बोल्डर, कोलोराडो – अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायले आज आइतबार इन्द्र जात्रा पर्व भब्य तथा धुमधामसँग मनाएका छन् । कार्यक्रम बोल्डर शहरको बेन्डसेलमा भएको थियो । कार्यक्रमको आयोजना नेःवा खल कोलोराडोले गरेको हो ।

संस्था अध्यक्ष भुषण श्रेष्ठले युएस नेपाल टुडेसँग कुरा गर्दै कार्यक्रममा १,००० जना भन्दा बढिको सहभागिता रहेको जानकारी दिएका छन् । कार्यक्रमको सुरुवात पुजाआजा गरेर भयो ।

कोलोराडोका गभर्नर आउने भनिए पनि आकस्मिक कारणले आउन सकेनन् । बोल्डरकी डेपुटी मेयर लरेन फोल्कर्ट्सले कुमारी रथमा भैरवलाई फुलमाला लगाएर कार्यक्रम उद्घाटन गरिन् । त्यसपछि रथ तानेर जात्रा सुरु गरियो ।

जात्रापछि विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरियो । कार्यक्रममा कुमारी नृत्य, परम्परागत नृत्य र धिमे नृत्य प्रस्तुत गरिएका थियो । नृत्य गर्नेहरूमा अवनि श्री महर्जन, मेलिस्सा तथा सि-यु टिम, मेघा, अतिसा, जेनिशा र मिस कावा रहेका थिए । हेल्पिङ हेन्डका नारायण श्रेष्ठले यसपालिको कार्यक्रम एक दिन मात्र भए पनि अर्को वर्षबाट तीन दिनसम्म इन्द्र जात्रा मनाउने योजना रहेको जानकारी दिए ।
कार्यक्रमको सञ्चालन अतिशा बज्राचार्य र सबिता श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
इन्द्र जात्रा नेवार समुदायको महत्वपुर्ण पर्व हो । यो भाद्र शुक्ल द्वादशीदेखि आठ दिनसम्म मनाइन्छ । इन्द्र जात्राको मुख्य आकर्षण भनेको कुमारी, गणेश र भैरवको रथयात्रा हो। यस अवसरमा कुमारीलाई जीवित देवीका रूपमा मानिन्छ र उनको रथमा यात्रा गराइन्छ। साथै लाखे नाच, पुलुकिसि नाच र देवदेवताको मुखौटै नृत्य पनि प्रस्तुत गरिन्छ।

यस पर्वमा विशेष परिकार समयबजी बाँड्ने परम्परा छ, जसमा चिउरा, भटमास, मासु, माछा, अण्डा आदि परिकार राखिन्छ। यसरी भोजसहितको धार्मिक तथा सांस्कृतिक गतिविधिले परिवार र समुदायबिच एकता बढाउने काम गर्छ ।

परम्परागत रूपमा इन्द्र जात्रामा दिवङ्गत आत्माको सम्झनामा दान गर्ने र नगर परिक्रमा गर्ने चलन पनि रहँदै आएको छ । यस कारण इन्द्र जात्रालाई सांस्कृतिक, धार्मिक र सामाजिक एकताको प्रतीक मानिन्छ ।




इन्द्र जात्राका अन्य तस्बिरहरू
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend