कोलोराडो – वाशिङ्गटन, डी.सी. स्थित नेपाली राजदुतावासले संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरूका लागि राहदानी सेवा शिविर सञ्चालन गर्दैछ । राजदुतावासले सेप्टेम्बर २५, २०२५ मा एक अत्यन्त जरुरी सुचना जारी गर्दै वेस्टमिन्स्टर शहरमा तीन दिने शिविर आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली घर (नेपाल अमेरिका सोसियो कल्चरल एक्सचेन्ज सोसाइटी) मा सञ्चालन हुनेछ । शिविरको ठेगाना 4001 W 76th Avenue, CO, 80030 रहेको छ र सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ ।
अनलाइन आवेदन कसरी दिने?
राजदुतावासले शिविरमा सहभागी हुन चाहने आवेदकहरूका लागि अनलाइन फाराम भर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिएको छ:
सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा मोबाइलको समय क्षेत्र (Time Zone) “Kathmandu, Nepal” मा सेट गर्नुपर्नेछ।
त्यसपछि, राहदानी विभागको वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गई ‘Apply for Passport’ छनौट गर्नुपर्छ।
राहदानी नवीकरणका लागि ‘Renewal/Replacement’ र हस्तलिखित राहदानी नवीकरणका लागि ‘First Issuance’ छनौट गरी साधारण ३४ वा ६६ पृष्ठको विकल्पमा अगाडि बढ्नुपर्नेछ। ‘Appointment Location’ मा ‘Other’ छनौट गरी ‘Appointment Country’ मा ‘Washington DC’ चयन गर्नुपर्नेछ ।
यस घुम्ती शिविरका लागि विशेष रूपमा उपलब्ध गराइएको अक्टोबर ११ र १२, २०२५ को मिति छनौट गरी फाराम भरेर अन्त्यमा बारकोड सहितको PDF फाराम डाउनलोड गरी प्रिन्ट गर्नुपर्नेछ ।
आवेदकले आफ्नो पालोको मिति र समयबारे स्थानीय संयोजकबाट इमेल वा टेलिफोनमार्फत जानकारी प्राप्त गर्नेछन् ।
शिविरमा उपस्थित हुँदा आवश्यक कागजातहरू
आवेदकहरूले देहायका कागजातहरूको सक्कल र प्रतिलिपि सहित स्वयं उपस्थित हुनुपर्नेछ:
नेपाली नागरिकताको प्रमाणपत्र ।
सक्कल राहदानी ।
बारकोड सहितको प्रिन्ट गरिएको अनलाइन फाराम ।
नाबालकको हकमा, नाबालक परिचयपत्र वा जन्म दर्ता, बाबुआमाको नागरिकताको प्रतिलिपि र जिल्ला प्रशासन कार्यालयद्वारा जारी विवाह दर्ता प्रमाणपत्र ।
राहदानी बनेर आएपछि आवेदकको ठेगानामा पठाउनका लागि आफ्नो पुरा नाम र ठेगाना लेखिएको पैसा तिरिसकेको फिर्ती खाम (Self-addressed Priority Express Prepaid Return Envelope)।
सेवा शुल्क र भुक्तानी
राहदानी दस्तुर डेबिट वा क्रेडिट कार्डबाट मात्र भुक्तानी गर्न सकिनेछ।
३४ पृष्ठको नयाँ राहदानीका लागि १५० डलर (+३% क्रेडिट कार्ड शुल्क),
६६ पृष्ठको लागि २०० डलर (+३%), र
१० वर्ष मुनिका नाबालकका लागि ७५ डलर (+३%) शुल्क तोकिएको छ ।
‘नेपाली घर’का अध्यक्ष वसन्त लम्सालले ‘युएस नेपाल टुडे’ सञ्चारमाध्यमसँग कुरा गर्दै दुतावासले एनआरएन कार्ड आवेदन पनि लिने जानकारी दिनुभएको छ ।
एनआरएन कार्ड आवेदनमा आवश्यक कागजातहरू:
सबै कागजातका प्रतिलिपिहरू आवेदक आफैँले प्रमाणित गर्नुपर्नेछ। (प्रतिलिपिको पछाडि “True Copy” लेखी आफ्नो हस्ताक्षर र मिति लेख्नुहोस्)।
प्रिन्ट गरिएको र हस्ताक्षर गरिएको अनलाइन आवेदन फाराम (https://nrn.mofa.gov.np/#/dashboard) एकाउन्ट बनाउनु पर्छ ।
अमेरिकी नागरिकताको प्रमाणपत्र प्रतिलिपि
अमेरिकी राहदानी (पासपोर्ट) को प्रतिलिपि
नेपाली नागरिकताको प्रतिलिपि
हालसालै खिचिएको पासपोर्ट आकारको फोटो (४५ मि.मि. x ३५ मि.मि., ४००x३०० पिक्सेल)
ट्र्याकिङ नम्बर सहितको, आफ्नो ठेगाना लेखिएको र टिकट टाँसिएको फिर्ता खाम। Self-Addressed Prepaid Return Envelope with Tracking Number
शुल्क बुझाउने तरिका:
क्यासियर चेक वा मनी अर्डर “The Embassy of Nepal, Washington, D.C.” को नाममा ५२० डलरको बनाउनु पर्नेछ ।
राजदुतावासले तोकिएको शुल्क बाहेक अन्य कुनै अतिरिक्त रकम कसैलाई नदिन र मागेमा दुतावासमा खबर गर्न अनुरोध गरेको छ।
थप जानकारीका लागि नेपाली घरको फोन नम्बर ७२०-३१०-०६११ वा अन्य स्थानीय सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend