बोल्डर, कोलोराडो । तामु प्ये ल्हु अमेरिकाद्वारा ल्होसार पर्वको अवसरमा हिजो मङ्गलवार आयोजित ल्होसार विशेष महोत्सव (कार्यक्रम) भव्य र सफल रूपमा सम्पन्न भएको छ।
ल्होसार हरेक वर्ष नेपाल पात्र अनुसार ल्होसार पुस १५ देखी मनाउने गर्दछ । जसमा पुसको रातिको १२:०० बजे देखी वर्ग फेरिने गरिन्छ । जसमा वर्ग हरेक १२ वर्षपछि फेरि त्यही वर्ग आउने गरिन्छ । जसमा यस वर्ष तल्हो (घोडा) वर्ग आएको छ । यो फेरि पुन १२ वर्षपछि आउने छ । त्यसैले एक वर्गबाट अर्को वर्गमा सर्ने चलन छ त्यसैले एक ल्होबाट अर्को ल्होमा सर्न गइरहेको छ । हाम्रो प्येमा ( शास्त्र) तल्हो स्यार्ब/स्यार्मा मुब्रु ल्हो सोँक्ह्याँ तमो, ह्युइल्हो सिक्यों तमो, ङ्ह दै कु थिँसु तमो, च्यु ह्रोंक्याँ तमो भन्ने गरिन्छ । गुरुङ ३ पुरोहित पच्यु , ल्होरी/क्लेह्प्रि र बोन्पो लमाहरू जाँदै गरेको वर्ग र आउँदै गरेको वर्गबाट पुर्यऔन सक्ने नकारात्मक असरबाट रक्षा, बन्धन स्वस्तिशान्ती छ्योपा त्हें गरिन्छ। यो पर्व तामु समुदायमा विशेष हर्षोल्लासका साथ मनाइन्छ।

कार्यक्रममा संस्थाका प्रतिनिधि भक्त गुरुङले प्रमुख अतिथि बोल्डर सहरका मेयर आरोन ब्रोकट (Aaron Brockett), धर्मगुरु तथा कोलोराडो समुदायका प्रतिनिधिहरूलाई फेटा लगाई फुलगुच्छासहित सम्मान गर्नुभयो । यसै गरी उपस्थित महिला अतिथिहरूलाई दोसल्ला ओढाइ कदर–सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोल्डर सहरका मेयर आरोन ब्रोकटले ल्होसारजस्तो ऐतिहासिक तथा सांस्कृतिक पर्वको विशेष कार्यक्रम बोल्डर सहरमै आयोजना हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले तामु समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई प्रवासमा पनि जीवित राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने प्रयास सराहनीय रहेको बताउनुभयो। साथै, यस्ता कार्यक्रमहरूले बोल्डर सहरलाई अझ बहुसांस्कृतिक, समावेशी र एकतामूलक बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थालाई सफल कार्यक्रमका लागि बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

खेजी(पुरोहित)हरू पाछ्यु चिवा तिल बी. ङोर्मे तामु र तोउ बी. क्रोम्छे तामुले ल्होसार महोत्सव सुरु हुनु अघि दिनभर ‘च्योपा तेह’ नामक धार्मिक अनुष्ठान सञ्चालन गरेका थिए, जसमा शान्ति, राम्रो स्वास्थ्य, कल्याण र समृद्धिको लागि केवल हाम्रो समुदायका लागि मात्र नभई सम्पुर्ण राज्य, राष्ट्र र विश्वका लागि पवित्र प्रार्थनाहरू अर्पण गरिएको थियो । “एक पवित्र मन्त्र उच्चारण, जुन शास्त्रीय भाषामा गरिन्छ,” उक्त भाषालाई “छोन” भाषा भनिन्छ ।
चक्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परम्परागत दियोमा बत्ती बालेर प्रमुख अतिथि मेयर आरोन ब्रोकटले औपचारिक उद्घाटन गर्नुभयो। यस अवसरमा तामु, नेपाली तथा अमेरिकी राष्ट्रिय/सामुदायिक गान प्रस्तुत गरियो। स्वागत मन्तव्य तथा ल्होसार शुभकामना सन्देश संस्थाका उपाध्यक्ष ढकबहादुर लेगे, टिपबहादुर, प्रेमा गुरुङ, मीनबहादुर गुरुङलगायत बौद्धिक व्यक्तिहरूले व्यक्त गर्नुभयो। साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गरियो र नौ वर्षमुनिका बालबालिकालाई उपहार वितरण गरियो।
तामु प्ये ल्हु अमेरिका (Tamu Pye Lhu Americas) ले विशेष समारोहमार्फत अन्तर्राष्ट्रिय बक्सिङमा समुदायको नाम उजागर गर्ने योगदानको कदर गर्दै युवा खेलाडी प्रतीक गुरुङ र प्रिकासा गुरुङलाई ‘सर्टिफिकेट अफ एप्रीसिएसन’ सहित सम्मान गरेको छ।

औपचारिक सत्रपछि सम्पन्न सांस्कृतिक कार्यक्रममा तामु समुदायको मौलिक पहिचान झल्काउने विविध नृत्य, गीत तथा परम्परागत पोसाक प्रदर्शन गरियो। गुरुङ गीत ‘ताले तिया’, ‘साइलोमा चरघरे’, ‘मुस्कुराउँदै हेर्ने उनीलाई’, ‘सुन रे माई’, ‘हे कान्छी’, ‘ङाइ नसरी’, ‘ङोल्स्यो राम रानी’, ‘दिल यो मेरो’ लगायतका प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। कार्यक्रमको अन्त्यमा खुला नृत्य (ओपन फ्लोर डान्स) समेत आयोजना गरियो।

समग्रमा, ल्होसार विशेष यो कार्यक्रमले तामु समुदायको संस्कृति, पहिचान र एकताको सन्देश प्रवाह गर्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्। कार्यक्रमको समापनमा शन्कर गुरुङ तथा उहाँका साथीहरूले परम्परागत चुड्का बाजा प्रस्तुत गरी माहौललाई थप उल्लासमय बनाएका थिए।

कार्यक्रमको पहिलो सत्र सन्तोष गुरुङ र दोस्रो सत्र कालीमाया गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा समुदायका वरिष्ठ नागरिक, नेपाली संघसंस्थाका प्रतिनिधि, अमेरिकन नागरिक, सल्लाहकार तथा बौद्धिक व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend