कोलोराडो स्प्रिङ । अमेरिकाको कोलोराडो स्प्रिङ्ग्समा बसोबास गर्ने नेपाली समुदायले गत शुक्रवार (अगस्ट १५, २०२५) हरितालिका तिज २०८२ पर्व भव्यतापुर्वक मनाएको छ । नेपाली एसोसिएसन अफ कोलोराडो स्प्रिङ्ग्सले आयोजना गरेको यस सांस्कृतिक कार्यक्रममा राज्यभरिका विभिन्न सहरहरूबाट करिब १६० जना नेपालीहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रम कोलोराडो स्प्रिङ स्थित वेस्टसाइड कम्युनिटी सेन्टर (१६२८ डब्लू विजाउ स्ट्रिट) मा साँझ ६ बजेदेखि राति १० बजेसम्म चलेको थियो । डेनभर र पुएब्लो लगायतका स्थानहरूबाट आएका नेपालीहरूले पर्वको उल्लासलाई सङ्गीत, नृत्य र हास्यमैत्रीबाट दोश्रो देशमा पनि कायम राखेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण महिलाहरूको परम्परागत सज-सज्जा थियो । प्रायः सबै महिलाहरूले शुभ र शक्तिसुचक रातो सारी लगाएका थिए र परम्परागत गहनाहरूले सजिएका थिए, जसले हरितालिका तिजको सांस्कृतिक, धार्मिक र सामाजिक महत्वलाई मनोरम रूपमा उजागर गरेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई नेपाली स्वादको अनुभूति गराउन सेल रोटी, खीर, परम्परागत शाकाहारी तथा मासुको व्यञ्जनहरू पस्किएका थिए । यो व्यञ्जनहरूले सहभागीहरूलाई मातृभूमिको मायामा डुबाएको थियो र विदेशमा पनि आफ्नो समृद्ध संस्कृतिलाई जिउँदो राख्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको थियो ।

Nexa Mortgage का मोर्टगेज कन्सल्टेन्ट सन्देश पोखरेलको प्रायोजनमा सम्पन्न भएको यस कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । संस्थाले कार्यक्रममा उपस्थित सबै सहभागीहरू, सेवा दिएका स्वयंसेवकहरू र प्रायोजकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सांस्कृतिक गतिविधिहरू जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ ।
यसरी, कोलोराडो स्प्रिङ्ग्समा रहेका नेपालीहरूले विदेशी माटोमा पनि आ-आफ्नै ढंगले हरितालिका तिजको पावन पर्व मनाउँदै आफ्नो सांस्कृतिक पहिचान कायम राखेका छन् ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend