बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अस्ट्रेलियामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल बन्द; सरकारले आजबाट लागु गर्‍यो कडा नियम

अस्ट्रेलियामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल बन्द; सरकारले आजबाट लागु गर्‍यो कडा नियम

61
Shares
61
Shares

अस्ट्रेलिया । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक कदम आजदेखि लागु गरेको छ। प्रधानमन्त्री एन्थनी अल्बानेजीले बाल सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै यो नीतिले अभिभावकहरूलाई थप सहजता दिलाउने विश्वास व्यक्त गरे।

इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका सबै प्रमुख प्ल्याटफर्मले अब अनिवार्य रूपमा नयाँ कानुन पालना गर्नुपर्नेछ। नियम उल्लङ्घन भएमा अभिभावक वा बालबालिकालाई होइन, प्लेटफर्महरूलाई झन्डै सवा तीन करोड अमेरिकी डलरसम्म जरिवाना गरिनेछ।

सरकारले यो कदम बालबालिकालाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउने प्रयासअन्तर्गत उठाइएको बताएको छ। तर आलोचकहरूले यसले किशोर–किशोरीलाई अझ अनियन्त्रित र जोखिमपुर्ण वैकल्पिक प्लेटफर्मतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।

सिड्नीस्थित सम्वाददाताका अनुसार यो नियम व्यवहारमा कत्तिको प्रभावकारी हुन्छ भन्नेबारे धेरै चासो छ। उमेर प्रमाणीकरण प्रणाली छलिने सम्भावनाप्रति विशेषज्ञहरू चिन्तित छन्। प्रधानमन्त्री अल्बानेजीले पनि प्रतिबन्ध पूर्ण सफल नहुन सक्ने स्वीकार गर्दै, “लागु हुनु नै सफलता हो” भने।

अस्ट्रेलियाकी ई-सेफ्टी कमिश्नर जुली इन्मान ग्रान्टले प्रविधि कम्पनीहरूलाई नयाँ नियम पालना गर्ने क्षमता रहेको विश्वास व्यक्त गर्दै भोलिदेखि नै निगरानी सुरु हुने बताइन्। उनले अझै थप्दै, अन्य देशहरूले पनि अन्ततः अस्ट्रेलियाको यो कदम पछ्याउने विश्वास व्यक्त गरिन्।

सरकारले १० प्रमुख सामाजिक सञ्जाल कम्पनीलाई नियम पालना गर्न निर्देशन दिएको छ। तीमध्ये एक्स (पूर्व ट्विटर) ले नियम लागु हुनुअघि केही घण्टा मात्र पालना गर्ने जनाएको हो । एक्सका प्रमुख इलोन मस्कले यस प्रतिबन्धको खुला रूपमा आलोचना गरेका छन् ।

त्यसमाथि, प्रविधि कम्पनीहरूले सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै बाल सुरक्षा सुनिश्चित गर्न अन्य व्यवहारिक विकल्प अपनाउन सकिने तर्क गरेका छन्। केही किशोर–किशोरीले पनि प्रतिबन्धको सट्टा प्लेटफर्म सफाइ र डिजिटल शिक्षा बढाउनुपर्ने सुझाव दिएका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend