कोलोराडो । यदि तपाईं बिदा र चाडपर्व मनाउन विशेष रुचि राख्नुहुन्छ भने, अमेरिकाका यी सहरहरू तपाईँका लागि आकर्षक गन्तव्य हुन सक्छन् ।
घर खरिद–बिक्रीसम्बन्धी प्लेटफर्म Zillow ले बिदासँग सम्बन्धित शब्दहरू समावेश भएका घर सूचीहरूको विश्लेषण गर्दै अमेरिकाका १० सबैभन्दा उत्सवमय सहरहरूको सूची सार्वजनिक गरेको हो। Zillow का अनुसार, यी सहरहरूमा क्रिसमस तथा बिदाको माहौल विशेष रूपमा झल्किन्छ।
Zillow को सुचीमा परेका सहरहरू र तिनका विशेषताहरू यस्ता छन्:
१०. र्यान्सम क्यान्यन, टेक्सस (Ransom Canyon, Texas)
यहाँ क्रिसमस बत्ती हेर्न बाहिरबाट मात्र होइन, घरभित्रै पस्न पाइन्छ। करिब चार दशकदेखि निरन्तर चल्दै आएको परम्पराअनुसार समुदायका सदस्य र आगन्तुकहरूले सजाइएका घरभित्रका दृश्य अवलोकन गर्न पाउँछन्।
९. शेभर लेक, क्यालिफोर्निया (Shaver Lake, California)
२५ वर्षभन्दा बढी समयदेखि चल्दै आएको वार्षिक ‘शेभर लेक ट्री लाइटिङ’ कार्यक्रम यहाँको पहिचान हो। लाइभ सङ्गीत, तातो कोको र सान्ता क्लजको उपस्थितिले उत्सवलाई थप आकर्षक बनाउँछ।
८. विन्डक्रेस्ट, टेक्सस (Windcrest, Texas)
सान एन्टोनियोको उपनगर विन्डक्रेस्टका बासिन्दाले क्रिसमसलाई निकै गम्भीरतापूर्वक मनाउँछन् । दशकौँ पुरानो ‘विन्डक्रेस्ट लाइट-अप’ कार्यक्रममा छिमेकीहरूबिच विभिन्न विधामा प्रतिस्पर्धा हुन्छ, जस्तै ‘इन्फ्लेटेबलको उत्कृष्ट प्रयोग’ र ‘हातले बनाइएको सजावट’ ।
७. पाल्मर लेक, कोलोराडो (Palmer Lake, Colorado)
सन् १९३५ मा निर्माण गरिएको पाल्मर लेक स्टार यहाँको मुख्य आकर्षण हो । ९२ वटा बल्बले बनेको यो तारा धन्यवाद दिवसपछिको शनिवार देखी डिसेम्बरभरि राति चम्किरहन्छ र सन् २०१३ मा ऐतिहासिक सम्पत्तिको सुचीमा सुचीकृत गरिएको थियो।
६. नाचिटोचेस, लुइजियाना (Natchitoches, Louisiana)
लुइजियाना पर्चेज क्षेत्रको सबैभन्दा पुरानो स्थायी बस्ती नाचिटोचेसमा देशकै लामो समयदेखि चल्दै आएको सामुदायिक क्रिसमस उत्सव मनाइन्छ । धन्यवाद दिवसअघिको शनिवार देखी जनवरी ६ सम्म चल्ने यो छ हप्ते उत्सवमा हरेक रात ३ लाखभन्दा बढी बत्ती र सयभन्दा बढी सजावट प्रदर्शन गरिन्छ ।
५. डाहलोनेगा, जर्जिया (Dahlonega, Georgia)
ऐतिहासिक टाउन स्क्वायर क्रिसमसका अवसरमा झकिझकाउ बनाइन्छ। क्यारोल गाउने, घोडा गाडी यात्रा र प्रत्यक्ष नाटकजस्ता कार्यक्रमले सहरलाई महिनाभरि उत्सवमय बनाउँछ।
४. ब्रेकेनरिज, कोलोराडो (Breckenridge, Colorado)
विश्व प्रसिद्ध स्किइङ सहर ब्रेकेनरिजमा ‘रेस अफ द सान्ताज’ नामक अनौठो कार्यक्रम आयोजना हुन्छ, जहाँ सयौँ सान्ता क्लज मेन स्ट्रिट हुँदै दौडिन्छन्। सहरभरि २ लाख ५० हजार बत्ती जडान गरिन्छ र कुकुरहरूको समेत छुट्टै बिदा परेड हुन्छ ।
३. बेथलेहेम, पेन्सिल्भेनिया (Bethlehem, Pennsylvania)
सन् १७४१ मा नामकरण भएको बेथलेहेमलाई अमेरिकाको पहिलो सजाइएको क्रिसमस रुखको घर मानिन्छ। आज पनि यहाँ जर्मन शैलीको क्रिसमस बजार ‘क्रिस्टकिन्डलमार्क्ट’, घोडा गाडी यात्रा र शान्तासँग निःशुल्क फोटो खिच्ने परम्परा छ।
२. म्याकएडेनभिल, नर्थ क्यारोलाइना (McAdenville, North Carolina)
‘क्रिसमस टाउन युएसए’ भनेर चिनिने म्याकएडेनभिलले हरेक वर्ष सयौँ हजार आगन्तुक तान्छ । १९५० को दशकदेखि सुरु भएको यस परम्परामा १०० भन्दा बढी घर र २५० वटा सदाबहार रूखमा करिब पाँच लाख बत्ती झिलिमिली हुन्छन् ।
१. सान्ता क्लज, इन्डियाना (Santa Claus, Indiana)
सुचीको पहिलो स्थान सान्ता क्लज, इन्डियानाले ओगटेको छ । यहाँका आधाभन्दा बढी घर सुचीमा बिदासँग सम्बन्धित विवरण उल्लेख गरिएको छ । शान्ताको हुलाक कार्यालयदेखि लिएर वर्षभरि नै क्रिसमसको माहौल यहाँको विशेषता हो । डिसेम्बरमा तीन साता चल्ने विशेष उत्सवमा बत्ती, आइस स्केटिङ र खुला आगोमा सेकिएका चेस्टनट मुख्य आकर्षण हुन् ।
स्पेन्सर काउन्टी भिजिटर्स ब्युरोकी कार्यकारी निर्देशक मेलिसा आर्नोल्डका अनुसार, “हाम्रो समुदायले क्रिसमसको आत्मालाई खुलेर आत्मसात् गर्छ र यहाँ आउने आगन्तुकलाई स्वागत गर्न गर्व महसुस गर्छ।”
Zillow ले नोभेम्बर १, २०२३ देखि अक्टोबर ३१, २०२५ सम्म बिक्रीका लागि सूचीबद्ध ७० लाखभन्दा बढी घरका विवरणको विश्लेषण गरी यो अध्ययन तयार गरेको हो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend