डेनभर । कोलोराडो राज्यको वेस्टमिनिस्टरमा एक किशोर (Teen) लाई विद्यालय परिसरभित्र बन्दुक लिएर आएको आरोपमा नियन्त्रणमा लिइएको छ। वेस्टमिनिस्टर प्रहरी विभागले सोमबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो ।
गत शुक्रवार वेस्टमिनिस्टर प्रहरीलाई माउन्टेन रेन्ज हाई स्कुलको एक विद्यार्थीले विद्यालयमा बन्दुक ल्याएको हुन सक्ने भन्दै सुचना प्राप्त भएको थियो। प्रहरी अधिकारीहरूले घटनाको अनुसन्धान गर्दा ती विद्यार्थी शुक्रवार कक्षामा उपस्थित नभएको तर विद्यार्थीहरूलाई छुट्टी भएपछि विद्यालय परिसरमा देखिएको पत्ता लगाए ।
विद्यालयका स्रोत अधिकृत (School Resource Officer – SRO) ले बस स्टप नजिकै ती विद्यार्थीलाई सम्पर्क गर्दा उनले हातहतियार (Handgun) आफुसँग भएको स्वीकार गरे। उनलाई कुनै अवरोध बिना हिरासतमा लिइयो र एडम्स काउन्टी बाल सुधार गृह (Juvenile Detention Center) लगिएको छ ।
प्रहरी विभागका अनुसार, अहिलेसम्म विद्यालयका विद्यार्थी वा कर्मचारीलाई कुनै किसिमको धम्कीपुर्ण अभिव्यक्ति दिएको वा खतरा उत्पन्न गरेको पुष्टि भएको छैन। विद्यार्थी, कर्मचारी र समुदायको सुरक्षा नै उनीहरूको प्रमुख प्राथमिकता रहेको विभागले जनाएको छ ।
वेस्टमिनिस्टर प्रहरी विभागले ‘X’ (पहिले ट्विटर) मा लेख्दै भनेको छ, “हामी यस्ता घटनाहरूको गाम्भीर्यता बुझ्छौँ र सुरक्षित सिकाउने वातावरण कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ। हाम्रा विद्यालयहरूको सुरक्षाका लागि दैनिक काम गर्ने समर्पित र व्यावसायिक SRO टोली भएकोमा हामीलाई गर्व छ ।”
विभागले विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षा चिन्ताहरू गुमनाम रूपमा (anonymously) Safe2Tell मा १-८७७-५४२-७२३३ मा फोन गरेर वा Safe2Tell वेबसाइटमार्फत रिपोर्ट गर्न भनेको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend