बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपाली व्यक्तित्वहरूलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ले सम्मानित गर्यो

नेपाली व्यक्तित्वहरूलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ले सम्मानित गर्यो

168
Shares
168
Shares

न्यूयोर्क – ‘हामी नेपाली ग्लोबल’ संस्थाले आइतबार न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नौ जना व्यक्तित्व र एक संस्थालाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरेको छ ।

यस अवार्डबाट सम्मानित हुनेमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेखक तथा समाजसेवी पासाङ शेर्पा, अधिवक्ता केशवराज सेडाईं, उद्यमी पासाङ लामा, पत्रकार ऋषि धमला र नेपाली समुदायका लागि कार्यरत संस्था ‘अधिकार’ समावेश छन्।

आयोजकहरूले नेपाली प्रतिभा र देशका लागि समर्पित व्यक्तित्वहरूको योगदानलाई मान्यता दिन यो पुरस्कार प्रदान गरिएको बताए।

कुलमान घिसिङः “उज्यालो नेपाल” को अभियान
अवार्ड ग्रहण गर्दै कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडशेडिङ हुने बेलाको सम्झना गर्दै सहकार्यले यसलाई समाधान गर्न सकिने बताए। उनले भने, “जहाँ बत्ती नै थिएन, त्यहाँ पनि पुर्यायौं। आज हरेक गाउँमा बत्ती पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, हामीले नाफामा परिणत गर्यौं। व्यक्तिगत परिवर्तनले समस्या देखाउँछ, तर समाधान गर्दै जानुपर्छ।” उनले “उज्यालो नेपाल” अभियान सुरु गरेको घोषणा गर्दै सुशासन, गरिबी निवारण, रोजगारी सृजना र निराशालाई आशामा बदल्न आह्वान गरे।

ज्ञानेन्द्र शाहीः “नेपाल फर्किने वातावरण बनाऔं”
सांसद ज्ञानेन्द्र शाहीले नेपाल विश्वको गरिब मुलुकको रूपमा चिनिएको तर यसलाई बदल्न सकिने विश्वास जनाए। उनले भने, “तपाईंहरूको सिप र क्षमतालाई शक्तिमा बदल्नु पर्छ। नेपाल फर्किने वातावरण हामीले नै बनाउनुपर्छ।” उनले वंशजको नागरिकता खारेज नगर्ने माग गर्दै राजनीतिमा सकारात्मक परिवर्तनका लागि आह्वान गरे।

आनी छोइङ्ग डोल्माः “देशको सेवा गर्ने प्रेरणा”
गायिका आनी छोइङ डोल्माले यो पुरस्कारले विदेशमा रहेका नेपालीहरूलाई देशको उन्नतिका लागि प्रेरित गरेको बताइन्। उनले सबैलाई मातृभूमिको सेवा गर्न आग्रह गरिन् ।

‘हामी नेपाली ग्लोबल’ले राजनीति, जाति, धर्म र वर्गभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ। संस्थाका अध्यक्ष अमृत लामा र उपाध्यक्ष सुनिता खत्री लगायतले सम्मान प्रदान गरे। कार्यक्रममा रोचक सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश थिए । यसरी विभिन्न क्षेत्रका नेपाली हिरोहरूलाई अन्तर्राष्ट्रिय मंचमा सम्मानित गरिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend