बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कविता संग्रह “फर्गेट एस्टर्डे”लाई मनन गर्दा

कविता संग्रह “फर्गेट एस्टर्डे”लाई मनन गर्दा

247
Shares
247
Shares

कवि मिना श्रेष्ठ बहिनी जो मेरा लागी अल्पपरिचित नै हुनुहुन्थ्यो तबसम्म ,जबसम्म मैले कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानको  साहित्य फाँट कलरव धरानको जम्काभेट कार्यक्रमसम्म पुग्ने अवसर पाएकै थिइनँ । तर जब श्रावण महिनाको दोश्रो शनिवारको जम्काभेट कार्यक्रममा जाने साइत जुर्‍यो तब मैले /प्रदेश न १ को सांसद कवयित्री मिना श्रेष्ठमार्फत वहाँको दोश्रो कविता संग्रह प्राप्त गर्ने अवसर पाएँ ।

हामीले कहिल्यै साक्षात्कार हुने मौका पाएकै थिएनौँ र मैले वहाँको सृजना न कहिल्यै  सुन्ने,पढ्ने मौका पाएकी थिएँ ,न वहाँलाई कुनै कार्यक्रममा भेटेकी नै थिएँ । यसो हुनुको कारण पक्कै पनि म प्रवासिनुको बाध्यता थियो।

हुन त अहिलेको समयमा सामाजिक संजाल फेसबुकबाट पनि धेरैजस्तो कवि,लेखक,स्रष्टाहरूको सान्निध्य पाइन्छ तर अफ्सोच!हामी पनि निक्कै वर्षअघिदेखि साथी त थिएछौं तर कस्तो सन्जोग पर्‍यो कुन्नि!म वहाँसँग नजीक हुनै सकिनछु । वहाँले नै  पुरानै फेसबुक साथी हौँ नि!हामी भन्दा मात्र म झस्किएँ । तर जब वहाँले कलरवको जम्काभेट,वाचन र चुस्की कार्यक्रममा आफ्नै दोश्रो कविता संग्रहको “फर्गेट एस्टर्डे” शीर्ष कविता वाचन गर्नु भयो । म वहाँको उक्त कविताबाट अति प्रभावित भएँ र आफैलाई धिक्कारेँ ।

यस्तो अब्बल सर्जकसँग म किन सामाजिक संजालमा जोडिन अलमलिएछु ? भनेर । खैर ! जे होस् ढिलै भए पनि साक्षात्कार हुने अवसर जुर्‍यो । यसकोलागि कलरव धरानप्रति म अनुगृहीत छु । त्यही समयमा वहाँले मलाई आफ्नो कविता संग्रह फर्गेट एस्टर्डे उपहार स्वरूप दिनु भयो। घरमा ल्याएपछि मैले उक्त संग्रह अध्ययन गरेँ। मेरा नजरहरू शीर्ष कविता “फर्गेट एस्टर्डेमै पर्‍यो” । जुन कविताकै शीर्षकबाट पुस्तकको शीर्षक पनि राखिएको छ।

कविता “फर्गेट एस्टर्डे”मा यौन भावको पनि कहीँ कतै छनक पाइन्छ। एक युगल जोडीको एकान्तको भेटमा अप्रत्याशित रूपमा नै पनि यौनको उन्मादले एकार्कामा नचाहेको घटना पनि घट्न सक्छ, जुन प्रकृतिको बरदान नै मान्न सकिन्छ । जब मनसँग मन जोडिन्छ,मनले मन जित्छ अनि त्यहाँ अपनत्व जन्मिन्छ र नचाहेको गल्ती पनि हुन सक्छ भन्ने किसिमको भाव कवयित्रीले बताउँनु भएको छ ।

आफु दोषीको भागीदार बनेर हिजोको बितेको घटनाप्रति क्षमा माग्दै विगतको कुरा बिर्सी देऊ।  भनेर क्षमा याचना गर्नु भएको छ। कवितामा नेपथ्यमा पुरुषलाई उभ्याएर आफैँ नै पुरुषको प्रतीक बनेर क्षमा प्रार्थीको अनुनय विनय गर्नु भएको छ। यो बिम्बात्मक प्रयोग हो ।

आजकालको नयाँ पुस्ताहरूका कविताका भावहरू वजनदार र आफ्नो थातथलो,जाति अनुसारको मुद्धुम,रीतिरिवाजलाई प्रमुख विषय बनाएर बडो सान्दर्भिक तवरले लेखिएका हुन्छन्।  जसका कविताहरूले पनि आफ्नो जातीयता,ठाउँ र भाषाको प्रतिनिधित्व गरेको आभास स्पष्ट पाइन्छ। तथापि यी सबको बाबजुद पनि कविताहरूमा कतै साहित्यिक शब्दहरू,बिम्ब,प्रतीकहरूको कमी भएको हो कि ?भन्ने भान हुन्छ । (यो मेरो निजी बिचार हो)तर कवयित्री मिना श्रेष्ठका कविताहरूमा प्रशस्त साहित्यिक शब्दहरू र बिम्ब,प्रतीकको प्रयोग भएको मैले महसुस गरेँ ।

“फर्गेट एस्टर्डे” कविताको मुख्य आशय के छ भने बितेको दिनमा जे भो भो । ती सबैलाई बिर्सिएर हामीले नयाँ दिनको सुरुवात  र नयाँ सोचको थालनी गरौँ ।साथै यो कवितामा यौन भाव उर्लिए पनि यसको प्रतीकको रूपमा एक प्रेमी पुरुष या महिलाले आफूले गरेको गल्ती महसुस गरेर क्षमा प्रार्थी बन्दै भोली आउने दिनमा नअल्मलौं भन्ने किसिमको पनि अर्थ लाग्न सक्छ ।

यो प्रेमिल जोडीको मात्र कमजोरीको आग्रह होइन । मान्छे भएपछि जुनसुकै कुरामा पनि कमिकम्जोरी हुन सक्छ तर त्यही पुरानै गल्तीमा आत्मग्लानि गरेर समय बर्बाद गर्नु हुन्न भन्ने आशय हुन् सक्छ यो कविताभावामा ।

त्यसैले कवयित्रीले आफू पात्र बनेर हिजोको दिन बिर्सी दिऊँ भन्ने आव्हान गर्नु भएको छ फर्गेट एस्टर्डे कवितामा । एक नारी कलमले पनि यत्तिको यौन भावको कविता लेख्न साहस गर्नु हिम्मतिलो कुरा हो जुन सह्रानीय छ । यस्तै मेरा नजरमा अन्य कविताहरू पनि परेका छन् । जस्तै -अर्को एक भावुक कविता छ मेरो मनमा भित्रिएको । “भत्किएको सम्बन्ध ” यो कविता बडो मार्मिक ढंगले सृजित भएको छ । कविको मथिङ्गलमा मार्मिक दृश्यहरू रुमल्लिएर शब्दमा रूपान्तरित भएको छ। जस्तै-कुनै एक प्रेमिल मनको सम्बन्धमा स्वार्थको मैलो धब्बाले स्वच्छ प्रेमलाई कलुषित बनाएर चोखो सम्बन्धलाई छिन्नभिन्न बनाउन सफल छ । जुन भत्किएको सम्बन्धमा विह्वल बनेर एक प्रेमी /प्रेमिकाले आफ्नो स्वार्थी जोडीसँग उस्तै अनुनय विनय गर्दै अब उसो अरू नयाँ सम्बन्ध नखोज्नु । मेरो प्रेमको समर्पण नै उपहार भो तिमीलाई भनेर आग्रह बिसाउनु भएको छ ।

आफ्नो समर्पित प्रेमलाई बार बार सम्झिएर एक प्रेमिका तड्पिएकी छिन् । स्वार्थले भरिएको प्रेमलाई पनि बिर्सन नसकेर उनी आफ्नो मनलाई सान्त्वना दिन्छिन् । आफ्नो स्वच्छ प्रेम र सम्बन्धलाई कलंकित अनि निरीह देखेर कसरी स्वार्थी प्रेमीहरू टाढिन्छन् ?र सम्बन्धलाई भताभुङ्ग बनाउँदा छन् भन्ने उदाहरण यो “भत्किएको सम्बन्ध” कविताले उजागर गरेको छ ।

विभिन्न शीर्षक र स्वादमा कविले आफ्ना कविताहरूलाई आकर्षक शब्द जालमा बेर्नु भएको छ भन्ने थुप्रै यस्ता प्रतिनिधिमूलक कविताहरू छन् । म सबैको यहाँ उदाहरण दिन असमर्थ हुन्छु सायद । म फेरि अर्को कविताको भाव यहाँ प्रस्तुत गर्न चाहन्छु। जुन कविता वाचनपश्चात् जो कोही पाठकको मनमा मातृ प्रेमको भाव सलबलाउँछ र यो बिसौँ शताब्दिमा पनि महिलाहरूले पितृ सत्ताको अहंकारमा बाँच्न परेको बोध गराउँछ।

कविताको शीर्षक -“पहिचान आमाको ” यो कवितामा सबै नारीहरूले सन्तान जन्माउन कयौँ कष्ट र पीडा खप्नु पर्छ । नौ,नौ महिनासम्म आफ्नो गर्भमा बोकेर त्यो घडीको पीडा,खाना नरुच्नुको सकस,अभावले ग्रस्त परिस्थितिमा भने जस्तो खुराक खान नपाएर कति गर्भिणी आमाहरूले असह्य पीडा र कमजोरीको मार खप्नु परेको अवस्था । अझ सन्तान जन्मिने बेलामा आफ्नै ज्यानको पनि कुनै भर नहुनुको त्रास।

कतिपय आमाहरूको त बच्चा जन्माउने क्रममा मृत्युसम्म हुने सम्भावना। आखिर यति बिघ्न सकस सहेर सन्तान जन्मिएपछि पनि सन्तानको निम्ति आफ्नो नाम नजोडिनुको पीडालाई कवयित्रीले यो कवितामा आफ्नी आमालाई नै आमाको पर्यायमा राखेर आमाको पहिचान गुमेको गुनासो पोख्नु भएको छ ।

अस्पतालमा गएर कुनै पनि आमाले सन्तान जन्माउँछिन् तबसम्म आमाको नाम लेखिन्छ । जबसम्म उनी अस्पतालको शैय्यामै हुन्छिन् ।किनकि त्यो समयसम्म मात्र आमाको परिचय हुन्छ जबसम्म सन्तान कसले अथवा कुन महिलाले जन्माएकी हुन् ?भन्ने कुरा खुलाउनलाई । तर जब सन्तान हुर्कँदै जान्छ उसलाई जन्म दर्ताको आवश्यक पर्छ । त्यसपश्चात् उसलाई देशको नागरिक भनेर पहिचान दिलाउन अर्को परिचयको आवश्यकता पर्छ त्यो समयमा आमाको पहिचान गुम्दै जान्छ। प्रशवपीडामा सहेका असह्य व्यथा र त्यो समयको पीडाको चित्कारसम्म अनि सन्तानले धरा छोएपछिको च्याँ,च्याँको गुन्जनभित्र आमाको ममत्व,अपनत्व र आमाको पहिचान रहन्छ। यो आमाको पहिचान कविताले कवयित्रीले आमाको मर्मलाई अति नै सुक्ष्म र मार्मिक तवरले प्रस्तुत गर्नु भएको छ । यो कविताले जो कोहीलाई आमाप्रतिको समर्पणमा मर्माहत बनाउँछ ।

त्यस्तै जम्माजम्मी एक सय बहत्तर वटा कविताहरूले आ-आफ्नै प्रकारका विशेषताहरू र भाव बोकेका छन् । जुन यो छोटो समीक्षात्मक टिप्पणीमा लेखेर सकिन्न । यहाँ मलाई मन परेको तर अलिक बुझ्न कठिन जस्तै लाग्ने क्लिष्ट कविता -“जिन्दगीको प्रयोगशाला”जसलाई मैले यसरी बुझ्ने प्रयास गरेँ। जुन बुझाइले यो कविताको भावमा न्याय गर्छ ? या गर्‍यो? गरेन?म रनभुल्लमा पर्दै पनि आफूले बुझे अनुसार यो कविताबारे केही बोल्ने दुस्साहस गर्दैछु ।

हर मान्छे आशावादी हुन्छन् र जीवनको मिठो भोगाई या सफलताको दिवास्वप्नमा जो कोही बाँची रहेका हुन्छन् । तर जीवन बँचाईमा कहिले कहीँ कायापलट भएर सोचे विपरीत हुन पुग्छ। मान्छेले जे सुनौलो आशा गर्छ ।त्यो निराशामा परिभाषित भई दिन्छ । तब मान्छेको आकासिएको चाहाना एक्कासि आफूले टेक्ने धर्तीमा खस्छ । तब ऊ अभिशप्त जीवनको कुण्ठा बोकेर बाँच्न बाध्य बन्छ र उसले आफ्नो जीवनलाई नै एउटा प्रयोगशालामा प्रयोग हुने बस्तु सम्झिन्छ। कहिले सुखको किरण छरेर प्रयोग हुन्छ जिन्दगी। कहिले दुखको भुमरीमा हुत्त्याएर प्रयोग हुन्छ । यसरी जिन्दगीको प्रयोगशालामा मान्छेले आफ्नो जीवनलाई प्रयोग गरी रहेका हुन्छन् । जो आशा र निराशाको रोटे पिङमा चक्कर लगाई रहन्छ ।
हुन त म खास समीक्षक र समालोचक त हुँईंन तथापि केही अध्ययनको भरमा यो कविता संग्रहबारे आफूले पढेर मनन गरेको बिचार पोख्ने अभीष्ट राखेँ । हरेक कुरामा कमजोर पक्ष र सबल पक्ष दुवै हुन्छन्। यो संग्रहमा केही कविताहरू भने लामा छन् जुन भाव अगाडि नै आई सकेर पनि शब्दहरू धेरै थपिएका हुन् कि ?भन्ने भान पनि हुन्छ । यस्ता लामा कविताहरू पढ्दा आख्यान विधा पढे जस्तै महसुस पनि हुन्छ । उसो त गद्य कविताहरू आख्यान विधासँग मिल्दोजुल्दो हुन पनि जान्छ तर त्यसको बनावट,संरचना मिलाउन सक्नु कवि /कवयित्रीको आफ्नो कला वा खुबी हो ।

अर्को मलाई खट्केको कुरा कविता संग्रह “फर्गेट एस्टर्डे” मा एस्टर्डेलाई “यस्टर्डे” लेख्दा वाई( Y ) को साउन्ड आउँथ्यो कि किनकि यस्टर्डे लेख्दा वाई (Y)अल्फाबेट लेखिन्छ । हुन त कतिपयले यहाँ एल (L) लाई यल ,एम लाई (M)यम र एस (S)लाई यस उच्चारण गरेको सुनिन्छ। त्यो कतिसम्म शुद्ध र सही हो ?म यसको विज्ञ हुँईंन । मैले त मात्र लागेको कुरा अर्थात् मेरो जिज्ञासा राखेकी हुँ । म अनभिज्ञ पनि हुन सक्छु। यदि गल्ती भए क्षमा प्रार्थी पनि छु । मैले यो संग्रहको चर्चा मात्र होइन समीक्षा अर्थात् समालोचना नै लेख्ने अभीष्ट राखेकीले कमजोर पक्षलाई पनि उत्तिकै प्राथमिकता दिएँ । जुन समीक्षा अर्थात् समालोचनाको धर्म र नियम पनि हो । उसो त कविताहरूको लेखन पक्ष भने उत्ति धेरै कमजोर पक्ष छैनन् र हर कविताहरू मेरा नजरमा कमसल भावका पनि छैनन् ।

प्रत्येक कविताका भाव सशक्त र जुरमुराउने किसिमका छन् । सबै कुरा मिलाउन खोज्दा कहीँ,केही छुटपुट त हुन्छन् नै । सबै सबै कुरामा दक्ष र सबल हुन्नन् तर मेरो नजरमा मैले उसरी कहिल्यै कवितामा नाम नसुनेको कवयित्री मिना श्रेष्ठ बहिनीको कविता वाचन र संग्रहका लेखनकला सुनेर,पढेर म अवाक् भएँ र सोंचें कस्ता,कस्ताहरू कविको पगरी गुथेर संसार चाहार्दैछन् । यति अब्बल कविताका सर्जक मिना श्रेष्ठ मेरा नजरमा आजसम्म नेपथ्यमा किन रहनु भो ?भनेर म सोंच्दैछु यो समय ।

वहाँको कविता पक्षको अर्को कमजोर पक्ष के देखेँ भने पुस्तकको विषय सुची नम्बर जुन लगातार राखिनु पर्नेमा कुनै कुनै अगाडि,पछाडि परेका रहेछन् । जसले गर्दा पढ्दै जाँदा म रनभुल्लमा पनि परेँ । दुई वटा कविताको भाव अर्को कवितासँग मिसिन पुगेकाले मलाई असहज पनि भयो तर राम्ररी नियालेर हेर्दा बाईण्डिङ्गको कमजोरी रहेछ । अन्त्यमा कवयित्रीको कविताबारे मन्तव्य लेखी दिनु हुने कविहरू पनि अग्रज र अब्बल कवि /गीतकारहरू पाउन सफल हुनु भएछ । हाम्रा वर्तमान प्रधानमन्त्रीज्यूको आशीर्वचन प्राप्त गर्ने सुअवसर पनि यो कविता संग्रहले पाएकोमा कवयित्री र संग्रहद्वयलाई बधाई तथा शुभकामना ।कवयित्रीको यो दोश्रो संग्रह रहेछ । अब तेस्रो संग्रह पनि छिट्टै पढ्न पाउँ यही शुभेच्छासहित अँजुलीभरिको शुभकामना फेरि पनि ।

  • प्रतिक्रिया दिनुहोस

    आचार्य प्रभा का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend