बोल्डर, कोलोराडो । अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा आगामी सेप्टेम्बर ७, २०२५ (आइतबार) का दिन इन्द्रजात्रा पर्व भव्यतापुर्वक मनाइने भएको छ । कोलोराडो नेवा: खलको आयोजनामा बोल्डर स्थित ब्यान्ड सेलमा हुने यस कार्यक्रममा कोलोराडोका गभर्नर जारेड पोलिस प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् ।
आयोजक समितिले सर्वसाधारणका लागि कार्यक्रममा प्रवेश निःशुल्क रहने जानकारी दिएका छन् । साथै, पार्किङको सहज व्यवस्थाका लागि बोल्डर बस पार्क र बोल्डर पुस्तकालय (लाइब्रेरी) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइएको छ ।
कोलोराडो गभर्नर जारेड पोलिसले कुमारी रथयात्राको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तयारी गरिएको छ ।
कार्यक्रमको विस्तृत कार्यसुची:
बिहान ११:००–१२:०० बजे: कार्यक्रमको सुरुवात यस अवधिमा अतिथिहरूबिच भेटघाट, नेटवर्किङ तथा सांस्कृतिक अन्तरक्रिया हुनेछ । साथै, धिमे बाजा, परम्परागत सांस्कृतिक प्रदर्शनी, लाखे नृत्य र पुलु किसी नृत्य जस्ता विशेष आकर्षणहरू प्रस्तुत गरिनेछ ।
१२:००–१२:३० बजे: पुरोहित (पुजारी) द्वारा विधिपुर्वक पुजा-अर्चना सम्पन्न गराइनेछ ।
१२:३०–१:०० बजे: जीवित देवी कुमारीको विशेष रूपले प्रवेश र स्वागत गरिनेछ ।
१:०० बजे: गभर्नर जारेड पोलिसको आगमन तथा कुमारी रथयात्राको औपचारिक उद्घाटन । उद्घाटनपछि सबै सहभागीहरूको सहभागितामा रथयात्रा सुरु हुनेछ ।
२:००–३:०० बजे: ब्यान्डशेल मञ्चमा सांस्कृतिक कार्यक्रमहरूको सुरुवात । विभिन्न सांस्कृतिक समुह र कलाकारहरूले परम्परागत नृत्यकलाको प्रस्तुति दिनेछन् । प्रस्तुत हुने कार्यक्रमहरूमा कुमारी नृत्य, मेलिसा र CU बोल्डर टोलीको नृत्य, अतिषा र जेनीसाको प्रस्तुति, र धिमे नृत्य उल्लेख्य छन् ।
विशेष आकर्षण: कार्यक्रममा आउने सबै सहभागीहरूलाई निःशुल्क समय बाजी वितरण गरिनेछ ।
यस प्रकार कोलोराडोमा रहेका नेपाली नेवारी समुदायले धेरै वर्षदेखि आफ्नो समृद्ध सांस्कृतिक परम्परा र पर्वहरूलाई अमेरिकी भुमिमा पनि हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend