वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ओभल अफिसमा आयोजित विशेष समारोहमार्फत २०२५ का केनेडी सेन्टर सम्मानित व्यक्तिहरूलाई पदक प्रदान गरे।
यो वर्ष सम्मानित हुने व्यक्तिहरूमा अभिनेता सिल्भेस्टर स्टेलोन, गायीका ग्लोरिया गेयनर, कंट्री गायक जर्ज स्ट्रेट, रक ब्याण्ड ‘किस’ तथा अभिनेता–गायक माइकल क्रफोर्ड छन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केनेडी सेन्टर र यसको प्रमुख पुरस्कार कार्यक्रमप्रति चासो नदेखाए पनि दोस्रो कार्यकाल सुरु गरेपछि उनले संस्थामा ठुला परिवर्तन गरे । सबैभन्दा महत्वपुर्ण परिवर्तन भने बोर्ड अफ ट्रस्टीजलाई हटाएर आफ्ना रिपब्लिकन समर्थकहरू नियुक्त गर्नु हो, जसले उनलाई अध्यक्षमा चयन गरेका छन्। ट्रम्पले केनेडी सेन्टरको कार्यक्रम र भौतिक स्वरूपप्रति असन्तुष्टि जनाउँदै त्यसलाई पुर्णरूपमा सुधार गर्ने बताएका छन् ।
यस वर्षको पदक प्रसिद्ध गहनाब्रान्ड टिफनी एण्ड कम्पनीले डिजाइन, निर्माण र दान गरेको हो। गोल्डेन डिस्क आकारको उक्त पदकमध्ये एक पाटोमा केनेडी सेन्टरको आकृति र रेनबो रङ छापिएको छ भने अर्काे पाटोमा सम्मानित व्यक्तिको नाम र मिती उल्लेख छ। यो पदक नेभी–ब्लू रिबनमा झुण्डिएको छ र यसले विगतमा प्रयोग हुने ठुलो रेनबो रिबनलाई प्रतिस्थापन गरेको हो।
समारोह अघि ओभल अफिस नजिकै रहेको रोज गार्डेनमा ग्लोरिया गेयनर र किसका गीतहरू बजाइएका थिए, जहाँ प्रेस प्रतिनिधिहरू प्रवेशको प्रतीक्षा गरिरहेका थिए । ट्रम्पले अघिल्लो अगस्टमा २०२५ का सम्मानितहरुको छनोटमा आफु “९८ प्रतिशत सम्म संलग्न” रहेको बताएका थिए। यसपटकको नामावली उनी अध्यक्ष बनेपछि पहिलोपटक सार्वजनिक गरिएको हो, जुन परम्पराअनुसार प्रेस विज्ञप्तिमार्फत घोषणा हुने गरेकाले अन्य वर्षभन्दा भिन्न देखियो ।
छनोट प्रक्रिया कसरी भयो भन्ने स्पष्ट नभए पनि ट्रम्पअघि यो जिम्मेवारी द्विदलीय समितिसँग थियो । शनिबार ओभल अफिस कार्यक्रममा सहभागी भएपछि ट्रम्पले स्टेट डिपार्टमेन्टले आयोजना गर्ने वार्षिक डिनरमा पनि सहभागी हुने कार्यक्रम छ। विगतमा यिनै डिनरमार्फत सम्मानितहरूलाई पदक प्रदान गरिन्थ्यो, तर ट्रम्पले यसलाई ह्वाइट हाउसमा सारिदिएका छन् ।
यता, केनेडी सेन्टरको भव्य सम्मान कार्यक्रम र प्रत्येक सम्मानितका लागि प्रस्तुति समावेश गरिएको शो आइतबार टेलिभिजन प्रसारणका लागि रेकर्ड गरिनेछ। ट्रम्प पहिलोपटक राष्ट्रपति पदमा रहँदै उक्त कार्यक्रममा पत्नी मेलानिया ट्रम्पसहित सहभागी हुनेछन्।
ट्रम्पले अगस्टमा आफूले उक्त कार्यक्रम “होस्ट” गर्ने बताएका थिए, तर ह्वाइट हाउसले उनको भूमिकाबारे स्पष्ट जानकारी दिएको छैन। परम्पराअनुसार राष्ट्रपति कार्यक्रममा बस्ने मात्र गरिन्छ, होस्ट भने कहिल्यै बनेका छैनन्।
ट्रम्पले भने, “मलाई ‘होस्ट’ गर्न आग्रह गरियो। म भनेँ—म अमेरिका राष्ट्रपति हुँ, के तपाईँहरूले यस्तो सोध्दै हुनुहुन्छ? तर जब सुजी वाइल्सले ‘सर, तपाईंले होस्ट गरिदिनुहोस्’ भनिन्, म तयार भएँ।”
यसैबीच, शुक्रबार ट्रम्पले केनेडी सेन्टरमा केही घण्टा बिताउँदै २०२६ को फिफा विश्वकप ड्रा कार्यक्रममा सहभागी भए र केन्द्रले प्रदान गरेको पहिलो ‘पीस प्राइज’ प्राप्त गरे। उनले क्यानडा र मेक्सिकोका नेतासँग पनि भेटवार्ता गरेका थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend