डेनभर (अमेरिका) — डेनभर अन्तर्राष्ट्रिय विमानस्थल (DEN) बाट यात्रा गर्ने केही यात्रुहरूले अब सुरक्षा जाँचका क्रममा TSA काउन्टरमा रोकिनु नपर्ने भएको छ। यात्रु पहिचान प्रक्रियालाई थप छरितो बनाउने उद्देश्यसहित CLEAR ले डेनभर विमानस्थलमा आफ्नो नयाँ बायोमेट्रिक eGate सेवा परीक्षण तथा सञ्चालनमा ल्याएको हो।
शुक्रबारदेखि सुरु गरिएको यस प्रणालीमा यात्रुको अनुहार स्क्यान गरेर पहिचान प्रमाणीकरण गरिन्छ। यसले पहिले CLEAR प्रयोग गर्दा TSA एजेन्टसँग थप सुरक्षा जाँच गर्नुपर्ने एक चरण हटाएको छ। यद्यपि, CLEAR का अनुसार TSA एजेन्टहरू अझै पनि सबै यात्रुको सुरक्षा जाँच प्रक्रियामा संलग्न रहनेछन्। यात्रु तथा सामानको शारीरिक स्क्रिनिङ भने यथावत् रहनेछ।
यात्रु निकिता प्रभुले भनिन्, “यो प्रणाली यात्रुका लागि निकै उपयोगी छ। म कामबाहिर पनि धेरै यात्रा गर्छु, दुई साना बच्चासहित यात्रा गर्दा झन् सजिलो हुन्छ।”
CLEAR का प्रतिनिधिहरूका अनुसार इगेट सञ्चालनमा आएपछि TSA एजेन्टहरूले थप मानक तथा TSA प्रि-चेक यात्रुको स्क्रिनिङमा ध्यान दिन पाउनेछन्, जसले समग्र सुरक्षा जाँचको प्रतीक्षा समय घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
CLEAR का उड्डयनसम्बन्धी कार्यकारी उपाध्यक्ष काइल म्याकलफ्लिनले विज्ञप्तिमार्फत भने, “उत्तरी अमेरिकाको तेस्रो व्यस्त विमानस्थल डेनभरमा बायोमेट्रिक eGate सुरु गर्न पाउँदा CLEAR गर्वित छ। यसले अमेरिकी विमानस्थल सुरक्षा जाँचलाई आधुनिकीकरण र सरल बनाउनेछ। TSA सँगको सहकार्य सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरण हो।”
यो अद्यावधिक प्रक्रिया हाल देशभरका २० भन्दा बढी विमानस्थलमा प्रयोगमा छ। CLEAR ले सन् २०२६ को फिफा विश्वकपअगावै आफू सेवा दिने सबै ६० विमानस्थलमा यो प्रविधि विस्तार गर्ने योजना बनाएको जनाएको छ । CLEAR को इगेट प्रयोग गर्न यात्रुले सदस्यता लिनुपर्ने हुन्छ, जसको वार्षिक शुल्क हाल २०९ अमेरिकी डलर रहेको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend