अमेरिका — इरानका नेताहरूले यस वर्षको विश्वकपमा सहभागी हुनु “सम्भव छैन” भन्दै प्रतिक्रिया दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानी टोलीलाई अमेरिका आउन अझै पनि स्वागत रहेको संकेत दिएका छन्।
मंगलबार ह्वाइट हाउसमा ट्रम्पले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोसँग निजी भेटवार्ता गरेका थिए। उक्त जानकारी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्।
भेटका क्रममा ट्रम्पले “इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन निश्चित रूपमा स्वागत छ” भन्ने कुरा पुनः दोहोर्याएको इन्फान्टिनोले पोस्टमा उल्लेख गरेका छन्।
ह्वाइट हाउसका एक अधिकारीले पनि निजी वार्ताबारे जानकारी दिन नाम नखुलाउने सर्तमा ट्रम्पले इरानको सहभागिताबारे इन्फान्टिनोलाई यही सन्देश दिएको पुष्टि गरेका छन्।
गत जुनदेखि ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिअन्तर्गत इरानमाथि अमेरिकामा यात्रा प्रतिबन्ध लगाइएको छ। तर लक्षित देशका खेलाडी र प्रशिक्षकहरूलाई भने उक्त प्रतिबन्धबाट छुट दिइएको छ, जसका कारण इरानी राष्ट्रिय टोलीलाई अमेरिका प्रवेश गर्न अनुमति हुनेछ।
यस वर्षको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend