डेनभर । कोभिड–१९ महामारीका बेला सरकारी राहत कार्यक्रमअन्तर्गत १२ लाख ४३ हजार डलरभन्दा बढी ऋण लिएर ठगी गरेको अभियोगमा कोलोराडोका ७४ वर्षीय व्यवसायी स्टिभ रान्डल होलाई साढे दुई वर्ष जेल सजाय सुनाइएको छ ।
होले आफ्ना ६ व्यवसायका नाममा विभिन्न ६ बैंकबाट १० वटा ऋण लिएका थिए । उनले कर्मचारी संख्या, तलब विवरण तथा करसम्बन्धी कागजातमा गलत जानकारी दिएर ऋण लिएको अनुसन्धानबाट खुलेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
उनले एक किस्ता पनि नतिर्दै सबै ऋण मिनाहा गराएका थिए । ठगीबाट प्राप्त रकम घर खरिद, विभिन्न सामान, कानुनी सेवा र यात्रामा खर्च गरेको अभियोजन पक्षले जनाएको छ ।
अदालतले बैंकहरूलाई १२ लाख ५३ हजार ६९१ डलरभन्दा बढी रकम फिर्ता गराउन होका सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाउन आदेश दिएको छ । साथै उनलाई १५ हजार डलर जरिवाना पनि गरिएको छ ।
संघीय अनुसन्धान ब्युरो (एफबीआई) र आन्तरिक राजस्व सेवा (आईआरएस) ले घटनाको अनुसन्धान गरेका थिए। होका पाँच व्यवसाय डेनभरमा र एउटा फोर्ट कोलिन्समा रहेको बताइएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend