(नियात्रा)
पहिलो यात्रा, त्यो पनि एक्लो र नब्बे दिनको, अनि समुद्रपारी ! मनमा कता कता अन्यौल,सन्त्रास र खुल्दुली छ । त्रिभुवन विमानस्थलसम्म कमला, शुभम्, सुब्रत र नारायणको साथ, विमानस्थलभित्र पुञ्जालीजी, नारायण कार्की र दाहालजीको सहयोग । बैंककसम्म थाइको यात्रा भए पनि त्यहाँबाट नारिता जाल ( ) मा जानुपर्ने र चार घण्टाको ट्रान्जिट । बढी सामान भएकोमा थाइले आपत्ति गर्यो । शुरुमा रामको लागि ल्याइएका र पछि उसका साथीका लागि लगिदिनुपर्ने सामानले तौल झन्डै तीन दोबर बढाएछ । नेपालीहरू विदेश जाँदा यही समस्या हुन्छ रे ।
पहिलोपल्ट लामो अवधिको लागि, त्यसमा पनि दशैं—तिहार बाहिर पर्ने भएकाले परिवारका सबैले पिर माने पनि सबैभन्दा बढी दिक्क आफैलाई लागेको छ । बुबा त दशैमा सबै परिवारसँग काठमाडौँमा बस्ने, अनि केही दिनका लागि जापानमा आउने विचारमा हुनुहुन्छ । राम र म दुवैलाई जापानमा नै टीका लगाउने विचार छ उहाँको तर आफू भने पहिलो पटक विजयादशमीमा बाहिर रहदैछु । मनमा यस्तै कुराहरू खेलाउँदै विमानस्थलमा शुभम् र सुुव्रतलाई चकलेट दिएर बिदा त गरेँ, तर छुट्ने बेलामा उनीहरूले धेरै पिर माने । कमलाको आँखामा त झनै आँसु टलपलाएको देखिन्थ्यो । उसलाई पनि मलाई जस्तै न्यास्रोको कल्पना होला । म अलि छिट्टै संवेदनशील हुने प्रवृत्तिको मानिस भएकाले उसतर्फ पुलुक्क हेरेर अध्यागमन काउन्टरतर्फ लागेँ ।
अध्यागमन काउन्टरमा पुञ्जालीजी र नारायणका साथी थिए । मैले अध्यागमन कार्ड भरेँ तर उनीहरूले लाइनमा नराखीकनै पास गरिदिए । नेपालीहरू चिने जानेका र साथीहरूलाई यसरी नै सौहाद्रर्ता देखाउने गर्दछन् । नचिनेकाहरू साहै दुःख पाउँदा होलान् ।
एक घण्टा जति पछि थाई चढेँ । अन्यौल थियो– बैंककबाट कसरी नारिताको जहाज समाउने ? तर सञ्चार मन्त्रालयबाट विश्वनाथ ढकाल कोरिया जाँदै रहेछन् । जहाजभित्र पुगेपछि भेट भयो । उनी छ घण्टा बैंकक ट्रान्जिटमा रहनुपर्ने भएकोले म खुसी भए, समस्या अब रहेन । मसँगै मलेसियन जोडी थिए । उनीहरू त्यति सौहार्द्र र शिष्ट थिएनन् । जहाजमा करिब असी जना मलेसियामा काम गर्न जाने नेपाली युवा थिए । अट्ठाइस जनाको एउटा समूह र अरूहरू । सधैँ त्यो गजक्क पाक्ने मलेसियन साथी र नेपालबाट उनीहरूको लागि काम गर्न जाने नेपाली युवा । सबै युवाहरूको मुहारमा खुसीका रेखहरू चञ्चलायमान देखिन्थे, काम गर्न जान पाएकोमा तर जोस, जाँगर, सम्भावना र सीप भएका युवाहरू बिदेसिएकोमा म भने भित्रभित्रै दुःखी थिएँ । विश्वनाथजीमा पनि यस्तै अनुभूति रहेछ । देशभित्र रोजगारीका सम्भावना नभएपछि त्यो युवा शक्ति माओवादी भएर जङ्गल पस्नुभन्दा वा अरू सामाजिक विकृतिको कारक बन्नुभन्दा विदेश पलायन नै राम्रो मान्नु प¥यो । उनीहरूको मुहारमा भरिएको खुसी पनि शायद यसै आशयका हुनुपर्छ ।
करिब तीन घण्टापछि विश्वनाथसँगै बैंकक ओर्लिएँ । अरू चार घण्टा नारीताका लागि विमान कुर्नुछ । मलाई जालले दिएको ‘मिनु—ए कुपन’ बाट दुई जनाले खाजा खाएर समय पर्खियौ । एउटी पाकिस्तानी महिला आफ्नो जहाज छुटेकोमा रुदै थिई—थाइ स्टाफले भोलिसम्म सहयोग गर्न नसक्ने बताए । तर महिला न अंग्रेजी बोल्न जान्दछिन् न फोन गर्न । विश्वनाथले धेरै सम्झाए । जति सम्झाए पनि उसको रुवाइ भने थामिएन ।
एक जोडी नेपाली शायद डी.भी. परेर नारिताहुँदै अमेरिका जाँदै थिए तर एक रात उनीहरू पनि थाई ट्रान्जिटमा रोकिने रहेछन् । प्रत्येक दिन जसो केही जोडी नेपाली कुनै न कुनै माध्यमबाट विदेशिँदा रहेछन् । विदेश जानु उनीहरूको ठुलो कल्पना छ तर भविष्यको योजना भने प्रस्ट छैन । नेपाली युवाहरू यसरी नै निश्चित भविष्यको खोजीमा अनिश्चित यात्रा गरिरहेछन् ।
थाई विमानस्थलका करमुक्त पसलहरूको लामो अवलोकन र जागिरे कुरापछि विश्वनाथले मलाई बिदा गरे । म जालको यात्रामा पुगेँ । त्यो जहाज दुई तले रहेछ र म माथिल्लो तलामा जानुपर्ने । केही क्षणको अलमलपछि पत्ता लगाएँ । एक जोडी जापानी बुढाबुढी सहित हाम्रो सिटमा तीन जना थियौँ । रात छिप्पिएकाले भोक पनि निकै लागेको छ । बाहिर चकमन्न र निष्पट्ट अन्धकार, सबै फु .. फु .. निन्द्रामा मस्त छन् । मलाई भने निन्द्रा छैन । प्रशान्त महासागरको दृश्य आकाशबाटै हेर्ने ठुलै रहर र कौतुहल; अनि भोकले पनि निन्द्रा हराएको हुनसक्छ । तर निष्पट्ट रातमा प्रशान्त महासागरको दृश्य हेर्ने रहर अपूरै रह्यो । विमानका परिचारिकाहरू थरथरीका जापानी परिकारहरू ओसारी रहेका छन् । क्यै त जापानी खानु पर्यो, नाम पनि जान्दिन । उसले दिएको जापानी खाना र पेयका लागि जुस समातेँ । जीवनमा पहिलो पटक जापानी खानाको स्वाद पाएँ तर खान सक्ने कुरै थिएन । रातको अनिदोपनले हो कि स्वाद नमिलेर हो निकै खल्लो लाग्यो ।
चार बजेको हुँदो हो । धेरैजसो यात्रुहरू आँखा मिच्दै शौचालयतिर गैरहेका छन् । म पनि मुख धोएर ताजा हुन त्यतातिर लागें । विमानको झ्यालबाट बाहिरी दृश्य त देखियो तर बाक्लो कुहिरोले अरू दृश्यलाई अंँगालेको थियो । प्रशान्त महासागरमाथि बादलका कलिला रेसाहरू चुलिएका थिए । मानौँ हामीहरू कपासको बिस्कुनमाथि चङ्गाझै सैर गरिरहेका छौँ ।
अर्को दिन,
प्रातः ६ः१५ मा नारितामा ओर्लिएँ । समय फरक परेकाले बाटोमा तीन घण्टा समय नै हराएछ । मनमनै सम्झेँ, मेरो जीवनको कूल आयुमा तीन घण्टा समय त्यत्तिकै हराएको छ । केही अन्यौल थियो—त्यसपछि के गर्ने ? टर्मिनल भवननै निकै ठुलो र लामो छ । क्वारेनटाइन र अध्यागमन पासपछि व्यागेज क्लेममा पुगेँ । जसोतसो अरूको हेरेर तीन वटै ब्याग लिन सकेँ । ट्रलीमा बल्लबल्ल राखेर बाहिर आएँ–जाइकाका मानिसको खोजीमा ।
केही बेरको नियालाइपछि केही पर प्लेकार्ड लिएर जाइकाका मानिसहरू देखियो, शायद हाम्रै प्रतीक्षामा बसेका हुनुपर्छ । अनुमान सही ठहरियो । विमानस्थलमा सहभागीहरूलाई स्वागत गर्नका लागि त्यहाँ जाइका डेस्क नै रहेछ । उनीहरू विभिन्न मुलुकका मजस्तै सहभागीलाई प्रतीक्षा गरिरहेका थिए । एक जना अग्लो कदको मानिसले मलाई सहयोग गर्ने अनुमति माग्दै चिनाजान ग¥यो । पेलेस्टीन कर कार्यालयको अधिकृत महोम्मूद सालेह रहेछ । हामी एकै कार्यक्रमका सहभागी रहेछौँ । हिन्दुको जस्तो लामो नाक र नेपालीको जस्तो गोरो अनुहारले गर्दा महमूद सालेह र म केही नजिकियांैं पनि । स्वागत र सौजन्य निकै जानेका जापानीहरू भने हामीलाई पालैपालो झुकेर अभिवादन गर्दै जाइका लोगो र लिमोजिन वसको टिकट दिदैं थिए । हामीलाई सामानको स्टिकर दिएर उनीहरूले लिमोजिन चढाए । लिमोजिनमा पुगेर हेर्दा पो थाहा भयो, हामी सात आठ जना जाइका कार्यक्रमका सहभागी साथी जम्मा भैसकेका रहेछौँ । सबैले परिचयका लागि लोगो आफ्नो कोटमा सिउरिसकेका रहेछन् । ग्राण्ड प्यालेसमा केही साथीलाई झारेर ट्याक्सीमा हामीलाई होचिओजी अन्तर्राष्ट्रिय केन्द्रसम्म ल्याइयो ।
होचीओजी केन्द्रका फ्रन्ट डेस्कमा मानिसहरूको सहयोगपूर्ण आतिथ्यपछि हामीहरू आ–आफ्नो कोठामा पुग्यौँ । ‘इचि नि नि’ वा १२२ नं को कोठामा सबै सामान ल्याएपछि मेरो तीन महिनाको जापान बसाइ सुरु भयो । ‘इचि नि नि’ नै मेरो नब्बे रातको आश्रय बन्यो ।
(नियात्रा दैनिकी आँखाभरिरमिता मनभरि वेदनाबाट)
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend