मेरो सानैदेखी लेख्ने,कथा,उपन्यासहरू पढ्ने रुचि। घरमा आमादेखि सबै दाजु,दिदीहरू उपन्यास,कथाहरु पढ्ने। गीत संगीतमा रुचि राख्ने भएकाले घरको माहौल,परिवेश जस्तो हुन्छ त्यस्तै परिवारका सदस्यहरूको पनि हुँदो रहेछ सायद। त्यही परिवेशको नतिजा थियो मेरो पनि लेखन क्षेत्र प्रतिको रुचि ।
मैले सात/आठ कक्षा पढ्दा देखी नै केही लेखी टोपल्थेँ । लेख्दै जाँदा अभ्यास पनि पुग्दै गयो सायद । मेरो लेखन अलि अलि गर्दै माझिन थाल्यो । तेत्तिस /चौँतिस साल देखी नै म टुक्रा टुक्री कविता,मुक्तकहरू लेख्ने गर्थेँ । लेख्दा लेख्दै मैले दार्जीलिंग,काठमाडौँ र दमकबाट निस्कने साप्ताहिक/मासिक पत्रिकातिर लेखेर पठाउन थालेँ । त्यो समय सायद कलमकर्मीहरूको संख्या थोरै भए पनि होला मेरा रचनाहरु पनि धमाधम छापिन थाले । चौँतिस सालतिर हुनु पर्छ । डा,गोविन्द भट्टराई सर दमक हिमाबिमा अङ्ग्रेजी शिक्षक भएर आउनु भो । त्यो समयमा नै वहाँले स्कुलबाट नै वार्षिक पुस्तक निकाल्ने सोच राख्नु भएर सबै बिध्यार्थीहरुलाई लेख्न लगाएर रचनाहरु माँग्नु भो ।
क-कसले के के रचना उपलब्ध गराए ?त्यसको हेक्का भएन मलाई तर मैले भने पहिलो आख्यान विधाको रचनामा कथा लेखेर बुझाएँ “अधुरा रहरहरू”जुन कथा मार्मिक र आफ्नै जीवनमा आधारित थियो । त्यो कथा वहाँले मन पराउँ नु भो । केही सम्पादन गर्दिनु भो । त्यो कथा पढेपछि मलाई चेली तिमी लेख्न नछाड तिमीले प्रयास गरे पछि राम्रो लेख्न सक्छौ भन्नु भो । पछि हाम्रा रचनाहरु मोटो सुन्दर पुस्तकमा सङ्ग्रहित भएर निस्कियो। जुन पुस्तकको नाम थियो “हिम ज्योति”पहिलो अंक नै भव्य निस्कियो । त्यस्पस्चात मैले एस एल सी नै नदिई विवाह गरेँ । मेरो पढाई र लेखन रुचि केही समय अधुरै रह्यो तथापि मैले घरमा नै बसेर आफ्नो लेखन कार्य सुचारु गरेर विभिन्न पत्रपत्रिकातिर प्रेषित गर्न थालेँ । धमाधम प्रकाशित पनि हुन थाल्यो। त्यसपछि त मेरो लेखनप्रति अरू आशक्ति बढ्यो र मेरो दिनचर्या नै लेखन बन्यो।
त्यो समय पत्र मित्रताको लहड चलेको थियो । सामाजिक सञ्जाल नभए पनि नेपालका पत्रपत्रिकाहरू विदेशतिर पनि पुग्न थाले । त्यसैको माध्यमबाट मलाई मेरा शुभचिन्तकहरूका धेरै पत्रहरू आउन थाले । कुनै पत्रिकामा मेरो रचना पढ्न नपाउँदा गुनासोका पत्रहरू आउने गर्थ्यो।भन्नैपर्दा ती पत्रमित्र शुभचिन्तकहरू नै मेरा दोश्रा प्रेरणाका श्रोत थिए । यसरी तेत्तीस/चौँतिस सालदेखिको मेरो लेखनको बामे सराइले धेरै पाठकहरूले मलाई प्रेरणा दिएर म यही क्षेत्रमा समर्पित हुन थालेँ ।
त्यो समय दमकमा एउटै मात्र साप्ताहिक पत्रिका जनज्योति गन्ज बहादुरको निस्कने गर्थ्यो सायद । त्यसमा पनि रचनाहरु आउन थाल्यो र त्यस्तै धरानबाट निस्कने ब्लाष्टमा पनि छिटपुट रचनाहरु निस्किए। त्यो समयमा झापा मोरङ,सुनसरीमा नारी हस्ताक्षरहरू औँलामा गनिने मात्र थिए कि ?(मैले थाहा नपाएकी हुन पनि सक्छु । )मभन्दा अगाडि झापा चन्द्रगढीमा राधिका राया र विराटनगरबाट देव कुमारी थापा (कथाकार )मैले जानेको र प्रत्यक्ष भेट भएका नामहरू हुन् । झापामा मेरो समकालीन हुनु पर्छ भवानी क्षेत्रीज्यु हुनुहुन्थ्यो। अन्य हुनु भएको भए म अल्पपरिचित नै थिएँ हुँला भन्छु।
समयको प्रभावसँगै झापा,मोरङ,सुनसरीमा साहित्यिक कार्यक्रमहरू हुन थाले । निमन्त्रणा आउँथे र म प्राय:भियाए जति र समयले साथ दिए जतिमा सरिक हुन्थे। यसरी साहित्यिक माहौलको बिस्तार हुँदै गयो जताततै । लेख्न रुचि राख्ने र अग्रजहरूको मिलन हुन थाल्यो । त्यतिकैमा दमकमा (२०४६ /४७ सालतिर हो वा केही अगाडि,पछाडि मैले समय यकिन गर्न सकिनँ । )प्रतिभा निकेतन र साहित्य कला संगमको साहित्यिक संस्थाहरूको जन्म भयो। दुई संस्थाहरूमा पनि हामी बुढा,बुढी द्वय आजीवन सदस्य बन्यौँ ।
ती संस्थाहरूमा सदस्यहरू अलिक पाकाहरू मात्र भएर हो कि युवाहरूको उति उपस्थिति थिएन । मैले भने रचनाहरु प्रकाशित गरी रहने हुनाले होला मलाई युवा पुस्ताहरूले निक्कैले चिन्न थाले। त्यो समय प्राय युवाहरूमा मा लेख्ने जोस,जाँगर चलेको थियो । सबै लेख्न उत्साहित थिए । एक दिन २०४६ /४७ सालतिर हुनुपर्छ केही युवा भाइहरूले मलाई आएर भने दिदी लु!हामीलाई पनि लेख्ने,रचना वाचन गर्ने माहौल बनाई दिनु पर्यो । हजुर निक्कै पुरानो मान्छे हामी पनि साहित्य लेखनमा रमाउन चाहन्छौँ भनेर । मैले भनेँ म लेख्न सिकाउन त सक्दिनँ तर लेख्ने भेला हुने वातावरण चाहिँ मिलाऊँ सक्छु भनेर । त्यस्पस्चात हामीले “कोठे साहित्यिक यात्रा “भनेर हाम्रै कोठाबाट भाइ,बहिनीहरूलाई भेला गरेर महिनाको पहिलो शुक्रवार या शनिवार रचना सुन्ने र सुनाउने काम सुरु गर्यौँ । त्यो समय भाइ,बहिनीहरू टाढा,टाढाबाट आउने र दमकमै भए पनि कतिपयको आफ्नो निजी निवास नभएकाले मैले हाम्रै घरको कोठालाई साहित्यको मन्दिर बनाएँ ।
त्यसरी चली रहेको कोठे साहित्यिक यात्राले छलाङ्ग मार्दै गयो । यो महिना,अर्को महिना गर्दै नयाँ नयाँ अनुहारहरू भेला हुन थाले। अब म सक्दिनँ,थाकेँ भन्न पाइनँ मैले । उक्त साहित्यिक संस्था दर्ता पनि गरिएको थिएन । मलाई पनि यो बारे के गर्नु पर्छ ?भन्ने थाहा पनि थिएन । अहिले जस्तो भए ईर्ष्या,पोलझोसले त्यो साहित्यिक माहौल खलबलिन बेर थिएन तर त्यो समय हामीबिच कुनै राजनैतिक सोच,सामाजिक दबाब नभएकोले म भाइ,बहिनीहरूसँग साहित्यिक वातावरणमै अलमलिएँ ।
अलिक बिस्तार हुँदै गएपछि त्यो सानो काठको घरको कोठामा खचाखच भिड हुन थाल्यो।युवा देखी,पौढ़हरुको पनि उपस्थिति हुन थाल्यो। जसमा खेमलाल पोख्रेल सर,खिन्द्र घिमिरे दाजु,डम्बर घिमिरे दाजु पर्नु हुन्थ्यो मभन्दा उमेरले पाकाहरू। त्यही कोठे साहित्यिक यात्राको चहल पहलले लेखनमा रुचि राख्नेदेखी टाढा टाढाबाट पनि साहित्यकारहरु ठोक्किन थाले । मैले सानो बिचार र शून्य मथिङ्गले सुरु गरेको कोठे साहित्यिक यात्रा बृहत् जस्तै भयो । यहाँ लेख्न,सुन्न र सुनाउन आउँनेहरु हरु आज नेपालभरि नै लेखन क्षेत्र या अन्य क्षेत्रमा प्रख्यात छन् ज-जसको नाम सुन्दा मन गर्वले प्रफुल्लित बन्छ। उनीहरूले सम्झिन्छन्,सम्झिन्नन् तर यो छाहरीमा साहित्यिक ओत लागेकाहरू आज आफैहरू नै ठुलो वृक्ष बनेका छन् मैले आफूले गुरु भएर सिकाइनन् हुँला तथापि मैले एउटा गोरेटो खोली दिएर बाटो देखाएको भन्ने पक्कै हो यो कसैले नकार्न नसक्ला।
यसरी कोठे साहित्यिक यात्रा अझ बिस्तार हुँदै अन्य लेखन अनुरागीहरूले पनि आ-आफ्नो घरमा यो कार्यक्रम गर्ने भन्ने सल्लाह भयो। केहीको घरमा गरियो पनि । पछि कोठेको वार्षिक उत्सव पनि काठ्माण्डौ प्रज्ञा प्रतिष्ठानबाट प्राज्ञ ज्ञानमणि नेपालज्युलाई,विराटनगरबाट कथाकार स्व देव कुमारी थापा ज्यु,बिर्तामोडबाट आख्यानकार कृष्ण धरावासी दाजुलाई ल्याएर पनि गर्यौँ ।
यसरी कोठेको बामे सराइसँगै व्यवहारिक या कुनै कारणवश प्रवासतिर लाग्यौँ । हाम्रो अमेरिकाको बसाई निक्कै लामो भयो । मेरा भाइ,बहिनीहरू पनि तितर बितर भएछन् तर खुसीको कुरा उनीहरू त नेपालका एकसा एक कवि,गजलकार,पत्रकार भएछन् जुन जानकारी म अमेरिका बसेरै पनि विभिन्न पत्र पत्रिकाहरू मार्फत पाउँथे । कोठे साहित्यिक यात्रा मसँगै नेपथ्यमा बिलाए पनि उनीहरू त झन् चम्किला ताराहरू भएर चम्किन थाले छन् जुन नेपाली साहित्याकाशमा अझै चम्की रहेका छन् ।
अहिले कार्यक्रमहरूमा कतिलाई भेट्छु कतिलाई ठम्याउन सक्दिनँ जो मलाई नमस्ते दिदी भन्दै आउँछन् म रणभुल्लमा पर्छु। मैले को ?बाबु चिन्न सकिनँ भन्दा -“क्या त कोठे साहित्यिक यात्रामा तँपाईको काठको घरको कोठामा आउँथें नि!”भन्दा बल्ल झस्किन्छु। कति त त्यो समयमा १५ / १६ वर्षका मात्र थिए अहिले २० /२५ वर्षको अन्तरालमा उनीहरूले पनि निक्कै उमेर खाई सकेका रहेछन् ।
कहिलेकहीँ भेट हुँदा कोही कोही गुनासो गर्छन् । दिदीले छाडेर जानु भएर हामी बिचल्ली भयौँ भनेर । तर पनि उनीहरू यो समय “खुकुरीभन्दा कर्द लाग्ने”भने झैँ उनीहरू छुरा छन् ।कविता,गजल विधामा,फेरि अहिले त साहित्यिक कार्यक्रमहरू पनि धेरै हुन थालेका रहेछन् ।सबैलाई रचना वाचन गर्ने,सुन्ने थलोको उबेला जस्तो अभाव रहेन छ। यहाँ दुईवटा साहित्यिक संस्थाहरू प्रतिभा निकेतन र साहित्य कला संगमले पनि नियमित कार्यक्रम गरी नै रहेका रहेछन् । तर पनि किन हो यो पटक दमक आएपछि हाम्रा अग्रजहरूले पनि अब फेरि सुरु गर्नु पर्यो कोठे साहित्यिक यात्रा भन्नु हुन्छ। युवाहरू त यसै पनि यहाँ आउन पहिला पनि उत्साहित हुन्थे ।
मलाई त लाग्थ्यो अब कहाँ पहिला जस्तो होला अर्काको कोठा कोठा साहित्य भनेर आउने ? भनेर म त मौन नै थिएँ
तर भित्री मनमा एउटा कौतुहलता जाग्यो । मेरो जन्मदिनमा किन यसो थोरै भए पनि साहित्यिक माहौल नबनाउँ? भनेर हामी बुढा बुढीले सल्लाह गर्यौँ। मैले जो जो आउँछन्,आउँछन् गरी हालौँ न भनेर फेसबुक वालमा आव्हान गरेँ।केही नजिकका भाइ बहिनीहरूलाई खबर पठाएँ।तर आश्चर्य!हामीले सोचेभन्दा धेरै सहभागिता भयो । हाम्रा अग्रजहरू पनि आउनु भो । कार्यक्रम अनौपचारिक गरेको तर वहाँहरूको उपस्थिति र आशीर्वचनले औपचारिक बनाई दिनु भयो। मेरो मुर्राएको जाँगर हौसिएर आयो। मलाई उक्त कार्यक्रमले अतीतमा डोर्याएर लग्यो। फेरि ऐतिहासिक साहित्यमय माहौल हाम्रो घर परिसरमा ताजा भएर आयो। साँच्चै भन्ने हो भने यही कोठे साहित्यिक यात्राको तिर्खा मेट्न हामीले अमेरिका (बोल्डर )हाम्रो घरमा पनि यही कार्यक्रम शुरु गर्यौँ तर नेपालमाभन्दा राजनीति विदेशमा धेरै हुँदो रहेछ केही समय आफ्नै घरमा गर्दा गर्दै,केही बाधा,अड्चन आए तर भाइ गीतकार /गजलकार भुपेन्द्र महतको पनि यो कार्यक्रमप्रति झुकाव भएको भएर वहाँको घरमा अनि अन्य केही (भोला शिवाकोटी, ज्ञानेन्द्र गदाल, पदम बिश्वकर्मा र आचार्यको) महानुभावहरूको घरमा पनि गरियो । पछि यही कार्यक्रम बृहत् हुँदै अनेसास कोलोराडो च्याप्टरसँग गाभिन पुग्यो र कोलोराडो बसिन्जेल साहित्यिक कार्यक्रममा व्यस्त हुँदा हुँदै म पनि अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष बनेर साहित्यिक क्रियाकलापमै बिताइयो दुई /तिन वर्ष त्यस्पस्चात हामी न्युयोर्कतिर लाग्यौँ । त्यहाँ पनि बसुन्जेल विभिन्न साहित्यिक कार्यक्रममा व्यस्त भइयो । यसरी मेरो साहित्यिक यात्राले कोठे साहित्यिक यात्रा हुँदै अमेरिकाको ठाउँ ठाउँमा यात्रा गरी रह्यो ।
अन्त्यमा यो पटक दमक आएर पनि हामीले विभिन्न साहित्यिक कार्यक्रममा उपस्थिति जनाउने गरी रहेका छौँ । त्यसैले हामी धन्य भयौँ । यो पटकको हाम्रो घरकै कार्यक्रममा हामीलाई माया,प्रेम,सद्भाव देखाएर अग्रजहरूले समेत अझै केही गर भन्ने सन्देश दिएको महसुस भयो ।विशेष त आफ्नो स्वास्थ्य प्रतिकुल हुँदा हुँदै पनि झापाका अग्रज पुराना पत्रकार,कवि,गजलकार केशव आचार्य दाजु आफ्नी धर्मपत्नी सहित आउनु भएर सुनमा सुगन्ध थपि दिनु भयो ।
यसरी दमक र वरपरको मायाको अनुभव यो पटक भने हामीले मज्जाले पायौँ । लाग्थ्यो अब हामी प्रवासी भएर हामीलाई सबैले बिर्सिए होलान् र त्यस्तै पनि तितो अनुभूति हुन्थ्यो तर हामीले त्यो दिनदिनै असार १६ गते २०८२ मा मिठो अनुभव बटुल्यौँ । हामी द्वय सबै साहित्यिक हृदयहरुप्रती अनुगृहीत बन्यौँ ।
सोंच्दैछु यहाँ बसिन्जेल समयले साथ दिएसम्म यही कोठे साहित्यिक यात्राको यात्रालाई निरन्तरता दिऊँ कि ?भनेर। हेरौँ समय र परिस्थितिले कस्तो खेल खेलाउँछ ?
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend