कोलोराडो । हेल्पिङ ह्यान्डले प्रस्तुत गरेको माता देवी प्रतिभाको कथा वाचन कार्यक्रमसम्बन्धी प्रस्ताव कोलोराडो कम्युनिटीले अस्वीकृत गरेको छ। हिजो नेपाली घरमा आयोजित स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूसँगको छलफल कार्यक्रममा उक्त प्रस्ताव स्वीकार गर्न नसकिने निष्कर्ष निकालिएको हो।
छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले हालको अवस्थामा यस्तो कार्यक्रम गर्न नहुने र सम्भव नभएको धारणा राखेका थिए । नेपाली घरका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष गंगा चौलागाईंले कार्यक्रमका लागि टेन्टेटिभ खर्च करिब १ लाख २० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको र यदि कार्यक्रम गर्ने हो भने तत्कालै ५० हजार डलर आवश्यक पर्ने जानकारी दिए । उनले हाल संस्थासँग त्यति ठुलो रकम खर्च गर्ने आर्थिक क्षमता नरहेको स्पष्ट पारे।
संस्थाका कार्यबाहक अध्यक्ष गंगा चौलागाइले भेन्यु तयार नभएकाले हामी यो कार्यक्रम गर्न नसक्ने भनेर बताए । साथै उनले नेपाली घरको बोर्ड बैठकबाट देवी प्रतिभाको कथा वाचन कार्यक्रम नगर्ने निर्णय भइसकेको जानकारी पनि गराए ।
छलफलका क्रममा नवराज श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरिएको फ्लायरबारे स्पष्ट पार्दै यो अमेरिका भित्र तीन महिनाको टुर भएको र यस कार्यमा हेल्पिङ ह्यान्ड संलग्न रहेको बताए । उनका अनुसार हेल्पिङ ह्यान्ड लगायत सम्बन्धित पक्षले २० प्रतिशत र बाँकी ८० प्रतिशत आयोजक संस्थाले लिने व्यवस्था रहेको थियो । तीन दिन मात्रै कथा वाचन गर्ने र देवी प्रतिभाको समुहमा ५–६ जना मात्र रहने जानकारी पनि उनले दिए ।
नेपाली घरका पुर्व अध्यक्ष योगराज गौतमले देवी प्रतिभालाई कोलोराडो ल्याउँदा कति रकम उठ्न सक्छ भन्ने प्रश्न गर्दा नवराज श्रेष्ठले रकम संकलनको कुनै ग्यारेन्टी नरहेको जवाफ दिएका थिए । साथै, देवी प्रतिभा गोल्डेन क्रिएसन बाल्टिमोरको निमन्त्रणामा अमेरिका आएको जानकारी पनि दिइयो ।
छलफलमा नारायण श्रेष्ठले “हेल्पिङ ह्यान्ड” भन्ने शब्द सुन्दा आफुलाई दुःख लागेको भन्दै समाजका लागि आएको संस्थाप्रति यदि सन्तुष्टि छैन भने यस्ता कार्यक्रम किन गरिरहने भन्ने प्रश्न उठाए । सबैले गुनासो गरेपछि पछि उनले यदि कार्यक्रम नेपाली घरले गरे उठ्ने सम्पुर्ण रकम नेपाली घरलाई नै जाने स्पष्ट पारे ।
सिस्टर ग्रुपकी अध्यक्ष शान्ति भुसालले यो कथा वाचनको प्रस्ताव उहाँहरूलाई पनि आएको जानकारी गराउनुभएको थियो । २०१८ मा सबै संघ-संस्थाको सहकार्यमा सप्ताह गरे जस्तै कार्यक्रम पुनः आयोजना गर्ने इच्छा रहेको र त्यसका लागि आवश्यक पूर्वाधारको तयारी हाल अघि बढिरहेको जानकारी कार्यकारी नेपाली घरका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गंगा चौलागाईंले भने ।
यसै क्रममा अन्य सहभागी महानुभावहरूले पनि आ–आफ्ना धारणा राख्दै कार्यक्रम, आर्थिक अवस्था र संस्थागत प्राथमिकताबारे छलफल गरेका थिए ।
: File Photo
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend