बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

डलरको भाउ बढ्दा नेपाललाई हुने तीन मुख्य फाइदा

डलरको भाउ बढ्दा नेपाललाई हुने तीन मुख्य फाइदा

59
Shares
59
Shares

काठमाडौँ । पछिल्ला केही सातादेखि अमेरिकी डलरको भाउ नेपाली रुपैयाँको तुलनामा ऐतिहासिक उच्च बिन्दुको आसपास स्थिर छ। गत महिना १४५ रुपैयाँ नाघेको डलरको बिक्रीदर मङ्गलवार १४४.७५ रुपैयाँ कायम भयो । सन् २०२५ मा विश्व बजारमा डलर केही कमजोर देखिए पनि भारतीय रुपैयाँको तुलनामा भने बलियो नै रह्यो।

नेरु र भारुबिचको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि वर्षभरि अवमूल्यन भयो । आयातमुखी अर्थतन्त्रका कारण यसले समग्रमा चुनौती थपे पनि केही क्षेत्रले भने महँगो डलरबाट प्रत्यक्ष फाइदा लिइरहेका छन्। ती क्षेत्रहरू यस प्रकार छन् ।

१. निर्यात (निकासी)
सन् २०२२ देखि २०२४ को अन्त्यसम्म १३०–१३५ रुपैयाँको हाराहारीमा रहेको डलरको मुल्य अहिले १४५ रुपैयाँ आसपास पुगेपछि नेपालबाट हुने निर्यात अन्तर्राष्ट्रिय बजारमा सस्तो हुन पुगेको छ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कअनुसार निर्यात ७७ प्रतिशतले बढेर ९३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात प्रवर्द्धन समितिका प्रमुख नरेशलाल श्रेष्ठका अनुसार, “डलर महँगिँदा निर्यातकर्तालाई स्पष्ट फाइदा भएको छ । पहिले एक डलरको १२० रुपैयाँ पाउँदा भन्दा अहिले १४५ रुपैयाँ पाउँदा आम्दानी बढ्नु स्वाभाविक हो ।”

डलर बलियो हुँदा विदेशी ग्राहकका लागि नेपाली वस्तु सस्तो पर्ने भएकाले निर्यात थप आकर्षक हुने अपेक्षा गरिएको छ। तर निर्यात वस्तुमा विविधता नहुँदा नेपालले सम्भावित फाइदा पुर्ण रूपमा लिन नसकेको विज्ञहरूको भनाइ छ । अहिले पनि भटमासको तेल, पाम तेलजस्ता प्रशोधनमुखी वस्तु नै मुख्य निर्यातमा छन् ।

सिक्काको अर्को पाटो: निर्यातमा फाइदा भए पनि आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर महँगिँदा नेपाललाई ठुलो नोक्सानी पनि भइरहेको छ। सोही अवधिमा ६०९ अर्ब रुपैयाँको आयात हुँदा व्यापार घाटा करिब ५१६ अर्ब रुपैयाँ पुगेको छ । डलरको मुल्य बढेसँगै आयात खर्च थप बढ्ने भएकाले व्यापार घाटामा दबाब बढिरहेको छ ।

२. पर्यटन आय
डलर बलियो हुँदा विदेशी पर्यटकका लागि नेपाल खर्चका हिसाबले सस्तो गन्तव्य बन्छ। त्यसको सकारात्मक असर पर्यटन आम्दानीमा देखिन थालेको छ।

सन् २०२५ को सेप्टेम्बरमा भएको जेन जी आन्दोलनका कारण पर्यटन क्षेत्रमा ठुलो क्षति पुगे पनि वर्षको अन्त्यसम्म आइपुग्दा अवस्था अपेक्षाभन्दा छिटो सुधारिएको पर्यटन व्यवसायीहरू बताउँछन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठका अनुसार, “जेन जी आन्दोलनपछि पर्यटन क्षेत्र सोचेभन्दा चाँडै तङ्ग्रियो, यसमा डलरको मुल्यले पनि केही भुमिका खेलेको हुन सक्छ ।”

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल आएका छन्, जुन कोभिडअघिको आगमनको करिब ९७ प्रतिशत हो। चालु आर्थिक वर्षको चार महिनामा पर्यटन आय २७ अर्ब रुपैयाँ नाघेको छ भने पर्यटनसम्बन्धी ४७६ परियोजनामा ३० अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

सिक्काको अर्को पाटो: पर्यटन आय बढे पनि नेपालीहरूले विदेश भ्रमण गर्दा वा विद्यार्थीहरूले विदेशमा अध्ययन गर्दा हुने खर्च भने डलर महँगिँदा बढेको छ। राष्ट्र बैंकका अनुसार चार महिनामै शिक्षाका लागि ४८ अर्ब रुपैयाँ र विदेश भ्रमणमा २६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

३. रेमिटेन्स
नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिटेन्स आम्दानीमा पनि डलर महँगिँदा सकारात्मक प्रभाव परेको छ। विदेशबाट समान परिमाणको रकम पठाउँदा पनि डलर बलियो हुँदा नेपालमा प्राप्त हुने रकम बढ्छ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार साउनदेखि चार महिनामा रेमिटेन्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढेर ६८७ अर्ब रुपैयाँ पुगेको छ।

सिक्काको अर्को पाटो: रेमिटेन्स बढिरहँदा डलरमा लिइएका वैदेशिक ऋणको भार पनि तीव्र रूपमा बढिरहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिरसम्म नेपालको बाह्य ऋण १४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ, जसको अधिकांश भुक्तानी डलरमै गर्नुपर्नेछ। डलर महँगिँदै जाँदा मात्रै अतिरिक्त ४४ अर्ब रुपैयाँभन्दा बढीको भार थपिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend