बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बिहार चुनावमा तीव्र मतभेद: घुसपैठ, जंगलराज र बेरोजगारी बने मुख्य मुद्दा

बिहार चुनावमा तीव्र मतभेद: घुसपैठ, जंगलराज र बेरोजगारी बने मुख्य मुद्दा

48
Shares
48
Shares

पटना । बिहीबार सम्पन्न भएको बिहार विधानसभाको पहिलो चरणको मतदानमा साँझ सात बजेसम्म ६४.४६ प्रतिशतभन्दा बढी मत खसिसकेको छ। अन्तिम तथ्याङ्क आएपछि यो प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ। बिहानैदेखि प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी नेता राहुल गाँधीसहित शीर्ष नेताहरूले मतदाताहरूलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका थिए।

त्यो दिन १२१ सिटमा मतदान भइरहेका बेला बाँकी रहेका १२२ सिटका लागि नोभेम्बर ११ मा हुने दोस्रो चरणको मतदानका लागि प्रचार अभियान जोरसँग चलिरहेको थियो। बिहीबारका र्‍यालीमा घुसपैठ, जंगलराज, बेरोजगारी र भ्रष्टाचारजस्ता मुद्दा मुख्य विषय बने।
अमित शाहको प्रहार: ‘घुसपैठीहरू बिहारको रोजगारी खाइरहेका छन्’
मोतिहारीमा आयोजित सभामा केन्द्रीय गृहमन्त्री अमित शाहले भने, उनीहरूको सरकार बिहारबाट सबै घुसपैठीलाई निकाल्नेछ। उनले कांग्रेस नेता राहुल गाँधीमाथि आरोप लगाउँदै भने, “राहुल बाबाले किसान वा युवाका लागि होइन, घुसपैठीहरूलाई बचाउनका लागि पदयात्रा गरेका हुन्।” शाहका अनुसार, लालु यादव र राहुल गाँधी दुबै बिहारमा घुसपैठीहरू ल्याउन चाहन्छन्, जसले गरीब र युवाको हक खोसिरहेका छन्।

निर्वाचन आयोगको विशेष पुनरीक्षणमा करिब ७.८९ करोड मतदातामध्ये ६५ लाखको नाम हटाइएको र २१ लाखभन्दा बढी नयाँ मतदाता सूचीकृत गरिएको थियो। तर, तीमध्ये विदेशी नागरिक कति थिए भन्ने खुलाइएको छैन। यसै सन्दर्भमा शाहले भने, “हामी बिहारबाट एक–एक घुसपैठी निकाल्नेछौं।”

प्रियंका गान्धीको आरोप: ‘दिल्लीबाट चल्छ बिहारको सरकार’
कांग्रेस महासचिव प्रियंका गान्धीले पश्चिमी चम्पारणमा आयोजित सभामा भनिन्, “बिहारको सरकार अहिले दिल्लीबाट चलाइन्छ। नीतीशजी आफैं सरकार चलाउन सकिरहेका छैनन्, किनकि मोदी र अमित शाह उनीहरूमाथि नियन्त्रणमा छन्।” उनले थपिन्, “डबल इन्जिन होइन, यो सिंगल इन्जिन सरकार हो, जसको चाबी दिल्लीमा छ।”

प्रियंकाले बिहारमा उद्योग र रोजगारीको कमीमाथि प्रहार गर्दै भनिन्, “तीन करोडभन्दा बढी बिहारवासी अन्य राज्यमा रोजगारीका लागि जान बाध्य छन्।” उनले मत चोरीको आरोप पनि लगाइन् र निष्पक्ष निर्वाचनको चुनौती दिइन्।

नरेन्द्र मोदीको दाबी: ‘जंगलराजमा शुन्य विकास’
प्रधानमन्त्री नरेन्द्र मोदीले अररिया जिलाबाट सम्बोधनमा लालू यादवको पालालाई “जंगलराज” भन्दै भने, “पन्ध्र वर्षमा विकास ‘निल बटे सन्नाटा’ मात्र भयो।” उनले पटक–पटक जनहित योजनाहरूको कुरा गर्दै भने, “हामीले महिलाहरूका खातामा प्रत्यक्षरूपमा दश–दश हजार रुपैयाँ जम्मा गरिरहेका छौं। भ्रष्ट परिवार सत्तामा भए यो पैसा उनीहरूको तिजोरीमा पुग्थ्यो।”

राहुल गान्धीको प्रतिवाद: ‘असली जंगलराज दिल्लीमा’
राहुल गान्धीले भने, “नीतीशजी जंगलराजको कुरा गर्छन्, तर साँच्चो जंगलराज दिल्लीमा छ।” उनका अनुसार, मोदी र अमित शाहले देशमा “ईडी, सिबिआई र कर विभागको आतंक” फैलाएका छन्। उनले वाचा गरे, “इन्डिया गठबन्धनको सरकार बनेपछि हामी बिहारमा नालन्दा जस्तो विश्वस्तरीय विश्वविद्यालय खोल्नेछौं।”

तेजस्वी यादवको वाचा: ‘प्रत्येक परिवारलाई सरकारी रोजगारी’
आरजेडी नेता तेजस्वी यादवले रामनगरमा भने, “जसको परिवारमा सरकारी जागिर छैन, त्यो परिवारमा म एक जागिर दिनेछु।” उनले स्मरण गराए, “हाम्रो १७ महिनाको सरकारले पाँच लाख सरकारी जागिर दिएको थियो।” उनले हाँस्यात्मक ढङ्गमा भने, “हामीले हेलिकप्टरलाई ट्र्याक्टर बनाएका छौं, दिनमा १८ र्‍याली गर्नुपर्छ।”

नीतीश कुमारको प्रतिवाद: ‘हामीले सबै धर्मका लागि काम गरेका छौं’
मुख्यमन्त्री नीतीश कुमारले नवादामा आयोजित सभामा आफ्नो सरकारको कामको सूची प्रस्तुत गर्दै भने, “हामीले हिन्दू र मुस्लिम दुवैका लागि काम गरेका छौं। मदरसालाई सरकारी मान्यता दियौं, तिनका शिक्षकलाई सरकारी शिक्षकबराबर तलब दियौं, र २००६ कब्रिस्तानको घेराबन्दी ग¥र्यौं।” उनले अघिल्ला सरकारहरूलाई दोष लगाउँदै भने, “त्यो बेला साँझपछि घरबाट बाहिर निस्किन डर लाग्थ्यो, अहिले शान्ति र विकास दुवै आएको छ।”

नीतीशले अन्त्यमा भने, “प्रधानमन्त्री मोदी बिहारका लागि सबै गर्न तैयार छन्, केन्द्र सरकार हाम्रो पूर्ण साथमा छ।”

 

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend