डेनभर, कोलोराडो । नजिकिँदै गरेको SNAP (Supplemental Nutrition Assistance Program) सुविधा कटौतीले कोलोराडो राज्यका ६ लाखभन्दा बढी मानिस र स्थानीय साना किराना पसलहरूमा गहिरो चिन्ता थपेको छ । यो सप्ताहन्तदेखि लागु हुने भनिएको यो कटौतीले राज्यको खाद्य सुरक्षा र अर्थतन्त्रमा व्यापक असर पार्ने देखिएको छ ।
६ लाखभन्दा बढी कोलोराडोवासीहरू प्रभावित
SNAP सुविधाहरूमा निर्भर रहेका ६ लाखभन्दा बढी कोलोराडोवासीहरू अब कम आर्थिक सहायताको सामना गर्न बाध्य हुनेछन् । दैनिक खाद्य वस्तु खरिदका लागि यो सहायतामा भर पर्ने मानिसहरूका लागि कटौतीको अर्थ सिधा भोकमरीको जोखिम बढ्नु हो ।
खास गरी महँगीको मार झेलिरहेका परिवारहरूका लागि, कटौतीले उनीहरूलाई सुपर मार्केटमा किनमेल गर्न पर्याप्त पैसा नभएपछि खाद्य बैंक (Food Banks) मा आश्रित हुन बाध्य पार्न सक्छ । यसले खाद्यान्न वितरण गर्ने परोपकारी संस्थाहरूमा पनि अत्यधिक दबाब सिर्जना गर्नेछ ।
साना किराना पसलहरूमा आर्थिक क्षति
SNAP सुविधाहरू प्रायः स्थानीय र साना किराना पसलहरूमा प्रयोग हुने गर्छन्। यदि ६ लाखभन्दा बढी मानिसहरूसँग किनमेल गर्ने पैसा कम भयो भने, यसले यी व्यवसायहरूको आम्दानीमा ठुलो गिरावट ल्याउनेछ ।
साना किराना पसलहरूले आफ्नो ग्राहक संख्या र बिक्रीमा उल्लेख्य कमी आउने चिन्ता व्यक्त गरेका छन्, जसले गर्दा उनीहरूको व्यवसाय सञ्चालनमा नै कठिनाइ आउन सक्छ। यस कटौतीको असर केबल लाभग्राहीहरूमा मात्र नभई सम्पूर्ण कोलोराडोको आर्थिक चक्रमा पनि पर्नेछ।
समग्र राज्यव्यापी प्रभाव
स्थानीय अधिकारीहरूका अनुसार, SNAP कटौतीको असर खाद्यान्न सहायतामा निर्भर रहेका परिवार र साना व्यवसायभन्दा बाहिर जान्छ। किनमेल गर्ने क्षमतामा आएको कमीले उपभोगमा समग्र गिरावट ल्याउन सक्छ, जसको व्यापक प्रभाव पुरै कोलोराडो राज्यको अर्थतन्त्रमा पर्नेछ ।
राज्यभरि मानिसहरू र व्यवसायहरूले यस आसन्न आर्थिक चुनौतीको सामना गर्न तयारी गरिरहेका छन्, तर यो कटौतीले स्थानीय समुदायहरूमा आर्थिक अस्थिरता थप्ने स्पष्ट संकेत दिएको छ।
होली मार्केटकी वनर ऊर्जा पौडेलको भनाइ
होली मार्केटकी मालिक ऊर्जा पौडेलले SNAP सुविधा कटौतीले आफ्नो बजार र स्थानीय बासिन्दामा गम्भीर असर पार्ने बताएकी छन् । उनका अनुसार बजारका करिब ७०% ग्राहकहरू SNAP प्रयोगकर्ताहरू हुन् । उनले भनिन्, “हामीलाई अब व्यवसाय कसरी चलाउने भन्ने ठ्याक्कै थाहा छैन। खर्च बढ्दैछ, तर ग्राहकहरूको खरिद शक्ति घट्दैछ ।”
सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँदै पौडेलले थपिन्, “धेरै मानिसहरू भोका छन्, थ्याङ्क्सगिभिङ नजिकिँदैछ। म त कुनै काम गरी गुजारा गर्न सक्छु, तर अरू परिवार र बच्चाहरूको अवस्था गम्भीर छ।”
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend