अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्धविराम र बन्दी रिहाइका लागि आफ्नो शान्ति योजनाको ‘पहिलो चरण’ मा सहमति भएको घोषणा गरेका छन्। यसलाई दुई वर्ष लामो युद्धमा एउटा महत्वपुर्ण सफलता मानिएको छ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास आफ्नो शान्ति योजनाको ‘पहिलो चरण’ मा सहमत भएको बताएका छन्। यस सहमतिले युद्ध रोक्न र कम्तीमा केही बन्धक तथा कैदीहरूलाई रिहा गर्न सहयोग पुग्नेछ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “यसको अर्थ सबै बन्धकहरू धेरै चाँडै रिहा हुनेछन्, र इजरायलले आफ्ना सैनिकहरूलाई सहमत लाइनसम्म फिर्ता बोलाउनेछ, जुन बलियो, टिकाउ र सदाका लागि शान्तितर्फको पहिलो कदम हुनेछ।”
एसोसिएटेड प्रेस (एपी) स्रोतका अनुसार, हमासले यो सप्ताहन्तमा २० जना जीवित बन्धकहरू लाई रिहा गर्ने योजना बनाएको छ। यसैबीच, इजरायली सेनाले गाजाका अधिकांश भागबाट फिर्ता हुन सुरु गर्नेछ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा लेखेका छन्, “भगवानको कृपाले हामी तिनीहरू सबैलाई घर फर्काउनेछौं।” हमासले छुट्टै विज्ञप्ति जारी गर्दै सम्झौताले इजरायली सेनाको फिर्ती, सहायता सामग्रीको प्रवेश, र बन्धक तथा कैदीहरूको आदानप्रदान सुनिश्चित गर्ने बताएको छ ।
यो युद्धविराम सम्झौताले हमासको आक्रमणपछि अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लाग्ने विश्वास गरिएको छ । ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend