लिटिलटन, कोलोराडो । अमेरिकाको कोलोराडो राज्यस्थित लिटिलटन शहरमा नयाँ ग्यास स्टेशनहरूको निर्माणमाथि लगाइएको अस्थायी प्रतिबन्धलाई थप ६ महिनाका लागि बढाउनेबारे छलफल भइरहेको छ । शहरका नेताहरूले यस वर्षको मे महिनामा नयाँ ग्यास स्टेशन खोल्नमा अस्थायी रोक लगाउने निर्णय गरेका थिए, जसको मुख्य उद्देश्य वातावरणमा हुने प्रदुषण (Emission) कम गर्नु र स्वच्छ अर्थात बिध्युत यातायात (Electric Vehicles) तर्फको परिवर्तनलाई तीव्रता दिनु रहेको छ । यो कुराको भिडियो समाचार डेनभरको एबिसि न्युजमा आएको छ ।
प्रतिबन्धको कारण:
पर्याप्त ग्यास स्टेशन: लिटिलटन शहरले आफ्नो सीमाभित्र हाल नै २४ वटा ग्यास स्टेशनहरू रहेको जनाएको छ, जसको अर्थ शहरका लगभग हरेक २,००० बासिन्दाका लागि एउटा ग्यास स्टेशन उपलब्ध छ । जबकि राष्ट्रिय औसतमा २,२०० मानिसका लागि एउटा ग्यास स्टेशन रहेको छ। शहरले आफ्ना ४६,००० बासिन्दाका लागि हाल भएका स्टेशनहरू पर्याप्त भएको तर्क दिएको छ ।
विद्युतीय सवारीको लहर: कोलोराडो इनर्जी अफिसको तथ्याङ्कअनुसार, कोलोराडो नयाँ विद्युतीय सवारी बिक्रीमा राष्ट्रकै अग्रणी राज्य हो र हाल बिक्री हुने करिब २५% नयाँ सवारी साधनहरू विद्युतीय रहेका छन्। शहर परिषद्ले यही बढ्दो ‘इलेक्ट्रिक भेइकल’ को लहरलाई ध्यानमा राख्दै स्वच्छ यातायातलाई प्रोत्साहन गर्न यो प्रतिबन्ध आवश्यक रहेको बताएको छ ।
व्यवसायीहरूको चिन्ता:
लिटिलटन शहरमा विगत आठ वर्षदेखि ‘Horizon Food and Gas’ सञ्चालन गर्दै आएकी पुष्पा पौडेल (Puspa Poudel) लगायत स्थानीय व्यवसायीहरूले यो अस्थायी प्रतिबन्धलाई स्थायी बनाउनुपर्ने माग गरेका छन् । पुष्पा पौडेलका अनुसार, सहरमा धेरै ग्यास स्टेशन हुँदा ठुला चेन (Chain) स्टेशनहरूसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको छ। ठुला चेनहरूले सस्तो मूल्यमा सामान किन्ने भएकाले उनीहरूले ग्राहकलाई राम्रो ‘डिल’ दिन सक्छन्, जसले साना व्यवसायीहरूको व्यापारमा ठुलो असर पारेको छ।
लिटिलटन सिटी काउन्सिलले आज (समाचार तयार भएको दिन) सर्वसाधारणको धारणा सुन्न र प्रतिबन्धलाई थप १८० दिन बढाउने विषयमा अन्तिम निर्णय लिनका लागि सुनुवाइ आयोजना गर्दैछ। यो अस्थायी रोकको माध्यमबाट शहरले भविष्यमा स्थायी परिवर्तनका लागि आवश्यक योजना र नियमहरू (Unified Land Use Code) मा संशोधन गर्ने समय पाएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend