भेनेजुएला । भेनेजुएलामा गएको शक्तिशाली भुकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८९ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म २ हजार ९८० जना घाइते भएका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा २३५ जनाको मृत्यु र ४ हजार ३०० जना घाइते भएको जनाएको थियो। पछिल्लो खोज तथा उद्धार कार्यसँगै मृतकको संख्या उल्लेखनीय रूपमा बढेको हो।
स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्पका धक्का महसुस गरिएको थियो। पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको केहीबेरमै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।
भुकम्पपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। राजधानी काराकास र ला ग्वेइरामा भत्किएका भवनहरूको अवशेषबाट अझै पनि मानिसहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास जारी छ।
यसैबीच, देशका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानिस हराइरहेको खबर प्राप्त भइरहेका छन्। अधिकारीहरूले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend