ह्यारिसबर्ग । विश्वभर छरिएर रहेका भुटानीहरूको हक–हित प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल भुट्नीज अर्गनाइजेसन (GBO) को पाँचौँ शिखर सम्मेलन आगामी आइतबार, अगस्ट ३१ मा ह्यारिसबर्गस्थित English Town Historic Venue, 5901 Lenglish Town Road, PA 1712 मा आयोजना हुने भएको छ ।
सम्मेलनका प्रमुख अतिथिका रूपमा GBO का शैक्षिक कार्यक्रम निर्देशक तथा संस्थापक कार्यकारी सदस्य विष्णु अधिकारी रहनेछन् ।
आयोजकले सम्मेलनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पुरा भएको जनाएको छ । स्थानीय स्तरमा भुटानी कम्युनिटी ह्यारिसबर्ग (BCH), एसियाली शरणार्थी एकजुट, VKROA ह्यारिसबर्ग शाखा, ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेसन (GHMO), पेन्सिलभेनिया किरात धर्म संगठन, भुटानी अमेरिकन म्युजिक एसोसिएसन (BAMA) लगायतका संस्थाहरू सह–आयोजकका रूपमा संलग्न छन् । कार्यक्रममा GBO प्रोजेक्ट प्रेजेन्टेसन, न्यु रिपोर्टिङ, विभिन्न देश, राज्य र शहरका अपडेट, सांस्कृतिक प्रस्तुति, विपन्न बालबालिकाका लागि फन्ड राइजिङ लगायत विविध गतिविधि रहनेछन् ।
GBO ले विश्वका विभिन्न कुनामा रहेका भुटानी शरणार्थीहरूको शैक्षिक उन्नयन र अधिकारका लागि निरन्तर अभियान चलाई आएको छ । यस अवसरमा भुटानी अमेरिकन म्युजिक एसोसिएसन (BAMA) को प्रस्तुतिमा सांगीतिक सहकार्य (Musical Collaboration) समेत हुने भएको छ । कार्यक्रमको मुख्य उद्देश्य भनेकै भुटानी शरणार्थी क्याम्पमा रहेका विपन्न बालबालिकाका लागि शैक्षिक सहयोग जुटाउनु रहेको आयोजकले जनाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend