कोलोराडो । मगर संघ अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा माघे संक्रान्तिको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आज नेपाली घरमा सम्पन्न भएको छ । मगर समुदायको मौलिक संस्कृति, भाषा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा समुदायका अगुवा, विशिष्ट व्यक्तित्व, कलाकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुआत नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व हेमबहादुर पुन मगर तथा नेपालको प्रथम सहिद लखन थापा मगरको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यसपछि नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान बजाएर कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाइएको थियो ।

कार्यक्रममा मगर संघ अमेरिका, कोलोराडो च्याप्टरकी सह–सचिव तथा कार्यक्रम संयोजक श्रीष्टिना पुर्जा मगरले स्वागत मन्तव्य दिँदै माघे संक्रान्तिको सांस्कृतिक महत्त्व र प्रवासी भुमिमा मगर संस्कृतिको निरन्तरताका लागि यस्ता कार्यक्रमको आवश्यकता औँल्याइन् । स्वागत नृत्यमा कोलोराडो च्याप्टर मगर सांस्कृतिक समुहका केशव थापा मगर र भुमिका पुन मगरले आकर्षक प्रस्तुति दिएका थिए ।

शुभकामना मन्तव्यका क्रममा मगर संघ अमेरिका केन्द्रीय समितिका पश्चिम क्षेत्र उपाध्यक्ष श्री कृष्ण थापा मगरले प्रवासमा रहे पनि मगर समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र एकताको भावना जोगाइराख्नु गर्वको विषय भएको बताए ।

कार्यक्रममा मगर समाज तथा मगर संघ अमेरिकामा विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सभापति उपेन्द्र राना मगरले प्रमाण पत्र तथा प्रमुख अतिथि आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन श्रीस मगरबाट र दोसल्ला ओढाएर सम्मानित हुनेहरूमा लछुमन राना मगर, कृष्ण कुमार थापा मगर र टेक बहादुर थापा मगर रहेका थिए ।

यस अवसरमा मगर संघ अमेरिका केन्द्रीय समितिका निवर्तमान उपाध्यक्ष तथा कोलोराडो च्याप्टरका सल्लाहकार श्री टेक बहादुर थापा मगरले आफ्नो दुई शब्द व्यक्त गर्दै समुदायप्रति सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन श्रीस मगरको संक्षिप्त परिचय श्रव्य–दृश्य माध्यमबाट प्रस्तुत गरिएको थियो । त्यसपछि प्रमुख अतिथि डा. मीन श्रीस मगरले मन्तव्य राख्दै मगर समुदायको ऐतिहासिक योगदान, आदिवासी जनजातिको अधिकार र पहिचानका विषयमा प्रकाश पारे ।
मगर संघ अमेरिका, कोलोराडो च्याप्टर सभापति उपेन्द्र रानाबाट औपचारिक कार्यक्रम समापन तथा धन्यवाद मन्तव्यपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । सांस्कृतिक प्रस्तुति अन्तर्गत कौराह, झ्याउरे, सोरठी तथा सालैजो आधारित नृत्य र गायन प्रस्तुत गरियो । माया आले मगर, विष्णु थापा मगर, सजना सिके, सलिना राना, समीर राना, सुमिना बराल, नारायण ध्वज बुढा, उपेन्द्र राना, राजु आले, भोजेन्द्र थापा, सृष्टिना पुर्जा, निशा पुन, सन्नी राना, समान्था राना, सुमिना बराल सिमोन आचार्य लगायत कलाकारहरूको प्रस्तुति दर्शकले उत्साहपुर्वक अवलोकन गरे । कोलोराडो च्याप्टर मगर सांस्कृतिक समुहको कौराह लाइभ र सालैजो प्रस्तुति कार्यक्रमको विशेष आकर्षण बने ।
कार्यक्रमको अन्त्यमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका सचिव विक्रम बारघरेले गरेका थिए । कार्यक्रमका क्रममा माघे संक्रान्तिको परम्परा अनुसार तरुल र सेलरोटी उपस्थित सम्पुर्ण सहभागीहरूलाई खुवाइएको थियो ।
माघे संक्रान्ति सांस्कृतिक कार्यक्रमले प्रवासी भुमिमा मगर समुदायबिच एकता, आपसी सद्भाव र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाएको आयोजकले बताएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend