बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकाको कोलोराडो राज्यद्वारा अक्टोबर २३ ‘नेवा: डे’ घोषित

अमेरिकाको कोलोराडो राज्यद्वारा अक्टोबर २३ ‘नेवा: डे’ घोषित

404
Shares
404
Shares

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यले नेवार समुदायको सांस्कृतिक पहिचान, भाषा र परम्पराको सम्मान स्वरूप २०२५ अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा ‘नेवा: डे’ घोषणा गरेको छ। राज्यका गभर्नर जारेड पोलिसले जारी गरेको आधिकारिक प्रोक्लेमेसनमार्फत उक्त मिति नेवा: डेका रूपमा मनाइने उल्लेख गरिएको छ ।

कोलोराडो नेवा खलले ‘नेवार डे’ घोषणासम्बन्धी जानकारी सार्वजनिक गर्न आज नेपाली घरमा प्रेस मिट आयोजना गरेको थियो । कार्यक्रममा संस्थाका सचिव सञ्जय शाक्यले नेवार डे घोषणासम्बन्धी सम्पुर्ण प्रक्रिया र उपलब्धिबारे जानकारी गराए ।

प्रेस मिटका क्रममा कोलोराडो स्टेटबाट प्राप्त प्रमाण पत्रको अनावरण डा. विजयराज शर्मा र नारायण श्रेष्ठले संयुक्त रूपमा गरे । अनावरणपछि बोल्दै डा. विजयराज शर्माले नेवार डे घोषणा गौरवको विषय भएको उल्लेख गर्दै भने, “यो दिनले नेवारी संस्कृतिलाई निरन्तर स्मरण गराइरहन्छ । विविधतामा रहेको सौन्दर्यको प्रशंसा नगरी रहन सकिँदैन।”

त्यसै गरी नारायण श्रेष्ठले पनि नेवार डेलाई गौरवको दिनका रूपमा वर्णन गर्दै भने, “यो अत्यन्तै राम्रो पहल हो । यसले सबै नेवारी महोत्सव र संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याएको छ । नेवारी पहिचान नेपाली पहिचानकै हिस्सा हो । नेपालकै प्रतिनिधित्व गर्दै नेवा खलले नेवार डे को सुरुवात गरेको हो ।”

कोलोराडो ​राज्य (Colorado State) प्रोक्लेमेसनमा काठमाडौँ उपत्यकाका आदिवासी नेवा: जनताको समृद्ध सांस्कृतिक सम्पदा, अनौठो भाषा र कलात्मक परम्पराको प्रशंसा गरिएको छ। सोहीसाथ कोलोराडोमा बसोबास गर्ने नेवा: समुदायले राज्यको सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा दिएका योगदानप्रति धन्यवाद प्रकट गरिएको छ ।

प्रोक्लेमेसनमा उल्लेख भए अनुसार, ‘कलोराडो नेवा: खल:’ नामक गैर नाफामूलक संस्था नेवा: संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय छ। उक्त संस्थाले कोलोराडो भरिका नेवार–अमेरिकीहरूबिच समुदायभाव, आपसी सद्भाव र एकताको भावना मजबुत बनाउँदै आएको उल्लेख गरिएको छ।

गभर्नर जारेड पोलिसले राज्यको कार्यकारी छाप (Executive Seal)सहित प्रोक्लेमेसनमा हस्ताक्षर गर्दै नेवा: समुदायको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्। उक्त कागजातमा “म, जारेड पोलिस, कोलोराडो राज्यको गभर्नरको हैसियतले २०२५ अक्टोबर २३ लाई नेवा: डेका रूपमा घोषणा गर्दछु” भन्ने सार अर्थ राखिएको छ ।

यसको घोषणा आज कोलोराडोस्थित नेपाली घरमा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा गरिएको छ । यस घोषणापछि आगामी वर्षदेखि अक्टोबर २३ का दिन कोलोराडोमा बसोबास गर्ने नेवा: तथा नेपाली समुदायले विविध सांस्कृतिक कार्यक्रम, नाच–गान, भेषभुषा प्रदर्शन र खानपान मेलाका माध्यमबाट नेवा: डे उत्साहपुर्वक मनाउने तयारी गरेका छन् । यसले नेवा: सांस्कृतिक पहिचानलाई मुख्यधार अमेरिकी समाजसम्म पुर्‍याउने र नयाँ पुस्तामा आफ्नो मौलिक भाषा–संस्कृतिप्रतिको गर्व झनै बढाउने अपेक्षा गरिएको छ ।

युएस नेपाल डट कमसँग कुरा गर्दै संस्थाका अध्यक्ष भुषण श्रेष्ठले नेवा समुदायको सांस्कृतिक पर्व “नेवा डे” मनाउने घोषणा गरेकोमा आफ्नो खुसी व्यक्त गरेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार, यो पर्व अक्टोबर २३ मा आयोजना गरिनेछ र यसले नेवा समुदायको सांस्कृतिक पहिचानलाई प्रोत्साहन गर्नेछ । उनका अनुसार गत वर्ष अक्टोबर २३ मा ‘हिन्दु ना भिन्तुना’ परेको हुनाले त्यसै दिनलाई नेवार डे का रूपमा मान्यता दिन एक महिना अगाडि अर्थात् सेप्टेम्बर २३ मा कोलोराडो स्टेटमा औपचारिक रूपमा आवेदन दिइएको थियो ।

उनले थपे कि, “हामीले नेवा डे मनाउने घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यस अवसरले हाम्रो सांस्कृतिक सम्पदाको सम्मान र संरक्षणमा ठुलो योगदान पुर्‍याउनेछ।”

प्रेस मिटमा सहभागी वक्ताहरूले नेवार डे ले नेवारी भाषा, संस्कृति र पहिचानको प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend