फोर्ट मोर्गन, कोलोराडो । आइतबार बिहान फोर्ट मोर्गन म्युनिसिपल एयरपोर्टमा दुई साना विमान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यो घटनाबारे मोर्गन काउन्टी शेरीफ कार्यालयले जानकारी दिएको छ ।
मोर्गन काउन्टीका उप-शेरीफ जोन होर्टनका अनुसार दुर्घटनामा चार जना संलग्न थिए । तीमध्ये दुई जना सेस्ना १७२ (Cessna 172 )विमानमा र दुई जना एक्स्ट्रा EA ३०० (Extra EA 300) विमानमा सवार थिए । दुवै विमान बिहान करिब १०:४० बजे अवतरण गर्न खोज्दा आकाशमै ठोक्किएका थिए ।
मृतक एक्स्ट्रा EA ३०० विमानमै सवार थिए भने अर्का यात्रु घाइते भएर अस्पताल भर्ना गरिएको छ । सेस्नामा रहेका दुई जनाले भने सामान्य चोटपटक मात्र लागेको छ । होर्टनका अनुसार सेस्ना विमान अवतरणको अन्तिम चरणमा हुँदा EA ३०० ले आकाशमै ठक्कर दिएको हो । दुवै विमान दुर्घटनापछि आगो लागेको थियो ।
संघीय विमान प्रशासन (FAA) को क्यामेरामा विमानस्थलको उत्तरी भागमा धुवाँको मुस्लो देखिएको छ । विमानस्थल फोर्ट मोर्गन सहरको करिब पाँच माइल उत्तर, हाइवे ५२ नजिक अवस्थित छ । यो घटनाबारे FAA र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले छानबिन गर्नेछन् । दुर्घटनापछि फोर्ट मोर्गन म्युनिसिपल एयरपोर्ट बन्द गरिएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend