बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कोलोराडोमा नक्कली ‘ज्यानाक्स’ (Xanax) को खतरा: DEA को आपतकालीन चेतावनी

कोलोराडोमा नक्कली ‘ज्यानाक्स’ (Xanax) को खतरा: DEA को आपतकालीन चेतावनी

106
Shares
106
Shares

कोलोराडो । अमेरिकाको कोलोराडो लगायत विभिन्न राज्यहरूमा चिन्ता कम गर्ने औषधि ‘ज्यानाक्स’को नक्कली र खतरनाक संस्करण फैलिन थालेपछि यूएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (DEA) ले आपतकालीन चेतावनी जारी गरेको छ।

‘ब्रोमाजोलाम’ नामक पदार्थ मिसाइएको उक्त नक्कली औषधि अत्यधिक लत लाग्ने र गम्भीर स्वास्थ्य समस्या वा मृत्यु समेत गराउन सक्ने बताइएको छ। अरापाहो काउन्टी कोरोनर कार्यालयका अनुसार केही ओभर डोज घटनामा ब्रोमाजोलाम फेला परेको छ, जसले यो समस्या स्थानीय क्षेत्रमा नै फैलिएको पुष्टि गर्छ।

DEA का अधिकारी जर्ज टेलरका अनुसार ब्रोमाजोलामलाई ‘कन्ट्रोल्ड सब्स्ट्यान्स एक्ट’ अन्तर्गत अनुसूची–१ मा राखिएको छ, जसअनुसार यसको उत्पादन, वितरण वा प्रयोगमा कडा कानुनी कारबाही हुन्छ। उनले यसलाई “सार्वजनिक सुरक्षामा तत्काल खतरा” बताएका छन्।

नक्कली ज्यानाक्स पहेँलो रंगको हुने र त्यसमा ‘Xanax’ नाम नलेखिएको हुन्छ भने वास्तविक औषधि सेतो र चिन्हहरू मात्र भएको हुन्छ।

डेनभर हेल्थको रकी माउन्टेन प्वाइजन सेन्टरकी निर्देशक डा. शिरीन बनर्जीका अनुसार यस्ता नक्कली औषधिले केही सेकेन्डमै श्वासप्रश्वास रोक्न सक्छ वा व्यक्तिलाई कोमामा पुर्‍याउन सक्छ।

विशेषज्ञहरूले सस्तोमा औषधि खोज्ने वा बिमा नभएका व्यक्तिहरू यस्ता नक्कली औषधिको मुख्य निशाना बन्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले चिकित्सकको सिफारिस बिना र आधिकारिक फार्मेसी बाहिरबाट औषधि नकिन्न आग्रह गरेका छन्।

राष्ट्रिय विष रोकथाम सप्ताहको सन्दर्भमा स्वास्थ्यकर्मीहरूले अवैध रूपमा बिक्री हुने औषधिबाट टाढा रहन र यस्ता घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्।

नक्कली औषधि भेटिएमा DEA लाई जानकारी दिन र आपतकालीन अवस्थामा रकी माउन्टेन प्वाइजन सेन्टरको हटलाइन 1-800-222-1222 मा सम्पर्क गर्न सकिनेछ।

(Photo Credit: U.S. Drug Enforcement Administration)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend