बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 30, 2026 Thursday

लेखक बन्ने रहर र यथार्थ

लेखक बन्ने रहर र यथार्थ

2.1K
Shares
2.1K
Shares

चुँदीरम्घाको सेरोफेरोमा मेरो बाल्यकाल बित्यो। स्कुल जाने उमेर नहुँदासम्म बाबा जता जानुहुन्थ्यो,उतै पछिपछि लागिन्थ्यो। बाबासँगै खेतबारी पनि घुमियो,बन जङ्गल पनि घुमियो।दाई दिदीसँग गाईबस्तुको गोठालो पनि गइयो। हरेक एकादशीमा घरछेउको ‘आँपको ढुङ्गा’मा हुने एकादशी माहात्म्य पुराण पनि नबिराई सुनियो। गाउँघरमा हुने पूजाआजा, पर्व, जात्रा, समारोहमा जान पनि छुटाइएन। अद्वैत संस्थाका सत्सङ्गहरूमा पनि ध्यानपूर्वक सहभागी बनियो। अरूले स्वस्थानीका रोचक कथाहरू वाचन गरेको देख्दा मलाई पनि त्यसरी नै पढ्न सक्ने हुन पाए कस्तो हुन्थ्यो जस्तो लागेर आउँथ्यो। अनि, दाई दिदीले पढेको लेखेको हेर्दाहेर्दै मैले पनि अक्षर चिनिसकेको थिएँ। फलस्वरूप विसं २०३३ सालमा म चुँदीबेसी प्राविमा एक कक्षामा भर्ना हुन पुगेँ ।

विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलापका विविध कार्यक्रमहरू राखिएका हुन्थे। सांस्कृतिक कार्यक्रम। खेलकुद,साहित्यिक कार्यक्रम सबै समावेश गरिएका हुन्थे। बिस्तारै म पनि सब खाले क्रियाकलापमा सहभागी हुँदै जान थालेँ। हरेक वर्ष असार २९ गते हुने भानु जयन्तीमा हुने रामायण वाचन प्रतियोगिता, कविता प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको रौनक नै बेग्लै हुन्थ्यो। उक्त कार्यक्रममा सहभागी हुन देश देशावरबाट पाल्नुभएका स्थापित लेखक, साहित्यकार,पत्रकार र कलाकारहरू भेट्न पाउँदा र उनीहरूको कुरा सुन्न पाउँदा मन आह्लादित भएर आउँथ्यो। यसले गर्दा मेरो मनमा लेखक ,साहित्यकार र पत्रकार बन्दा मान सम्मान मिल्ने रहेछ भन्ने सोचको विकास भएको थियो।

चुँदीबेसी प्रावि र भानु संस्कृत निमावि नजिकै भानु स्मृति भवन बनिसकेको थियो। उक्त भवनको एउटा कोठामा भानु पुस्तकालय रहेको थियो जुन अद्यापि छदैछ। विसं २००८ सालमा स्थापना भएको उक्त पुस्तकालयमा हामी फुर्सदको समयमा गएर पत्रपत्रिका र साहित्यिक कृतिहरू पढ्ने गरिन्थ्यो । उक्त पुस्तकालयमा रु २ तिरेर सदस्य बन्न पाइन्थ्यो र रेफेरेन्समा भएका पुस्तक बाहेक अन्य किताबहरू एक हप्तासम्मको लागि लिएर जान पाइन्थ्यो। साथै विद्यालयका साथीभाइहरू सबैले आफूसँग भएका किताबहरू मलाई पढ्न दिने गर्दथे।

सानैदेखि खेल्नभन्दा लेखपढ गर्न र रेडियो सुन्न मन पराउने मेरो बानी थियो । स्कुलमा युनिसेफले दिएको एउटा रेडियो थियो। दिउसो २ बजेपछि स्कुल प्रसारण कार्यक्रम आउँथ्यो। साथै हाम्रो घरमा पनि रेडियो थियो। म भने ५ बजेपछि आउन बाल कार्यक्रम ७ बजे आउने समाचार र लगत्तै आउने घटना र विचार कार्यक्रम नियमित रूपमा सुन्ने गर्थेँ । साथै, को भन्दा को कम, बाल कार्यक्रममा आफ्ना रचनाहरू पनि हुलाक मार्फत पठाउने गर्थेँ । रेडियोमा आफ्नो नाम बज्दा म खुसीले उफ्रने गर्थेँ ।

त्यो बेला भानु जयन्तीमा सहभागी कविहरूको रचना र विविध लेख रचना समावेश गरेर चुँदीरम्घा भन्ने स्मारिका निस्कन्थ्यो। उक्त स्मारिकाको सम्पादन श्री आचार्य र विधान आचार्यले गर्नुहुन्थ्यो। अहिले त आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले विविध कार्यक्रम गर्ने र भानु जन्मस्थलको विकास गर्ने जिम्मा पाएको छ। यस क्रममा आदिकवि भानुभक्त नामक चलचित्र पनि निर्माण भैसकेको छ।

तीन कक्षासम्म चुँदीबेसी प्राविमा र सात कक्षासम्म भानु संस्कृत निमाविमा पढेपछि माध्यमिक तहमा भर्ना हुन म चन्द्रावती माविमा पुगेँ। त्यहाँ नेपाल जुनियर रेडक्रस सर्कल भन्ने संस्था थियो। समाजसेवा र परोपकारी काममा जुट्ने उक्त संस्थाको पदाधिकारी भएर काम गर्ने मेरो रहर पनि सजिलै पूरा भयो। विद्यालयमा हामीले स्टुडेन्ट्स् प्लेटफर्म नामक भित्ते पत्रिका प्रकाशन आरम्भ गरेका थियौँ। साथै वार्षिक रूपमा मानवता नामक बुलेटिन पनि निकाल्न थाल्यौँ। यस पवित्र कार्यले मलाई साहित्य र पत्रकारिता क्षेत्रमा लाग्न प्रेरित गरेको थियो।

विसं २०४३ सालमा म विज्ञान सङ्कायमा भर्ना हुनको लागि पृथ्वीनारायण क्याम्पस पोखरामा पुगेँ। क्याम्पस परिसरभित्र आदिकवि भानुभक्त आचार्यको सालिक देखेपछि मन प्रफुल्ल भएर आयो। तर साहित्यिक कार्यक्रमहरूभन्दा राजनीतिक कार्यक्रमहरू हजार गुणा बढी हुदोरहेछ त्यहाँ। म भने खाली समय पुस्तकालयमा गएर पत्रपत्रिकाहरू पढ्ने गर्थेँ । पाँच सङ्कायमा पढ्ने विद्यार्थीहरूको संख्या पन्ध्र हजारभन्दा बढी थियो। हुलाक भने क्याम्पस गेट नजिकै भएकोले पत्रपत्रिकामा लेख रचना पठाउन निकै सजिलो भएको थियो। तर आईएस्सी १ वर्ष मात्र पढेर छोडियो।

विसं २०४४ सालमा लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा सिभिल इन्जिनियरिङ विषय लिएर डिप्लोमा तहमा भर्ना भइयो। हामी क्याम्पसका पहिलो ब्याचका विद्यार्थी थियौँ। क्याम्पस हाताभित्र सबैखाले सुविधा उपलब्ध थियो। हामी पढाइमा ध्यान दिने विद्यार्थी भएकोले राजनीतिले खासै छोएको थिएन। हामी सबै मिलेर साहित्यिक कार्यक्रम बराबर राख्ने गरिन्थ्यो। पुस्तकालयमा पनि धेरैथरि पत्रपत्रिका पढ्न पाइन्थ्यो। स्ववियुले भित्ते पत्रिका पनि प्रकाशन गरेको थियो।

साहित्य र पत्रकारितामा रुचि राख्ने विद्यार्थीहरू ५-७ जना थियौँ। हामी साथी मिलेर कहिले सेती बाँधको युवा पार्क र कहिले बाटुले चौर काली खोला किनारमा गएर पढ्थ्यौँ , साहित्य लेख्थ्यौँ। पोखरा तथा काठमाडौँका पत्रपत्रिकाहरूमा लेख रचना र समाचार पठाउने गर्थ्यौँ। तर सबैले पढाइलाई नै पहिलो प्राथमिकता दिएका थियौँ। त्यस बेलादेखि नै मैले छन्दमा कविता र बहरमा गजल लेख्न थालेको हुँ।

२०४७ साल चैत्रमा अन्तिम सेमेष्टर्को परीक्षा भयो र एक हप्तामै नतिजा प्रकाशन भयो। अनि म २०४८ सालमा जागिर खाने उद्देश्यले काठमाडौँ आएँ । एउटा सरकारी आयोजनामा स्थायी जागिर पनि पाएँ। बिहान बीकम्‌ पढ्ने र दिउसो अफिस तथा फिल्डमा काम गर्दैमा समय व्यतीत हुन्थ्यो। समय मिलाएर साहित्यिक कार्यक्रम र प्रतियोगिताहरूमा पनि सहभागी बन्दै जाने क्रम बढिरह्यो। धेरैजसो पत्रपत्रिकाको अफिसमै पुगेर लेख रचना तथा पाठक प्रतिक्रिया बुझाउने गरिन्थ्यो। कतिपय पत्रपत्रिका तथा रेडियोमा चाहिँ हुलाकबाट पनि पठाइन्थ्यो।

२०४८-५० को अवधिमा मेरा रचनाहरू गोरखापत्र संस्थान , साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठान प्रकाशनहरूका साथै निजी क्षेत्रका पत्रपत्रिका र रेडियोमा समेत मेरा सिर्जनाहरू आउन थाले। लेख रचनाको पारिश्रमिक पाउन थालेपछि लेखन कार्यमा थप हौसला मिलेको थियो। तर ,यसै बेला मेरो दुर्गम क्षेत्र विकास समितिमा सब-इन्जिनियरको रूपमा मेरो नाम निस्कियो। स्थायी जागिर भएकोले मैले आयोजना छोडेर दुर्गम जिल्लाहरूमा काम गर्न जाने विकल्प रोजेँ।

२०५०-सालदेखि २०७५ सालसम्म हिमाली जिल्लाहरूमा अत्यन्त व्यस्त ,अभ्यस्त र अस्तव्यस्त जिन्दगी बाँच्नुपरेको थियो। ताप्लेजुङदेखि दार्चुलासम्मका ९ जिल्लाहरूमा भौतिक पूर्वाधारका संरचनाहरू निर्माण गर्ने काममा रातदिन खटिनु परेको थियो। तर पनि समय निकालेर साहित्य सिर्जना गर्न भने छोडिएको थिएन।

विसं २०७५ सालमा मैले स्वैच्छिक अवकाश रोजेँ । काठमाडौँमा बसेर लेखन पठन कार्यलाई तीव्रता दिने निर्णय गरेँ। कतिपय साथीहरूले इन्जिनियरिङ पेशा नै अपनाएर कन्सल्टेन्सीमा नै काम गरेर बस्ने सुझाव दिएका थिए। तर मैले भने साहित्य र पत्रकारिता क्षेत्रमा लाग्ने निर्णय गरेको छु। २७ वर्षसम्म शारीरिक र मानसिक परिश्रम समानुपातिक रूपमा गरियो। अब आएर शारीरिक परिश्रम कम र मानसिक परिश्रम बढी गर्न थालेको छु। अब मभित्रको लेखकले आफ्नो क्षमता प्रदर्शन गर्न समय पाएको छ।

काठमान्डौंमा घर भएकोले चिन्ता पनि कम भएको छ। पत्रपत्रिकामा सम्पादकीय र फिचर लेखहरू पनि लेखिरहेछु। साहित्यिक लेखरचनाहरु पनि कोरिरहेकै छु । पुस्तक, पत्रपत्रिकाको सम्पादन कार्य पनि गरिरहेकै छु। फेसबुक ग्रुपहरूमा नवसर्जकहरूलाई साहित्यका विभिन्न विधाहरू सिकाउने र आफूले पनि सिक्दै जाने कार्य गरिरहेको छु। फेसबुकमा धेरै जना साहित्यकार र पत्रकारहरूलाई साथी पनि बनाएको छु। गुरुजन र मान्यजनहरूबाट आशीर्वाद पनि पाएकै छु। देशको समग्र विकासले चाँडै नै फड्को मारोस्‌ भन्ने आशा पालेकै छु। र, काठमाडौँको काँठमा बसेर स्वान्त सुखायः लेखिरहेकै छु। अस्तु!

  • प्रतिक्रिया दिनुहोस

    नवराज न्यौपाने 'मौन' का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend