मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

समयले सुमसुम्याएका डायरीका क्षणहरू

समयले सुमसुम्याएका डायरीका क्षणहरू

यात्रा-स्मरण

177
Shares
177
Shares

आज काम विशेषले पुरानो दराज खोल्दै छु। नत्र त म प्राय: यो दराज खोल्दै खोल्दिन। पुराना कागजपत्र, मेरा जीवनभरका प्रमाणपत्रहरू यो दराजमा थन्किएर रहेका छन्। अब मलाई मेरो प्रमाणपत्रको कुनै आवश्यकतै छैन। अवकाश जीवनमा प्रमाणपत्रको महत्त्व खासै नहुँदो रहेछ।

तर आज यो दराज खोलेकी छु। खोल्दै जाँदा कागजहरू हेर्दै जान्छु। आफ्ना प्रमाणपत्रहरू एक-एक गरेर हेर्छु । मलाई आज खासै चाख लाग्दैन ती प्रमाणपत्रमा। एउटा डायरी पाउँछु।

जहाँ जाँदा पनि एउटा डायरी र कलम लिएर जाने र दिन भरिको घटनाहरू लेख्नु, मेरो पुरानो बानी हो। दिनभरिको कुराहरू बेलुका सम्झी-सम्झी लेख्न मलाई मन पर्छ। त्यसैले उत्सुकतावश के लेखेकी रहेछु भनेर डायरी पल्टाउँछु।

केही वर्ष अगाडि ड्यानिडा फेलोसिप प्रोग्राम अन्तर्गत नेपाल सरकारको भिन्न निकायका हामी पाँच जना डेनमार्क गएका थियौँ। पहिलो पटक ५ हप्ते बसाई र दोस्रो पटक तीन हप्ते गरेर हामीले डेनमार्कमा आठ हप्तासँगै बिताएका थियौ। पहिलो बसाइमा हामीले आफ्नो कामको विवरण पेश गर्नुपर्थ्यो। दोस्रो बसाइमा विवरणअनुसार हामीले आफ्नो देशमा गएर आफूले काम गर्ने कार्यक्षेत्र सम्बन्धित विषयको कार्यपत्र पनि पेश गर्नुपर्थ्यो। मेरो विषय लेखा परीक्षण भएको हुनाले मैले लैङ्गिक लेखा परीक्षणको विषयमा कार्यपत्र पेश गरेकी थिएँ। सबैले आफ्नो-आफ्नो क्षेत्रको कार्यपत्र पेश गर्नुभयो।

सोही आठ हप्ते बसाई क्रममा “पाठक सर” हामी सबैको मन मुटुमा घुलमिल भइसक्नु भएको थियो।
हामी पाँच जनामध्ये पाठक सर महालेखा नियन्त्रक कार्यालयबाट आउनुभएको थियो। उहाँ हामीमध्ये पदीय र उमेरको हिसाबले सिनियर हुनुहुन्थ्यो।

त्यसै सिलसिलामा मैले डेनमार्कबाट फर्केर आउँदा हवाईजहाज भित्र मनका कुराहरू यो डायरीमा लेखेकी रहेछु ।

डायरी पल्टाउँछु । बिस्तारै म पढ्दै जान्छु । पढ्दा पढ्दै आँखा अगाडि पाठक सर आउनुहुन्छ । पाठक सरलाई सम्झँदै म डायरी पढ्दै जान्छु ।
आज हाम्रो सामु पाठक सर हुनुहुन्न। उहाँ यो संसारबाट बिदा भएको केही वर्ष भयो।

पाठक सरसँग मेटिसकेका यादहरू यो डायरीले सम्झाउँदै जान्छ। पाठक सरका प्रत्येक क्रियाकलापहरू मेरा अगाडि नाच्न थाल्छन्।
पाँच जनाको ग्रुपमा जहाजभित्र म पछाडि छु। तीन जनाको सिट हो यो। दुई जना अपरिचित छन् मेरा लागि। लोग्ने स्वास्नी हुन् कि म ठम्याउन सक्दिन। चुपचाप टिभी हेरिरहेका छन्। जहाजभरि यात्रु हुँदा हुँदै पनि आज म जहाजभित्र नितान्त एक्लो छु।

जिन्दगी कति अनौठो छ…. कति उदेग लाग्दो छ… कति अप्ठ्यारो छ… सबैको नजरमा म डेनमार्क गएकी हुँ। तर म आफै भित्र हराएकी छु।
“बुझ्यौ ढकाल, म ५५ वर्षको भए पनि मेरो मन भर्खर २५ वर्षको तन्नेरी छ।“-पाठक सर हाँस्दै भन्नुहुन्छ। पाठक सर साँच्चै रमाइलो मान्छे हो।
“हजुरको मेडिटेसनले काम गर्‍यो नि, सर”- ढकाल सर पनि हाँस्नुहुन्छ। “त्यसैले त म यस्तो जवान देखिन्छु, मनले अनि तनले पनि”- उनी भन्न पछि पर्दैनन्। उनी बिहान-बेलुका ध्यान गर्छन्। कालीका भक्त पनि हुन ।

ढकाल सर साह्रै भद्र मानिस! साह्रै असल मानिस! हामी सबैलाई डेनमार्कमा हुँदा उहाँ कार्यपत्र लेख्ने देखि लिएर सबै कुरामा सल्लाह र सुझाव दिनुहुन्थ्यो।

“डेनमार्कको लिटिङ मरमेड जस्तै युवती हाम्रो अगाडि बसेकी छ।
“ठ्याक्कै उस्तै-उस्तै अनुहार,उस्तै लज्जालु आँखा मुन्टो बटारेकी बुझ्नुभयो…? म्याडम! यो कतै लिभिङ मरिमेड त होइन…?”- पाठक सर मलाई प्रश्न गर्नुहुन्छ।

हाम्रा आँखा युवती नियाल्छन्। पाठक सर युवती हेर्दै लेख्न थाल्नुहुन्छ। उनलाई केही कुरा मनमा लाग्यो भने लेखिहाल्ने बानी रहेछ।
मिटिङ मरमेड डेनमार्कका प्रसिद्ध लेखक ह्यान्स क्रिस्टियन एन्डरस द्वारा लेखिएको एक लोकप्रिय परिकथा हो। यो कथाले प्रेम, त्याग, र सपनाको सुन्दरता तथा बिपनाको दुःख सबै देखाएको छ

जहाजभित्र पाठक सरको विषयमा लेखिएका हरफहरू पढ्दै जान्छु। सेतो कमिज कालो पाइन्ट अनि ढाका टोपीमा युनिभर्सिटीमा पहिलो पटक आउँदा उनी गाउँको नेपाली बेहुला जस्तो देखिएका थिए ।

युनिभर्सिटीमा जाँदा मैले उनलाई भनेकी थिएँ- “सर, हजुर त ठ्याक्कै बेहुला जस्तै लाग्यो आज।
उनी निस्कलङ्ग फुर्केर हाँसेको थिएँ – हा…हा..हा। –

साँच्चै, पाठक सर सानो बालक जस्तै पवित्र थिएँ- कलकल बग्ने गङ्गा जस्तै। अनि मनको निकै उदार र दयालु थिएँ- भीष्म पितामह जस्तै। हामी पाँच जनाको समूहमा उनी उमेर र पदले माथि भए तापनि उनमा कुनै घमन्ड थिएन। उनमा कुनै मोह थिएन। समय-समयमा उनी मोम जस्तै पग्लिन्थे भने उतिखेरै गम्भीर भएर बस्न सक्थे। हामी पाँच जनामा कुनै लाज, डर, त्रासको घेरा थिएन।

डेनमार्कको छोटो बसाइमा हामी पुरै खुलिसकेका थियौँ। पारिवारिक वातावरण बनिसकेको थियो। हामीसँग एक जना अविवाहित महिला थिइन्। निरा उनको नाम थियो।
“ए म्याडम! भेट्न ढिला भयो”- उनी निरासङ्ग ठट्टा गर्न पछि पर्दैनथ्यो।
“के गर्नु…. दस वर्ष पहिला भेटेको भए राम्रो हुन्थ्यो”- उनी पनि भन्न बाँकी राख्दैन थिइन्।
“काठमाडौँको नेवारनी” उनी भटभट्याउन थाल्थे।
“ल,सर बधाई छ।“ म हाँस्दै उनलाई कोट्याउँथे ।
उनी तत्कालै गम्भीर हुन्थे।

हो, उनी निकै खाइलाग्दो थिए। अग्लो शरीर, टम्म मिलेको ज्यान, बोलिरहनुपर्ने बानी, हँसिलो अनुहार!!
सोच्छु- अविवाहित हुँदा पक्कै पनि उनी सँग धेरै लोभिए होलान्। उनलाई धेरैले आँखा लगाए होलान्। हाम्रो नेवार्नी निरा म्याडम जस्तै!
“म तिमीलाई प्रेम गर्छु”- धेरैको मनभित्र अड्कियो होला। कतिलाई उनले “हुन्छ” भने होलान्। कतिलाई “नाइ” भने होलान्।
अनि कतिलाई उनले हामीलाई जस्तै “राम राम के भनेको होला…?” हाँस्दै भनेका होलान्।
बङ्गलादेशी नजुल उनीसँग खुबै मिल्थ्यो। उ पनि पाठक सरलाई जिस्काउन पछि पर्दैनथ्यो। अनि पचपन्न वर्षे उमेरमा पनि पच्चिस वर्षे ठिटो जस्तै मुसुमुसु हाँस्थे पाठक सर।

नेपाली समाजमा, अझै नेपाली कर्मचारी-तन्त्रमा सुहाउने मान्छे होइनन्- पाठक सर। पदोन्नति हुने बित्तिकै बुद्धि र विवेक पनि पदोन्नति नै ठान्ने हाम्रो कर्मचारी तन्त्रको संस्कृतिबाट टाढा थिए- पाठक सर।

पहिलो पटकको भेटमै उनले मप्रति पनि निकै अपनत्व देखाएका थिए। अनि म आफ्नो कार्यालयको हाकिम र पाठक सर दाँच्न थाल्थे।
छेउबाटै गाडी गुड्दा- “तपाईँ पनि जाने रमाजी.. ?” भन्न नसक्ने हाम्रो हाकिम र नाम मात्रको चिनारीले भिसाको लागि दुतावासमा जान गाडी लिएर मलाई लिन आउने पाठक सर, म तुलना गर्न पछि पर्दिन।
कति महान् छ पाठक सरको विचार!!
“साँच्चै पाठक सर, तपाईँ महान् हुनुहुन्छ”- मेरो मुखबाट फुत्किन्थ्यो
“राम राम के भनेको”- उनी आफ्नो थेगो भन्न बिर्सँदैन थिए।
“बुझ्नुभयो म्याडम, मैले धेरै गर्नु छ। ढकाल सर जस्तै हुनु छ । रेल्ल्री यु आर ग्रेट, ढकाल सर “- उनी समय-समयमा बडबडाउँथे ।
“यु आर टु ग्रेट, सर”- म हाँस्दै जवाफ दिन्थेँ।

साँच्चै पाठक सर, म तिमीलाई, तिम्रो अबोधपनालाई, तिम्रो केटाकेटी बानीलाई अनि तिम्रो राम-राम थेगोलाई, मैले धेरै गर्नु छ भन्ने तिम्रो मिठो र दृढ अठोटलाई बिर्सन सक्दिन। कहिले तिमी सगरमाथा हुने र पलभरमै पग्लेर समुद्र हुने तिम्रो नरमपनालाई सलाम गर्छु! यु आर टु ग्रेट, पाठक सर!!
बिस्तारै पाना पल्टाउँछु । अगाडिपट्टि केही पनि लेखेकी छैन. खाली छ। खाली पानालाई हेरिरहन्छु….हेरिरहन्छु…..

पाठक सर, तीर्थराज ढकाल सर, निरा म्याडम, अफ्रिकन, इन्डियन, बङ्गलादेशी सबै साथीहरू सम्झनामा उदाउँछन्। डेनमार्कमा सँगै बिताएका ती आठ हप्ता चलचित्र झैँ नाचिरहन्छन् । डायरीले डेनमार्कको सम्झनालाई ताजा गराएको छ ।

आज हाम्रो सामु पाठक सर हुनु हुन्न ।उहाँ बित्नुभएको केही वर्ष भयो। हामीसँग अब उहाँको सम्झना मात्र छ। बिस्तारै डायरी बन्द गर्छु । बिस्तारै डायरी पहिलेकै ठाउँमा राख्छु। के खोज्न दराज खोलेकी थिए … त्यो पनि मैले बिर्सिएछु …..

बिर्सिसकेको यादहरू, पाठक सर जस्ता व्यक्तित्व यो दराजभित्रको डायरीले झुल्काएको छ। शायद,डायरीहरू यसैको लागि लेखिन्छन् होला- केही कुरा घचघच्याउन, केही कुरा सम्झना दिलाउन, केही कुरा सिकाउन।

दिनहरू व्यस्त भएर बितिरहँदा मानिस धेरै कुरा बिर्सँदै जाँदा रहेछन्। बिहानको पहिलो हाँसो, साँझको हल्का थकान, मित्रसँगको छोटो भेट, पुस्तकमा भेटिएको गहिरो वाक्य, वा आकाशमा देखिएको कुनै सुन्दर बादल, यस्ता क्षणहरू मनमा एक छिन चम्किन्छन्, फेरि हराउँछन्। तर डायरीमा लेखिएका ती क्षणहरू भने हराउँदैनन्;समय बितेपछि पनि उस्तै चमक, उस्तै सुगन्ध, उस्तै माया लिएर पानाभित्रबाट फेरि-फेरि फर्केर आउँछन्।

डायरी लेख्ने प्रक्रिया आफैँ एउटा ध्यान जस्तै लाग्यो मलाई। कलम समात्दा मनमा बाँधिएको गाँठ फुक्लिन थाल्छन्। अनि शब्दले तिनलाई चिन्दै-चिन्दै पानामा राखिदिन्छ। दुःखेका कुरा लेख्दा मन हल्का हुन्छ, खुसीका कुरा लेख्दा आत्मा उज्यालो हुन्छ, र गुमाएका अवसरबारे लेख्दा भविष्य-पथ अझै स्पष्ट देखिन थाल्छ।

कहिले-कहीँ डायरीका पानामा आँसु झर्छन् तर त्यो आँसु पनि अर्थहीन हुँदैन।त्यो आँसुले पानामा दाग त पार्छ, तर आत्मामा पारदर्शिता पनि छोडिदिन्छ। दुःखका क्षण लेखिँदा मानिस आफैँसँग साह्रै नजिकिन्छ

जसरी पौडी खेल्न सिक्ने बालक पानीको गहिराइ बुझ्दै जान्छ,त्यसरी नै डायरी लेख्ने मानिस आफ्नो मनका गहिराइ बुझ्न थाल्छ र धेरै वर्षपछि जब जीवनका अनेक मोड पार गरिसकिएको हुन्छ, डायरीका पुराना पानाहरू पल्टाउँदा अद्भुत अनुभूति हुन्छ।

कहिले कुनै पुरानो बाल्य–स्मृति मुस्कान भएर फिर्ता आउँछ, कहिले कुनै बिर्सिएको तीतो गल्ती फेरि देखिन्छ,र कहिले आफ्नै पुराना स्वप्नहरू पढ्दा मन अचम्मले चम्किन्छ-“यो सपना त मैले कहिल्यै त्यागेको रहेनछु!”डायरी केवल स्मृति–संग्रह होइन,यो आत्म-बोधको दीपक हो।
हामीले कहाँ-कहाँ हिँड्यौँ,कसरी बढ्दै गइरह्यौँ,कुन क्षणले हाम्रो हृदय बदलिदियो-यी सबै कुरा डायरीले जीवन्त तरिकाले सम्झाइरहन्छ।
समयको कठोरता केही हुँदैन;जसले डायरी लेख्छ,ऊसँग सधैँ एउटा सुरक्षित ठाउँ रहिरहन्छ जहाँ जीवनका सबै रूप रङ्ग संरक्षित ,संवेदनशील, र सुन्दर भएर बस्छन्।

यसैले, डायरीका पानाभित्रका स्मृतिहरू समयका छाया चित्र मात्र होइनन्;
ती जीवनका सुगन्धित फूलहरू हुन्,जसले बर्सेनि नयाँ अर्थ, नयाँ अनुभूति र नयाँ उज्यालो छोडिरहन्छ।
उफ्! म त बिचारमा पो डुब्न पुगेछु ।सोचको दुनियाँबाट बाहिर आउँछु। यसो घडी हेर्छु। दिनको ४ बजिसकेको हुन्छ। वर्तमानमा फर्किन्छु । डायरीले आज मलाई निकै कुरा सिकायो, निकै कुरा पढायो, निकै कुरा सम्झायो। बिस्तारै उठ्छु। दैनिक कार्यमा संलग्न हुन्छु…….

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend