बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

तमु धि कोलोराडोको ल्होसार भव्य सम्पन्न, राजु परियारको विशेष प्रस्तुति

तमु धि कोलोराडोको ल्होसार भव्य सम्पन्न, राजु परियारको विशेष प्रस्तुति

415
Shares
415
Shares

कोलोराडो । तमु धि कोलोराडोद्वारा आयोजित ल्होसार कार्यक्रम २०२६ उत्साह, संस्कृति र सांगीतिक रंगले भरिपुर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा लोक दोहरी गायक तथा लोक संगीत बहुउद्देश्यीय सहकारी लिमिटेडका अध्यक्ष चन्द्र शर्मा, विविध समुदायका अतिथि, स्थानीय संघ संस्थाका प्रतिनिधि, अभिभावक, युवा तथा बालबालिकाको उल्लेखनीय सहभागितामा तमु धि कोलोराडोका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको औपचारिक सत्रको सुरुआत अतिथिहरूको स्वागत तथा आसन ग्रहणसँगै गरिएको थियो । कार्यक्रमका सञ्चालक प्रकाशजंग गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने तमु धि कोलोराडोका पुर्व अध्यक्ष चन्द्रमान गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

स्वागत मन्तव्यमा पुर्व अध्यक्ष चन्द्रमान गुरुङले “सर्प वर्गको बिदाइसँगै शान्त र गहिरो सोचको चरण समाप्त हुँदैछ भने घोडा वर्गको आगमनले जीवनलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । यस अवसरमा पुराना असफलता र निराशालाई बिदाइ गर्दै आशा, सकारात्मक सोच र नयाँ सुरुवातलाई स्वागत गर्नु नै यस परिवर्तनको सार हो” भनेर भने ।

उनले भने “अब प्रवेश गर्न लागेको घोडा वर्ग भने ऊर्जा, गति, साहस, परिश्रम र स्वतन्त्रताको प्रतीक हो । घोडा वर्गको आगमनसँगै जीवनमा नयाँ उत्साह, सक्रियता र परिवर्तनको संकेत देखिन्छ। यो वर्षलाई अवसरको खोजी, कर्मशीलता र आत्मविश्वासका साथ अगाडि बढ्ने समयका रूपमा हेरिन्छ। रोकिएका कामले गति लिने, नयाँ योजनाले आकार लिने र साहसी निर्णयले सफलता दिलाउने विश्वास गरिन्छ ।”

त्यसपछि प्रमुख अतिथि बल बहादुर गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस पछि अमेरिका, नेपाल र गुरुङ समुदायका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । पहिलो सत्रको कार्यक्रमको समापन मन्तव्य तमु धि कोलोराडोका अध्यक्ष सन्तोष गुरुङले दिएका थिए ।

औपचारिक सत्रपछि सुरु भएको सांस्कृतिक कार्यक्रममा गौप्रसाद गुरुङ र सरिता गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने ‘Three Years, Three Languages, One Journey’ शीर्षकको विशेष प्रस्तुति तमु धि कोलोराडो (TDC) स्कुलका बालबालिकाहरू ह्याटी, चाहना, स्वीकृति, जेनी, जान, एडी, चिराग, जय, आदर, जैवीर, नोलन र रुबेनले प्रस्तुत गरेका थिए, जसले दर्शकको मन जित्यो ।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत चाहना गुरुङले ड्रागनहण्टर बाजा, जेनी र एडीले न्गोल्स्यो रम्रानी (Ngolsyo Ramrani ) नृत्य, सब्बु गुरुङले ‘चोली राम्रो पाल्पाली ढाकाको’ नृत्य, तथा चाहना, ह्याटी, जेनी, स्वीकृति, एडी, चिराग, जय र आदरले ‘माया पिरती’ नृत्य प्रस्तुत गरेका थिए । त्यसै गरी नन्दा कला र सुप्रिम विष्टको ‘रीमै’ नृत्य, समृद्धि सिग्देल, स्नेहा लुइँटेल, इशानी दाहाल र ट्विंकल तिवारीको ‘मोहनी लाग्ला है’ नृत्य, चाहना गुरुङ र विदिशा भण्डारीको ‘रुकुम मैकोट’ नृत्यले कार्यक्रमलाई थप आकर्षक बनायो ।

प्रियंका श्रेष्ठको ‘काश्मीरे पछ्यौरी’, सुनिता, सिम्रन, माया र दावाको ‘मलाई पुग्दैन पुग्दैन यो बैसले’, यमुना गुरुङको ‘न्गाइ नसारी’, सुनिल र कञ्चन गुरुङको ‘बुकी फुल–हेरबे छ’ नृत्य तथा निहारिका, सजना र टिमको ‘आज बर हाते पटुकीको छैन र माया’ नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनायो । सिल र साथीहरूको ‘कुराउने’ नृत्य पनि विशेष आकर्षण रह्यो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘लोक स्वर सम्राट्’ भनेर चिनिने चर्चित लोकगायक राजु परियारको भव्य लाइभ कन्सर्ट प्रस्तुत गरिएको थियो । स्टेजमा उक्लिएसँगै उनले एकपछि अर्को गर्दै आफ्ना लोकप्रिय तथा सदाबहार लोकगीतहरू प्रस्तुत गर्दा कार्यक्रम स्थल उत्सवमय बनेको थियो । उनका भावनात्मक स्वर, मौलिक लोकलय र जीवन्त प्रस्तुतिले उपस्थित दर्शक श्रोताहरूलाई मन्त्रमुग्ध बनायो । गीतसँगै दर्शकहरू झुम्दै, ताली बजाउँदै र साथसाथै स्वर मिलाउँदै रमाएको दृश्यले कार्यक्रमको रौनक थपेको थियो ।

अन्त्यमा लो–की जोय डिजे लेजर बेन (Low Key Joy DJ – Laser Ben ) को संगीतमा खुला नृत्यसँगै कार्यक्रम उल्लासपुर्ण वातावरणमा सम्पन्न भयो ।

तमु धि कोलोराडोले धेरै वर्ष देखि कोलोराडोमा यस्ता कार्यक्रमहरू मार्फत भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ ।


More Picture Part 1 (Click Here)

More Picture Part 2 (Click here)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend