भारत । एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको ज्यान जाँदा एक्ला जीवित बच्ने व्यक्ति हुन् विश्वासकुमार रमेश । आफुलाई “संसारकै सबैभन्दा भाग्यशाली व्यक्ति” ठान्ने उनी अहिले शारीरिक र मानसिक रूपमा गहिरो पीडामा छन् ।
लन्डनतर्फ गइरहेको उक्त विमान गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो । मलबेबाट सकुशल बाहिर निस्केका उनको भिडियो र तस्वीर विश्वभर चर्चित बनेका थिए । बीबीसीसँग कुरा गर्दै उनले भने, “यो चमत्कारभन्दा कम होइन कि म बाँचें, तर म सबै गुमाएँ।” सो विमानमै उनका साना भाइ अजय सवार थिए, जसको मृत्यु भयो ।
मानसिक आघात र उपचारको कठिनाइ
इङ्ल्यान्डको लेस्टर फर्किएपछि उनी पोस्ट–ट्रौमाटिक स्ट्रेस डिसअर्डर (PTSD) बाट पीडित बनेका छन् । उनी हाल पत्नी र चार वर्षका छोरासँग बोल्नसमेत सक्दैनन् । उनका अनुसार, “अब म एक्लो छु, मौन बस्छु, कसैसँग कुरा गर्न मन लाग्दैन ।”
दुर्घटनाको क्षण र चोटपटक
उडान भरेको केही मिनेटमै बोइङ ७८७ विमानमा आगो लागेको थियो । सीट नम्बर ११A मा रहेका उनी बाँच्न सफल भए । उनको खुट्टा, काँध, घुँडा र ढाडमा गम्भीर चोट लागेको छ । अहिले उनी न गाडी चलाउन सक्छन्, न सहज रूपमा हिँड्न ।
भारतमा उपचारका क्रममा चिकित्सकहरूले उनलाई PTSD भएको पुष्टि गरे पनि बेलायत फर्किएपछि नियमित उपचार पाउन सकेका छैनन् । उनका सल्लाहकारहरूका अनुसार उनी अझै गहिरो त्रास र मानसिक संकटमा छन् ।
परिवारमा शोक र आर्थिक संकट
विश्वासकुमारका अनुसार दुर्घटनाले उनको परिवारलाई पनि पुर्ण रूपमा चक्नाचुर बनाएको छ । “म मेरी आमा दिनभर ढोकासामु बस्नुहुन्छ, कसैसँग बोल्न मन मान्दैन । घरभर शोक छ,” उनी भन्छन् ।
दुर्घटनापुर्व उनी र उनका भाइ गुजरातको दीवमा माछा व्यवसाय गर्थे, तर त्यो व्यवसाय अब बन्द भइसकेको छ । आर्थिक रूपमा पनि परिवार संकटमा परेको छ ।
क्षतिपुर्ति र असन्तुष्टि
एयर इन्डियाले उनलाई तत्कालीन क्षतिपूर्ति स्वरूप २१,५०० पाउन्ड (झन्डै २५ लाख रुपैयाँ) दिने प्रस्ताव गरेको थियो, जुन उनले स्वीकार गरेका छन्। तर उनका कानुनी सल्लाहकारहरूले यो रकम अत्यन्त न्युन भएको बताएका छन्।
परिवारका प्रवक्ता र्याड सिगरका अनुसार, एयर इन्डियासँग तीन पटक भेटको अनुरोध गर्दा पनि कुनै प्रतिक्रिया प्राप्त भएन। उनले भने, “आज हामी मिडियामार्फत चौथोपटक अपील गर्दैछौं कि एयर इन्डियाका अधिकारीहरूले यी पीडितहरूलाई भेटुन् र उनीहरूको पीडा बुझून् ।”
एयर इन्डियाको प्रतिक्रिया
एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी पीडित परिवारहरूसँग निरन्तर सम्पर्कमा छौं र हाम्रो संवेदना सधैं उनीहरूप्रति रहन्छ। विश्वासकुमार रमेशका प्रतिनिधिहरूसँग भेटका लागि प्रस्ताव पठाइसकिएको छ र हामी सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छौं।”
एयर इन्डियाले उक्त प्रस्ताव विश्वासकुमारको अन्तर्वार्ताअघि नै पठाइएको स्पष्ट गरेको छ ।
File Photo
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend