बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राजु परियारको साङ्गीतिक यात्रा: गाउँको रोधीदेखि अमेरिकाको मञ्चसम्म

राजु परियारको साङ्गीतिक यात्रा: गाउँको रोधीदेखि अमेरिकाको मञ्चसम्म

167
Shares
167
Shares

कोलोराडो । युएस नेपाल टुडे डट कमका लागि कार्यकारी सम्पादक शैलेश पोखरेलले लोकदोहोरी गायक राजु परियारसँग विशेष कुराकानी गर्नुभएको छ । उक्त कुराकानीमा गायक परियारले आफ्नो जीवन यात्रा, सांगीतिक संघर्ष, लोकदोहोरीप्रतिको आकर्षण र वर्तमान अवस्थाबारे खुलेर धारणा राख्नुभएको छ ।

लमजुङ जिल्लाको बेसी सहर नगर पालिका-२ चिसापानीमा जन्मिनुभएका परियार हाल काठमाडौँमा सक्रिय हुनुहुन्छ। गाउँको रोधी, गोठालो संस्कृति, मादल, बाँसुरी र चिलाउने बाजाको माहौलमै हुर्किनुभएका उहाँ लोकसंगीतप्रति बाल्यकालदेखि नै आकर्षित भएको बताउनुहुन्छ । परिवारमा व्यावसायिक रूपमा संगीतमा लाग्ने आफु मात्र भए पनि बुबा–आमा दुवैको स्वर र बाजाप्रतिको लगावले आफुलाई गायक बनाएको उहाँको भनाइ छ ।

जिल्ला र गाउँ स्तरका प्रतियोगिताबाट सुरु भएको उहाँको सांगीतिक यात्रा २०५६ साल जेठ महिनाबाट व्यावसायिक रूपमा अघि बढेको हो । स्वर्गीय सागर बरालीसँग मिलेर गाएको “किसिम कोटमा सरि नाचो” बोलको गीतले नै उहाँलाई स्थापित गराएको स्मरण गर्नुभयो । क्यासेटको साइड ‘बी’ मा रहेको उक्त गीतलाई उहाँ आफ्नो ‘लक्की गीत’ का रूपमा लिनुहुन्छ ।

हालसम्म झन्डै १५ हजारभन्दा बढी गीतहरू विभिन्न स्टुडियो र कम्पनीमार्फत गाइसक्नुभएको बताउँदै परियारले अब संख्या भन्दा गुणस्तरमा ध्यान दिने समय आएको उल्लेख गर्नुभयो । गीत छनोट गर्दा विवादित शब्द र समाजलाई नकारात्मक असर गर्ने विषयबाट टाढा रहने उहाँको स्पष्ट धारणा छ ।

लोकदोहोरी संगीतको अवस्थाबारे बोल्दै उहाँले गाउँको चौताराबाट सुरु भएको लोक भाका आज अमेरिका जस्ता देशसम्म पुग्नु गर्वको विषय भएको बताउनुभयो । अग्रज कलाकारहरूको संघर्षकै कारण आज लोकदोहोरी व्यावसायिक रूपमा स्थापित भएको भन्दै आफुहरू त्यसको ‘ब्याज खाइरहेका’ कलाकार भएको टिप्पणी गर्नुभयो ।

स्टेज, रेकर्डिङ भन्दा प्रत्यक्ष दोहोरीमा मन बढी खुल्ने बताउँदै उहाँले तत्काल शब्द सिर्जना हुनु भगवानको कृपा जस्तै लाग्ने अनुभव पनि साट्नुभयो । प्रत्यक्ष दोहोरीमा शिला आलेसँग धेरै गाएको र एल्बममा बिमा कुमार दुरा, श्यामला गुरुङ, लक्ष्मी न्यौपाने, सिन्धु मल्ल लगायतसँग सहकार्य गरेको जानकारी दिनुभयो ।

नयाँ पुस्ताका कलाकारलाई सन्देश दिँदै परियारले लोकगीत समाजसँग जोडिनुपर्ने र सिर्जनात्मक क्षेत्रमा सोच विचार गरेर मात्र प्रवेश गर्नुपर्ने सुझाव दिनुभयो । “गीत सङ्गीत ठट्टाले होइन, जिम्मेवारीका साथ गर्नुपर्छ,” उहाँको भनाइ छ ।

दर्शक श्रोताको माया नै आफ्नो सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गर्दै उहाँले आफुलाई मार्गदर्शन गर्ने, सचेत गराउने र जोगाउने काम श्रोताले नै गर्ने बताउनुभयो ।

हाल अमेरिका भ्रमणमा रहनुभएका परियार मार्चको पहिलो हप्तामा नेपाल फर्किने तयारीमा हुनुहुन्छ। अन्त्यमा उहाँले जहाँ भए पनि नेपाली पहिचान, देश र राष्ट्रिय झन्डालाई नबिर्सन सबैलाई आग्रह गर्नुभयो ।

  • सम्बन्धित विषय:
    प्रतिक्रिया दिनुहोस

    शैलेश पोखरेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend