बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

माघे संक्रान्तिमय बने अमेरिकाका ठुला शहरहरू, ९ राज्यमा भव्य उत्सव

माघे संक्रान्तिमय बने अमेरिकाका ठुला शहरहरू, ९ राज्यमा भव्य उत्सव

214
Shares
214
Shares

न्युयोर्क । “जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौँ हाम्रो मातृभूमिलाई—जोगाइ राखौँ युगौँयुग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मूल नारासहित अमेरिकामा रहेका मगर समुदायले आफ्नो राष्ट्रिय पर्व ‘माघे संक्रान्ति पर्व–२०२६’ विभिन्न राज्यमा भव्य रूपमा मनाएका छन्। मगर संघ अमेरिका मातहतका च्याप्टरहरूको आयोजनामा ९ राज्यका प्रमुख शहरहरूमा यो पर्व सांस्कृतिक र सामाजिक उत्साहका साथ सम्पन्न भएको हो ।

जनवरी ११, २०२६ मा मगर संघ अमेरिका इलिनोई च्याप्टरको आयोजनामा सिकागोबाट सुरु भएको माघे संक्रान्ति पर्व–२०२६ जनवरी १८, २०२६ मा मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको आयोजनामा बोस्टनमा समापन भयो। सन् २००४ मा स्थापना भएको मगर संघ अमेरिका मगर संस्कार–संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि निरन्तर क्रियाशील रहेको संघका केन्द्रीय अध्यक्ष दीप सागर बुढा मगरले जानकारी दिए ।

मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको आयोजनामा जनवरी १६ मा न्युयोर्क शहरमा करिब एक हजार मगर तथा गैर मगर समुदायको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा माघीका मौलिक संस्कार–संस्कृतिको प्रदर्शनसँगै चर्चित गायक जगदीश समाल मगर र गायिका सङ्गीता थापा मगरको साङ्गीतिक प्रस्तुति आकर्षणको केन्द्र रह्यो । न्युयोर्क राज्यका सांसदहरू, विभिन्न जिम्मेवार व्यक्तित्व, नेपाल आदिवासी जनजाति महासंघ, सम्बद्ध जातीय संस्थाहरू तथा मैत्रीपुर्ण संघ–संस्थाहरूको उपस्थितिमा माघे संक्रान्ति–२०२६ हर्षोल्लासका साथ मनाइयो।

मगर संघ अमेरिका टेक्सस च्याप्टरको आयोजनामा जनवरी १७, २०२६ मा डलासमा कार्यक्रम सम्पन्न भयो। कौराह, सालैज्यु, सोरठी, मारुनी, हुर्रा लगायतका मगर सांस्कृतिक नृत्य–गीतमा मगर तथा गैर मगर समुदाय एकसाथ झुमे। केन्द्रीय अध्यक्ष दीप सागर बुढा मगरको आतिथ्य तथा टेक्सासस्थित विभिन्न संघ–संस्थाको सहभागितामा सम्पन्न कार्यक्रममा चर्चित गायक मिलन लामा, सङ्गीता थापा मगर, वसन्त विश्वकर्मा लगायत कलाकारहरूको प्रस्तुति रहेको थियो। सहभागीहरूले डलासमा नेपाली समुदायको अहिलेसम्मकै उत्कृष्ट र उच्च सहभागितायुक्त कार्यक्रम भएको भन्दै खुलेर प्रशंसा गरे।

त्यसै दिन मगर संघ अमेरिका कोलोराडो च्याप्टरले वेस्ट मिनिस्टर सिटीस्थित नेपाली सांस्कृतिक केन्द्रमा माघे संक्रान्ति–२०२६ मनायो । नेपाल आदिवासी आयोगका सदस्य माननीय डा. मीन श्रीष मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विविध मगर सांस्कृतिक प्रस्तुति र मौलिक परिकारले मगर तथा गैर मगर समुदायलाई रमाइलो बनायो। संघमा दीर्घ योगदान पुर्‍याएका निवर्तमान सल्लाहकार तथा मगर सांस्कृतिक केन्द्रका सदस्य सचिव लछुमन राना मगर, केन्द्रीय उपाध्यक्ष कृष्ण थापा मगर र निवर्तमान केन्द्रीय उपाध्यक्ष टेकबहादुर थापा मगरलाई सम्मान गरिएको थियो ।

मगर संघ अमेरिका डी.एम.भी. च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ मा बाल्टिमोरमा कार्यक्रम सम्पन्न भयो। मगर बाल कला प्रदर्शनीबाट सुरु भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र मौलिक परिकारले सहभागीलाई आकर्षित गर्‍यो। सोही दिन मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरले बोस्टनमा विशेष कार्यक्रम आयोजना गर्दै पंचेबाजा र मयुर नाच प्रस्तुत गर्‍यो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाताहरूलाई मगर पहिचान झल्किने खुर्पेटो अंकित मायाको चिनो प्रदान गरियो।

जनवरी १८ कै दिन मगर संघ अमेरिका न्युजर्सी च्याप्टरले न्युजर्सीमा माघे संक्रान्ति भव्य रूपमा मनायो। संस्कार–संस्कृतिको पुस्तान्तरणलाई केन्द्रमा राख्दै कार्यक्रममा सहभागी बालबालिकालाई माघे संक्रान्तिको महत्वबारे जानकारी दिइयो। साथै, मगर संघ अमेरिका पेन्सिलभेनिया च्याप्टरले फिलाडेल्फियामा चेलीबेटी पूजा तथा विभिन्न सांस्कृतिक प्रस्तुति सहित पर्व मनायो। क्यालिफोर्निया च्याप्टरले भने मौलिक संस्कृतिको प्रस्तुति र भलिबल प्रतियोगितासहित माघे संक्रान्ति उत्सव सम्पन्न गर्‍यो।

आदिमकालदेखि नै मगर समुदायले आ–आफ्नो थातथलोअनुसार माघे संक्रान्ति विविध विधिमा मनाउँदै आएको इतिहास छ। नेपाल सरकारले माघे संक्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरेपछि मगर संघ अमेरिका मातहत अमेरिकाका विभिन्न राज्यमा यस पर्वलाई विधिवत् रूपमा निरन्तर मनाइँदै आएको छ। माघे संक्रान्ति चेलीबेटी बिझाउने, तारा हानेर ग्रहदशा जाँच्ने, पितृहरूको स्मरण गर्ने, दिवंगत चेलीबेटीको सम्झनामा पुतली बनाएर सेलाउने, इष्टमित्र भेटघाट गर्ने तथा मीठा–मसिना परिकार पकाएर खुशीयाली मनाउने पर्व हो।

कृषि र सिकारमा आधारित प्राचीन जीवनशैली बोकेको मगर समुदायका लागि माघे संक्रान्ति वर्षभरको परिश्रमपछि ढुक्क हुने समयसँग जोडिएको पर्व हो। मकर रेखाबाट सूर्य उत्तरतिर सर्ने यस दिनदेखि जाडो घट्दै गर्मी मौसम सुरु हुने विश्वास छ। यसै कारण शरीरलाई चिसो राख्न जमिनमुनि फल्ने कन्दमूल, सखरखण्ड, तरुल आदि खाने चलन मगर समुदायमा आज पनि जीवित छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend