कोलोराडो । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी मे २२ देखि २५, २०२६ सम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा सञ्चालन हुने यो चार दिने सम्मेलनलाई सफल तथा व्यवस्थित बनाउन तयारी तीव्र गतिमा अघि बढाइएको छ ।
सम्मेलन तयारीका लागि नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ मा पहिलो पटक बसेको प्रारम्भिक बैठकमा कोलोराडो क्षेत्रमा रहेका साहित्यकार, संघसंस्था प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा सम्मेलनको उद्देश्य, कार्यक्रम संरचना, सम्भावित बजेट तथा यसअघि सम्पन्न आठ वटै अन्तर्राष्ट्रिय सम्मेलनको अनुभवसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकको सञ्चालन अनेसास कोषाध्यक्ष तारा अधिकारीले गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन संयोजक किरण अधिकारीले गरेका थिए । सम्मेलनको अवधारणा तथा विस्तृत योजना अनेसासका महासचिव राजु सिटौलाले प्रस्तुत गरेका थिए । बोर्ड अफ ट्रस्टीका चेयर पदम विश्वकर्माको प्रस्तुतीकरण, कोलोराडो शाखाको सम्मेलन तयारीबारे च्याप्टर अध्यक्ष किरण अधिकारीले जानकारी दिएका थिए।
महासचिव सिटौलाका अनुसार सम्मेलनको पहिलो दिन मे २२ मा वेलकम डिनर तथा सहभागीहरूको औपचारिक परिचयका कार्यक्रम हुनेछ । मे २३ का दिन उद्घाटन सत्रपछि साँझ गजल तथा कविता वाचन कार्यक्रम तय गरिएको छ । मे २४ का दिन मुख्य सत्र, समापन समारोह तथा साँझ आकर्षक सांस्कृतिक प्रस्तुति हुने बताइयो । अन्तिम दिन मे २५ मा साहित्यिक भ्रमण र डिनरको व्यवस्था गरिएको छ ।
सिटौलाका अनुसार नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न यो सम्मेलन महत्त्वपुर्ण हुनेछ । साहित्यकारहरूबिच विचार–विनिमय, अन्तरक्रिया, पुस्तक विमोचन तथा विविध सांस्कृतिक आदान–प्रदानका माध्यमबाट नेपाली साहित्यको वैश्विक सन्दर्भमा योगदान पुर्याउने उद्देश्य सम्मेलनले वहन गर्नेछ । साथै, यो वर्ष कोलोराडोमा बन्ने आजीवन सदस्यताबाट प्राप्त हुने सम्पुर्ण शुल्क च्याप्टरलाई उपलब्ध गराइने जानकारी पनि उनले दिए ।
बोर्ड अफ ट्रस्टीका चेयर पदम विश्वकर्माले अनेसास ३४ वर्षभन्दा पुरानो संस्थागत इतिहास बोकेको साहित्यिक संस्था भएको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय सम्मेलन, महिला सम्मेलन, पुस्तक प्रकाशन तथा क्षेत्रीय गतिविधि जस्ता कार्यक्रममार्फत विश्वभर नेपाली साहित्यको विस्तारमा महत्त्वपुर्ण योगदान गरिरहेको बताए । उनले आगामी मार्चमा जर्जियामा महिला साहित्य सम्मेलन आयोजना हुने जानकारी पनि बैठकमा प्रस्तुत गरे ।
उनले कोलोराडोलाई सम्मेलन स्थलका रूपमा चयन गर्न मागदाबीपुर्ण कारणहरू प्रस्तुत गर्दै भने, “कोलोराडो दुई पटक उत्कृष्ट च्याप्टर घोषित भइसकेको छ, २००३ देखि निरन्तर साहित्यिक गतिविधि चलिरहेको छ, यहाँका नेपाली संघ–संस्थाबिच एकता र सहकार्य उत्कृष्ट छ, र प्राकृतिक सौन्दर्यको कारणले पनि यो उपयुक्त स्थल बनेको हो ।”
सन् २००९ मा न्युयोर्कबाट सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाका विभिन्न राज्य, जापान, अस्ट्रेलिया, पोर्चुगल, बेलायत लगायतका देशमा भव्य रूपमा सम्पन्न हुँदै आएको छ । यस पटक कोलोराडोमा हुने सम्मेलनमा करिब १५० भन्दा बढी सहभागी आउने अनुमान गरिएको छ । करिब ५३ हजार अमेरिकी डलर खर्च हुने अपेक्षा गरिएको कार्यक्रमका लागि होटेल डु–रे इनसँग सम्झौता भइसकेको छ, जहाँका करिब ५० कोठा अग्रिम बुक गरिएको छ । सहभागीहरूका लागि मे २२ देखि नै खानपान सुविधा उपलब्ध गराइनेछ ।
कोलोराडो च्याप्टरका अध्यक्ष तथा संयोजक किरण अधिकारीले कार्यक्रम सफल बनाउन सबै समुदाय तथा संघ–संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै मुख्य समिति र अन्य उप–समितिहरू (यातायात, खाद्यान्न/फुड म्यानेजमेन्ट, आर्थिक, हल व्यवस्थापन, सांस्कृतिक, सुरक्षा, प्रकाशन आदि) गठन गरिने जानकारी दिए । सम्मेलनका लागि विशेषाङ्क प्रकाशनको सम्पादक पदम विश्वकर्मालाई जिम्मा दिएको पनि उनले बताए ।
बैठकमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सम्मेलन कोलोराडोमा आयोजना हुनु नेपाली भाषी समुदायका लागि गर्वको विषय भएको बताउँदै पुर्ण सहयोगको प्रतिबद्धता जनाए । डा. विजयराज शर्मा, नारायण श्रेष्ठ, रमेश गुरुङ, कुमारजङ कार्की, भुपेन्द्र महत, निमा शेर्पा, वसन्त लम्साल, गंगा चौलागाई, टिका पौडेल, आकृति राई, बिकाश त्रिपाठि, शान्ति भुसाल, अर्जुन बगाले, विजय देव अधिकारी लगायतका सहभागीहरूले उठाएका प्रश्नहरूको उत्तर महासचिव राजु सिटौला, ट्रस्टी चेयर पदम विश्वकर्मा तथा अध्यक्ष किरण अधिकारीले दिएका थिए ।
नेपाली घरका अध्यक्ष वसन्त लम्सालले सम्मेलन नेपाली घरमै आयोजना गर्न सुझाव अघि सारेका थिए, जसलाई रमेश गुरुङ, भुपेन्द्र महत, डा. विजयराज शर्मा, गंगा चौलागाई लगायत सबैले समर्थन जनाए । यसबारे अन्तिम निर्णय चाँडै सार्वजनिक गरिने महासचिव सिटौलाले जानकारी दिएका थिए ।
त्यसै गरी, अर्जुन बगालेले कामलाई उचित रूपमा क्याटागराइज गरी टोलीहरू बिच विभाजन गर्नुपर्ने सुझाव दिए भने आर्थिक समितिले प्रस्ताव तयार पारेर पेस गरे आर्थिक संकलनमा सहज हुने धारणा राखे ।
यसरी प्रारम्भिक तयारी तीव्र गतिमा अघि बढिरहेका अवस्थामा कोलोराडोमा हुन लागेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा ऐतिहासिक माइल स्टोन साबित हुनेछ भन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend