सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

माफी माग्दै प्रियंका र दुर्गेशले ‘मास्टर्नी’ को प्रमोशनल गीत हटाए

माफी माग्दै प्रियंका र दुर्गेशले ‘मास्टर्नी’ को प्रमोशनल गीत हटाए

42
Shares
42
Shares

काठमाडौँ । चलचित्र ‘मास्टर्नी’ को प्रमोशनल गीतलाई लिएर चौतर्फी आलोचना भएपछि नायिका तथा निर्मात्री प्रियंका कार्की र गायक दुर्गेश थापा ले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत युट्युबबाट हटाएका छन्।

गीतमा शिक्षण पेसा र शिक्षकहरूको सम्मानमा आँच पुग्ने खालका शब्द र दृश्य समावेश गरिएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको थियो। महासंघले गीत हटाउन र सार्वजनिक रूपमा क्षमा माग्न आग्रह गरेपछि सामाजिक सञ्जालमा पनि व्यापक आलोचना भएको थियो।

बढ्दो विरोधपछि चलचित्रकी निर्मात्रीसमेत रहेकी प्रियंका कार्कीले आफ्नो पहिलो निर्माण प्रयासमा कुनै पनि व्यक्ति, समुदाय वा पेसाको सम्मानमा ठेस पुर्‍याउने उद्देश्य नरहेको स्पष्ट पारेकी छन्। उनले अन्जानमा भएको त्रुटिप्रति क्षमा माग्दै उक्त गीत चलचित्रको प्रचार–प्रसारका लागि मात्र निर्माण गरिएको बताएकी छन्।

प्रियंकाले सार्वजनिक गरेको वक्तव्यमा सिर्जनात्मक प्रयासका क्रममा अनपेक्षित रूपमा केही पक्षको भावना आहत हुन पुगेको स्वीकार गर्दै त्यसप्रति आफू दुःखी रहेको उल्लेख गरेकी छन्। उनले प्राप्त सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा लिँदै भविष्यमा यस्ता विषयमा अझ संवेदनशील रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

यस्तै, गायक दुर्गेश थापाले पनि गीतका कारण शिक्षक समुदायको भावना आहत भएकोप्रति दुःख व्यक्त गर्दै आफ्नो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको अपमान गर्ने नभएको स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “हाम्रो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्‍याउने कदापि थिएन। तर, प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै मैले आफ्नो युट्युब च्यानलबाट उक्त गीत आधिकारिक रूपमा हटाइसकेको छु।”

चौतर्फी आलोचना र शिक्षक समुदायको विरोधपछि चलचित्रको प्रमोशनल गीत हटाइए पनि चलचित्र ‘मास्टर्नी’को प्रदर्शन तथा अन्य प्रचार–प्रसार कार्यक्रमबारे भने निर्माण पक्षले हालसम्म कुनै थप जानकारी सार्वजनिक गरेको छैन।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend