बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कोलोराडोमा नयाँ वर्ष २०८३ को अवसरमा सांस्कृतिक साँझ सम्पन्न

कोलोराडोमा नयाँ वर्ष २०८३ को अवसरमा सांस्कृतिक साँझ सम्पन्न

271
Shares
271
Shares

कोलोराडो । कोलोराडोस्थित पुरानो नेपाली संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) को आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा लोकगायक धर्मेन्द्र सेवानको उपस्थितिमा भव्य सांस्कृतिक साँझ सम्पन्न भएको छ ।

शनिवार साँझ नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा आयोजित कार्यक्रममा सहभागीहरू दौरा–सुरुवाल, ढाका टोपी, गुन्यु–चोली लगायत विभिन्न जातीय भेषभुषामा सजिएर उपस्थित भएका थिए ।

कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट गरिएको थियो भने प्रमुख अतिथि तथा संस्थाका पुर्व अध्यक्ष विनोद त्रिपाठी र विशेष अतिथिहरू टीका पौडेल र पदम विश्वकर्माले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थाकी अध्यक्ष आकृति राईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।

यसै अवसरमा युथ कोर्डिनेटर विष्णु विवेकद्वारा लिखित पुस्तक ‘घाट गाउँ’को विमोचन समेत गरिएको थियो । पुस्तकबारे पदम विश्वकर्मा र अर्जुन बगालेले समीक्षा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय बाल कलाकारहरूले लोक, आधुनिक तथा देशभक्ति गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथै, लोकगायक धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कोलोराडो कि गायिका सम्झना पाण्डे, रनिशराज मैनाली र गायक जयराम लामिछाने लगायत कलाकारहरूले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागी कलाकारहरू तथा आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष आकृति राईको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन रेखा धौराली र विष्णु विवेकले संयुक्त रूपमा गरेका थिए ।

Photo: Jenisha Chudal

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend