न्यु योर्क । नेपाली काङ्ग्रेसबाट गण्डकी प्रदेश सभामा मनोनीत सांसद सुनिता थापालाई गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाको कार्यालय, न्युयोर्कमा अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई स्वागत गर्नुभयो ।
सो अवसरमा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्य द्वय सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री,मगर संघका सल्लाहकार कुलदीप राना मगर लगायत उपस्थित हुनहुन्थ्यो ।
सो अवसरमा बोल्दै माननीय सुनिता थापाले आफु नेपाली काँग्रेस पार्टीबाट अपांग र महिलाको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा सांसदको हैसियतले आवाज बुलन्द गरिरहेको बताउनुभयो ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन र यसको समाजसेवा वारे आफुले धेरै कुरा थाहा पाएको र अमेरिका आएर प्रत्यक्ष देखेको बताउँदै प्रवासबाट नेपालीलगायत आप्रवासी र स्थानीय जोकोहीलाई सहयोग र सेवा गरेकोमा प्रशंसा गर्नुभयो ।
सो अवसरमा बोल्दै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेसनले स्थापनाकाल देखी विना भेदभाव जोकोहीलाई सहयोग गरिरहेको, विद्यार्थीहरूलाई खाद्यान्न लगायत अत्यावश्यक सामग्री वितरण गरेको र कोरोना कहरमा स्वयंसेवीको ठुलो जमातसहित स्वास्थ्य क्षेत्रमा अहोरात्र खटेको र न्यु योर्क राज्य र महानगर पालिकाले सम्मान गरेको बताउनुभयो ।
फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामाले गिरिजाबाबुको आदर्श र सहमतिको पथबाटै नेपालमा शान्ति स्थापना भएको र प्रवासबाट पनि आफुहरुले यथाशक्य नेपाल र नेपालीको हकहितमा काम गरिरहेको बताउनुभयो ।
प्रवक्ता रामचन्द्र अधिकारीले माननीय थापाको आँट र साहसले आम युवाहरूमा नयाँ जोस र जागरण ल्याएको बताउँदै वहाँको उच्च प्रगतिको कामना गर्नुभयो। केन्द्रीय सदस्य सुर्य सिंखडाले माननीय थापा आगामी दिनहरूमा पार्टी र समस्त युवाहरूको प्रेरणाको स्रोत वनेको बताउनुभयो ।यसै गरी अर्का सदस्य ध्रुव कुँवर क्षेत्रीले महिला असहाय र अपांग सबैको प्रिय युवा नेतृको रूपमा उदाएको बताउँदै वहाँको उज्वल राजनैतिक भविष्यको कामना गर्नुभयो। मगर संघ अमेरिकाका सल्लाहकार कुलदीप राना मगरले यस फाउन्डेसनको अगुवाइमा हामी सबै नेपाली एक भएर कोरोना कहरका बेला धेरै सामाजिक कार्यहरू गरेको अवगत गराउनु भयो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend