कोलोराडो । नेपाली लोक तथा आधुनिक गीत–संगीतका चर्चित कलाकारहरू समेटिएको भव्य सांगीतिक भ्रमण तथा सांस्कृतिक कार्यक्रम “ABA GAUCHHA AMERICA” अमेरिकाका विभिन्न शहरहरूमा आयोजना हुने क्रममा आइतबार अक्टुबर १२, २०२५ मा कोलोराडोमा हुने भएको छ। कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम एक विशेष सांगीतिक उत्सव बन्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रममा नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका निम्न कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी, उहाँले आफ्ना चर्चित र लोकप्रिय लोक तथा दोहोरी गीतहरू प्रस्तुत गर्नुहुनेछ भने चर्चित गायिका एलिना चौहान, पछिल्लो समयमा नेपाली सांगीतिक आकाशमा चम्किएकी एलिना चौहानले दर्शकहरूलाई आफ्ना हिट गीतहरूबाट मनोरञ्जन दिलाउनेछिन् । त्यस्तै आधुनिक संगीतमा छुट्टै पहिचान बनाएका प्रताप दासले पनि आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकहरूलाई झुमाउने छन् ।
वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनीले कार्यक्रममा आफ्नै विशेष पहिचान बनाएका गीतहरू प्रस्तुत गर्नेछन् । उनले दर्शकहरूलाई ‘ससुरालीमा’, ‘कन्या राशि’, र ‘रातो पछ्यौरी’ जस्ता मार्मिक तथा रमाइला लोकगीतहरूको स्वाद पस्किनेछन् ।
पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानले कार्यक्रममा आफ्ना ‘धोकेबाज हौ तिमी’, ‘कट्टै हान्दिन्छु’, र ‘दुश्मन हेरेको हेरै’ जस्ता हिट गीतहरू सुनाउनेछिन्। उनका यी गीतहरू युवापुस्तामाझ निकै लोकप्रिय छन्।
आधुनिक संगीतका चर्चित गायक प्रताप दासले पनि आफ्ना बहुचर्चित गीतहरू गाएर माहौल तताउनेछन्। उहाँले ‘फोटो फिरिममा’, ‘फुल होइन काँडा’, र ‘मोटरसाइकलमा’ बोलका कर्णप्रिय गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कलाकारहरूको यस टोलीले कोलोराडोका दर्शकहरूलाई नेपाली कला, संस्कृति र संगीतको अनुपम स्वाद पस्किनेछ । नेपाली समुदायमा सांगीतिक चेतना फैलाउने र मौलिक संगीतको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ। आयोजक टिम मध्येका सुमन के सिले युएस नेपाल टुडे डट कमलाई दिएको जानकारी अनुसार यो कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन सम्पुर्ण तयारी पुरा भइसकेको छ ।
नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यस ऐतिहासिक सांगितिक यात्रा FLY NEPA TRAVEL को आयोजनामा सम्पन्न हुँदैछ।
आयोजकहरूले कोलोराडोमा रहेका सम्पुर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो सांगीतिक उत्सवमा सहभागी भई कलाकारहरूको प्रस्तुतिको आनन्द लिन हार्दिक अनुरोध गरेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend