वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा अमेरिकाको अघिल्लो संलग्नता र भेनेजुएलामा हालै गरिएको सैन्य कारबाहीबिच तुलना गर्न अस्वीकार गरेका छन्। दुवै घटनाबिचको मुख्य अन्तर तेल नलिइनु र लिइनु भएको उनले बताएका छन् ।
एमएसएनबीसीको ‘मर्निङ जो’ कार्यक्रमका प्रस्तोता जो स्कारबरोसँगको कुराकानी उद्धृत गर्दै ट्रम्पले भने, “इराक र अहिलेको अवस्थाबिचको फरक के हो भने (पुर्वराष्ट्रपति जर्ज डब्ल्यु. बुश) ले तेल राखेनन् । हामी भने तेल राख्नेछौँ ।”
ट्रम्पले सन् २०१६ मै तेल राख्नुपर्ने कुरा उठाउँदा विवाद भएको स्मरण गराउँदै भने, “त्यति बेला धेरै विवाद भयो। तर हामीले तेल राख्नै पर्थ्यो। अहिले हामी भेनेजुएलाका जीर्ण अवस्थामा रहेका तेल पुर्वाधार पुनर्निर्माण गर्नेछौँ र यस पटक तेल हामी नै राख्नेछौँ।”
यी टिप्पणीहरू ट्रम्पले एनबीसी न्युजलाई दिएको अन्तर्वार्तापछि आएका हुन्, जहाँ उनले भेनेजुएलाको पुर्वाधार विकासमा अमेरिकी तेल कम्पनीहरूलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए। उनका अनुसार यो काम १८ महिनाभन्दा कम समयमा सम्पन्न हुन सक्छ।
“यो काम गर्न ठुलो रकम आवश्यक पर्छ,” ट्रम्पले भने, “तेल कम्पनीहरूले लगानी गर्नेछन् र पछि हामीबाट वा तेलबाट हुने आम्दानीमार्फत उनीहरूलाई भुक्तानी गरिनेछ।”
शनिवार भेनेजुएलाको राजधानी कराकसमा भएको अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस पक्राउ परेपछि देशको भविष्य अझै अनिश्चित बनेको छ। मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सोमबार अन्तरिम राष्ट्रपति पदको शपथ लिइन् ।
तर ट्रम्पले भेनेजुएलाको नियन्त्रण अमेरिका नै गर्दै आएको दाबी दोहोर्याएका छन्। एनबीसी न्युजसँग कुरा गर्दै उनले विदेश मन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, ह्वाइट हाउसका उप–प्रमुख स्टिफन मिलर र उपराष्ट्रपति भान्ससहितको टोलीले भेनेजुएलामा अमेरिकी संलग्नताको नेतृत्व गर्ने बताए ।
“यो सबैको संयुक्त समूह हो, सबैसँग आ–आफ्नो विशेषज्ञता छ,” ट्रम्पले भने, “तर अन्ततः जिम्मेवारी मेरो नै हो।”

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend