनको जन्मदिनको अवसरमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आजदेखि अक्टोबर २ सम्म देशभर विभिन्न सामाजिक कार्यक्रमहरूको आयोजना गरेको छ।
यी कार्यक्रमहरूमा रक्तदान शिविर, सरसफाइ अभियान, स्वास्थ्य जाँच शिविर र वृक्षारोपण लगायतका कार्यहरू समावेश छन्। यसपटक प्रधानमन्त्री मोदीले मध्यप्रदेशको धार जिल्लामा आफ्नो जन्मदिन मनाउने भएका छन्, जहाँ उनले ‘प्रधानमन्त्री मित्र योजना’ अन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। यस परियोजनाले हजारौंलाई रोजगारी दिने अपेक्षा गरिएको छ।
राहुल गान्धीको ‘हाइड्रोजन बम’ को तयारी
यसैबीच, प्रधानमन्त्री मोदीको जन्मदिनकै दिन प्रमुख विपक्षी नेता राहुल गान्धीले राजनीतिक वृत्तमा हलचल मच्चाउने तयारी गरेका छन्। गान्धीले लोकसभामा भारतमा चुनावमा धाँधली हुने गरेको आरोप लगाउँदै आएका छन्।
पछिल्लो समय उनी भोट चोरीको मुद्दामा निकै आक्रामक देखिएका छन्। उनले यसअघि बेंगलुरुको एक सिटमा भएको भोट धाँधलीलाई ‘परमाणु बम’ को संज्ञा दिएका थिए भने अब अर्को ठूलो खुलासालाई ‘हाइड्रोजन बम’ भनेका छन्।
आज गान्धीले देशवासीलाई सम्बोधन गर्दै भोट चोरीसम्बन्धी तथ्यांक र नयाँ प्रमाणहरू सार्वजनिक गर्ने तयारी गरेका छन्। यस खुलासाको प्रभाव कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend